शुक्रबार, बैशाख १५, २०७४ साल
KTM: Sunny
logo

प्रसारणलाइनको क्षमताभन्दा बढी विद्युत ल्याउन खोज्दा 'जम्पर' पग्लियोः भार प्रेषण केन्द्र

कर्पोरेट नेपाल २०७३ पौष १४ गते 11.5K

काठमाडौंः मर्स्याङ्दी-स्युचाटार १३२ केभिको प्रसारणलाइनमा क्षमताभन्दा बढी बिजुली ल्याउँदा जम्पर पग्लिएका कारण काठमाडौंवासीले बिहीबार बिहान पाँचघण्टा लोडसेडिङ खेप्नुपरेको छ । 

नेपाल विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रका एक इन्जिनियरका अनुसार काठमाडौंलाई लोडसेडिङमुक्त गर्ने भन्दै प्रसारणलाइनभन्दा बढि क्षमतामा विजुली ल्याउन दबाब दिएका कारण जम्पर पग्लिएको बताए । 

उनले भने, 'मर्स्याङ्दी-स्युचाटारको क्षमता भनेको ९० देखि १०० मेगावाटसम्म बिद्युत धान्ने खालको हो । तर कार्यकारी निर्देशकज्यूबाटै सक्दो धेरै बिजली ल्याउन भनेर निर्देशन दिएका कारण यो स्थिति आएको हो ।'

काठमाडौंमा बिजुली ल्याउने चार नाकाहरुमध्ये थप विद्युत ल्याउन सकिने यही मात्रै नाका हो । तर क्षमता थोरै हुँदा मध्ये मस्र्याङदी, मस्र्याङदी र माथिल्लो मस्र्याङदी ए आयोजनाबाट उत्पादित बिजुली पर्याप्त मात्रामा ल्याउन सकिने अवस्था छैन । 

भार प्रेषण केन्द्रका इन्जिनियरले भने, 'कुन प्रसारणलाइनबाट कतिसम्म बिजुली ल्याउन सकिन्छ भन्ने एमडी सापलाई पनि थाहा छ । हामीले स्थिति जानकारी गराएको पनि हो । माथिबाट दबाब नै भयो ।'

प्राधिकरणले भने जम्पर तार चुँडिएर विद्युत आपूर्तीमा अवरोध आएको दावी गरेको छ । भार प्रेषण केन्द्रका इन्जिनियर भने तार चुँडिएको नभई पग्लिएको दावी गर्छन । बिहान ७.२० मा विद्युत आपूर्ती बन्द भएपछि त्यसको मर्मत गरी करिव पाँच घण्टापछि विद्युत आपूर्ति सुचारु भएको थियो । विद्युत आपूर्ति बन्द हुँदा झण्डै एक करोड रुपियाँको विजुली खेर गएको छ । 

सुख्खा यामका कारण पछिल्लो समयमा खिम्ती-लामोसाँघु काठमाडौं नाकाबाट करिव ४० मेगावाट मात्रै विद्युत आयात भएको छ । यो नाकाबाट ८० मेगावाटसम्म विद्युत आयात गर्न सकिने भए पनि खिम्ती, सुनकोशीलगायतका विद्युत आयोजनाको उत्पादन घटेर करिव ४० मेगावाट मात्रै आइरहेको प्राधिकरण स्रोतको भनाई छ । 

अर्को नाकाको रुपमा रहेको चिलिमे-त्रिशुली काठमाडौंबाट ६० मेगावाटसम्म बिजुली ल्याउन सकिने भए पनि अहिले करिव ३० मेगावाट मात्रै आउने गरेको छ । कुलेखानी-मातातिर्थबाट ९० मेगावाटसम्म बिजुली आयात गर्न सकिन्छ । 

काठमाडौंमा पिक आवरमा ३१५ मेगावाटसम्म विद्युत खपत हुने हुँदा मागअनुसार विद्युत आपूर्ति गर्न प्राधिकरण व्यवस्थापनलाई यतिखेर धौधौ परेको छ । प्राधिकरण स्रोतले भन्यो, 'पहिला लोकप्रियताको लागि काठमाडौंलाई लोडसेडिङमुक्त गर्ने भनेर घिसिङजीले बोलिहाल्नुभयो । अहिले यही भालुको कम्पट भएको छ । 

प्रविधिक क्षमता, उत्पादन र आयातको संभावना, नदीहरुको पानीको बहाव जस्ता सबै कुरालाई विचार गरेर घोषणा गरेको भए हुन्थ्यो । बोलेपछि पुर्याउनु पर्यो, उनले भने तानतुन गरेर, जबरजस्ती गरेर भए पनि सकेसम्म काठमाडौंमा लोडसेडिङ हुन नदिने, भइहाल्यो भने मलाई गर्न दिइएन भने अरुलाई दोष थोपर्ने तरिका ठिक होइन । 

पछिल्लो समयमा विद्युत अभाव हुने भएकाले कुनै पनि आयोजनाहरु मर्मत नगर्न निर्देशन दिइएको भारतबाट यही आउँदो जनवरीबाट आउने भनिएको थप ८० मेगावाट विद्युत पनि तत्काल काठमाडौं ल्याउन कठिन रहेकाले घिसिङ अहिले दबाबमा छन् । काठमाडौंमा लोडसेडिङ हुन नदिएपछि उनले राजधानीवासीको समर्थन बटुल्दै आएका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Friday, Apr 28, 2017