शुक्रबार, बैशाख १५, २०७४ साल
KTM: Sunny
logo

जुम्ला र बाजुरामा भारी हिमपात, राजमार्ग अवरुद्ध

कर्पोरेट नेपाल २०७३ पौष २४ गते 1.04K
तस्वीर: प्रजिअ पण्डित

जुम्ला: आज बिहानदेखि कर्णाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले यहाँको जनजीवन निकै प्रभावित बनेको छ । शनिबार बिहानैदेखि बादलले आकाश पूर्णरुपमा ढाक्दा जुम्लालगायत कर्णाली क्षेत्रभरि निकै चिसो बढेको थियो ।

जुम्ला सदरमुकाममा रातिबाट हिमपात भए पनि यसको उच्च लेकहरु, हुम्ला, मुगु र डोल्पा जिल्लामा दिउँसो ४ः०० बजेबाट हिउँ पर्न सुरु भएको थियो । ती क्षेत्रमा करिब चारदेखि पाँच फिट हिमपात भएको अनुमान गरिएको छ । जुम्ला सदरमुकाममा भने ११ सेन्टिमिटर हिउँ परेको हावापानी फिल्ड कार्यालय, जुम्लाका कार्यालय प्रमुख एपी चौरासियाले जानकारी दिए ।

कार्यालय प्रमुख चौरासियाले भने – “हिजो दिनभरिको चिसोले न्यूनतम तापक्रम माइनस ४.१ डिग्री सेन्टिग्रेड थियो । सुरुमा पानी प¥यो र त्यसपछि मात्र हिमपात भयो । हिमपात हुँदा यहाँबाट बिहानै ५ः०० बजेदेखि छुट्ने लामो तथा छोटो दूरीका गाडी ठप्प भएका छन् । नागरिकलाई ओहोर दोहोर गर्न समस्या भएको छ । यसले गर्दा उनीहरुको दैनिक कार्य पनि प्रभावित बनेको छ ।

चिसोले गर्दा मेसिनरी सामग्री रेडियो, फ्याक्स, फोटोकपी, प्रिन्टर, छापाखाना मेसिनले काम गर्न छोडेका छन् भने धारामा आउने पानी, एलपी ग्यास जम्दा नागरिकको खानपिनमा समस्या भएको छ । अहिले केही समयदेखि हिमपात रोकिए पनि आकास बादलले नै छोपेको छ ।

गएको मङ्सिर ११ गते चोरिएर पुस १९ गते पत्ता लागेका जुम्ला चन्दननाथ मन्दिरका मूर्ति आज ११ः३० बजे सार्वजनिक गर्ने भनिएको तालिका हिमपातका कारण प्रभावित बन्ने प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए  ।

प्रजिअ पण्डितका अनुसार चिसोले सरकारी तथा गैरसरकारी निकायको सेवा प्रवाह कठिन बन्ने र सेवाग्राहीलाई सेवा लिन अप्ठ्यारो हुने देखिन्छ । दिउँसो १÷२ बजेबाट आकास खुल्ने र मौसम सफा हुने हावापानी फिल्ड कार्यालय, जुम्लाले जनाएको छ ।

बाजुरामा पनि आवतजावत ठप्प

बाजुरा। शनिबारदेखि बाजुरामा हिमपात सुरु भएको छ । हिमपातका कारण जिल्लाको उत्तरी भेगका ११ गाविस बढी प्रभावित बनेका छन् । शनिबार बिहानैदेखि बादलले आकाश पूर्ण रुपमा ढाक्दा बाजुरालगायत सुदूरपश्चिमका क्षेत्रमा निकै चिसो बढेको छ ।

बाजुरामा राति हिमपात सुरु भए पनि सुदूरपश्चिमका अन्य/अग्ला लेक सैपाल, बडिमालिका, खप्तड, अपी सैपाल, बूढीनन्दालगायत ठाउँमा शनिबारदेखि नै पर्न थालेको थियो । पोरखे लेकमा पाँचदेखि छ फिट हिउँ परेका कारणले मानिस र अन्य सवारीका साधन नचलेको प्रजिअ देवेन्द्र लामिछानेले बताउनुभयो । उहाँले हिउँ पर्न थालेपछि उत्तरी भेगमा जाने सवारी साधन, खच्चर, भेंडासमेत चल्न–हिँड्न बन्द भएको जानकारी दिए  ।

जिल्लामा बाक्लो हिमपात भएपछि ११ गाविसमा रहेका विद्यालय चिसोका कारणले बन्द भएका छन् । विच्छ्या गाविसमा पूरै हिउँ परेर मानिसहरु घर बाहिर निस्कन पाएका छैनन् । जिल्लामा बाक्लो हिमपात भएपछि उत्तरी भेगका ११ गाविसमा सवारी साधन र बाटो बन्द भएका छन् ।

यसैबीच पानी परेपछि भने किसान खुसी भएका छन् । लगाइएको गहुँखेती राम्रो हुने भन्दै उनीहरुको अनुहारमा खुसी देखिएको छ । लामो समयको खडेरीले जिल्लाको वाइ गाविसमा तीन खेती नलगाएर खेत बाँझै राखिएको थियो । रासस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

Copyrights © 2017 Bizcare Nepal Pvt. Ltd.

Friday, Apr 28, 2017