शुक्रबार, बैशाख १५, २०७४ साल
KTM: Sunny
logo

सावधान ! बागमतीमा फोहर फाल्दा जरिवानामा परिएला

कर्पोरेट नेपाल २०७३ पौष २३ गते 1.33K
फाइल फोटो

काठमाडौंः उपत्यकाका प्रमुख नदी सफाइ गर्ने क्रममा शनिबार तिलगङ्गास्थित बागमती किनारमा फोहरफाल्दै गर्दा चार जना पसल र एक होटल कामदार कारबाही परेका छन् । 

अन्नपूर्ण मिठाई पसल गौशाला, तिलगङ्गाका प्रेम श्रेष्ठ फर्निचर पसल, अरुण शर्मा सिसा पसल र चिकेन हाउस तिलगङ्गाका कामदारलाई फोहर फाल्दै गर्दा पक्राउ गरी जनही रु पाँच हजारका दरले २० हजार रुपियाँ जरिवाना गरिएको काठमाडौँ महानगरपालिका नगर प्रहरीका प्रहरी नायब निरीक्षक बद्रीमान नगरकोटीले बताए । 
 
फोहर फाल्दा रङ्गेहात पक्राउ परेका शिवशङ्कर होटल जयबागेश्वरीका कामदार जरिवाना रकम पाँच हजार रुपियाँ ल्याउँछु भनी गएकामा जरिवाना बुझाउन नआई फोनबाट जरिवाना तिर्दिन जे सक्नुहुन्छ गर्नुस्, भनेपछि महानगरीय प्रहरी वृत्त गौशालाको सहयोगमा सञ्चालक प्रज्ज्वलमान श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ । 

फोहरमैला ऐन अनुसार सार्वजनिक स्थानमा फोहर फाल्नेलाई स्थानीय निकायले पाँच हजारदेखि एक लाख ५० हजार रुपियाँसम्म जरिवाना र छ महिनासम्मम जेल राख्न पाउने व्यवस्था छ । 

प्रत्येक शनिबार झैँ आज पनि उपत्यकाका प्रमुख नदी सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइको एक सय ९१ औँ हप्तामा आज तिलगङ्गा क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 

उपस्थित भएकालाई दुई समूहमा विभाजन गरी एक समूहले सफाई र अर्को समूहले तिलगङ्गा क्षेत्रका घर÷घरमा छिरेर जनचेतनामूलक अभियान सञ्चालन गरेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेश सिंहले बताए । 

तिलगङ्गा क्षेत्रका घर दैलोमा गई नदीमा फोहर नफालौँ, फोहर फाल्नेलाई कारबाहीको दायरामा ल्याऔँ, उपत्यकाका नदी सफाइ अभियानमा आफूलाई नजिकपर्ने स्थानमा सहभागी बनौँ भनी जागरणमूलक कार्यक्रम गरिएको उनले बताए । 

रुद्रमती सफाई १५० औँ हप्तामा 
रुद्रमती सफाइको १५० औँ हप्तामा शनिबार बूढानीलकण्ठदेखि बुद्धनगरसम्म १० स्थानमा सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए । 
आजको कार्यक्रमको शुभारम्भ स्वास्थ्यमन्त्री गगन थापाले बूढानीलकण्ठ मन्दिर परिसरमा गरेका थिए । थापाले रुद्रमतीलाई उपत्यकाको पहिलो सफा नदी बनाउन सबै जुट्नुपर्ने बताए 

सफाइ अभियान सुरु हुनुअघि योग शिक्षकद्वय डा राजु अधिकारी र किशोर साहीले योग प्रशिक्षण दिए । सफाइमा मुख्यसचिव डा सोमलाल सुवेदी, पूर्व सचिव किशोर थापा, प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा लगायतले सफाइ अभियानको नेतृत्व गरेका थिए ।

रुद्रमतीका १० स्थानबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, समाज, वातावरण संरक्षण अभियान, वेलकेयर अस्पताल, महानगरीय प्रहरी वृत्त गौशाला र कमलपोखरी, चारुमती मित्र समूह, भण्डारेश्वर व्यवस्थापन समिति, महानगरपालिकाका ७, ९ र ३३ वडा कार्यालय लगायतको सक्रियता थियो । 

विष्णुमती सफाइको १२४ औँ हप्ताका अभियन्ता पनि रुद्रमतीमै केन्द्रित भएको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिए। बूढानीलकण्ठस्थित विष्णुमती मुहानमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको उनले बताए । रासस 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Friday, Apr 28, 2017