शुक्रबार, बैशाख १५, २०७४ साल
KTM: Sunny
logo

स्थानीय तहको संख्या लगभग टुंगो लाग्यो, देशभर अव दुई महानगर

कर्पोरेट नेपाल २०७३ पौष ८ गते 1.48K

काठमाडौं। स्थानीय तहको संख्या र सिमाना निर्धारणसम्वन्धी आयोगले शुक्रबार झापा जिल्ला बाहेक कुल ७ सय २५ वटा स्थानीय तह गठन गर्ने गरी प्रतिवेदन तयार पारेको छ ।

अव झापाबाहेक ७ सय २५ स्थानीय तह गठन निश्चित भइसकेको छ। झापालाई दिएको अधिकतम संख्यामा सहमति भएमा देशभर कुल ७ सय ४१ स्थानीय तह गठन हुने लगभग निश्चित भएको छ ।

आयोगले सुरुमा ५६५ स्थानीय तह प्रस्ताव गरेको थियो । तर, कांग्रेस लगायतका दलहरुले संख्या बढाउनुपर्ने माग गरेपछि सरकारले स्थानीय तह पुनर्संरचनाको मापदण्ड परिमार्जन गरेको थियो।


झापा जिल्लाको स्थानीय तह संख्यामा भने सहमति नहुँदा प्रतिवेदनमा आउन बाँकी रहेको छ र यसको प्रतिबेदन  आईतवारसम्ममा आउने भएको छ । आयोगले झापा जिल्लाका लागि १० देखि १६ वटासम्म स्थानीय तह गठन गर्न सक्ने आधार दिए पनि झापाबाट १८ वटा स्थानीय तह माग छ ।

तर आयोगले भने अझै सरकारलाई प्रतिबेदन बुझाएको छैन र उसले सरकारको समय पनि पाएको छैन।

काठमाडौमा ९, ललितपुरमा ६ र भक्तपुरमा ४ स्थानीय तह

आयोगले अन्तिम रुप दिइसकेको प्रतिवेदनले काठमाडौ जिल्लामा एक महानगरपालिका र ८ वटा नगरपालिकासहित ९ वटा स्थानीय तह गठनको सिफारिस गरेको छ ।

यस्तै ललितपुरमा एक उपमहानगरपालिका सहित ६ स्थानीय तह गठनको सिफारिस छ । भक्तपुरमा पनि एक उपमहानगरपालिका र ३ नगरपालिका गठन गर्ने आयोगको सिफारिस छ ।

देशभर अव दुई महानगरपालिका

आयोगको सिफारिस अनुसार अब देशभर दुई वटामात्र महानगरपालिका हुने भएको छ । पोखरा उप-महानगरपालिकामा लेखनाथ नगरपालिकालाई मिसाएर नयाँ महानगरपालिका घोषणा गर्न प्रस्ताव गरेको छ । यस्तै काठमाडौ महानगरपालिकालाई यथावत राखिएको छ ।

यस्तै मोरङ्ग जिल्लाको विराटनगर उप-महानगरपालिकालाई महानगरपालिकामा विस्तार गर्ने प्रस्ताव आयोगले अस्वीकार गरिदिएको छ । त्यस्तै हेटौंडा पनि महानगरपालिका नबन्ने भएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Friday, Apr 28, 2017