दुई खेल बाँकी छँदै चेल्सीलाई छैटौंपटक इङ्लिस प्रिमियर लिगको उपाधि

Advertisement

एजेन्सी: मिची बाट्सहुईले ८२ मिनेटमा गरेको निर्णायक गोलका कारण वेष्ट ब्रुमलाई १–० ले पराजित गर्दै चेल्सीले दुई खेल खेल्न बाँकी छँदै इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ।

नेपाली समयअनुसार शनिवार बिहान वेष्ट ब्रुमको घरेलु मैदानमा जितका लागि चेल्सीले निकै मेहनत गर्नुपर्यो। नियमित खेलाडीले गोल गर्न नसकिरहेको बेला अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेको ८ मिनेट भित्र खेलको अन्त्यतिर बाट्सहेईले गोल गरेका थिए।

Advertisement

३ करोड ३० लाख पाउण्डमा मार्सेइबाट चेल्सी आएका बाट्सहेई पुरै सिजन खराब फर्मका कारण टिममा स्थान बनाउन संघर्षरत थिए। तर, उनी गएराती प्रशिक्षक आन्टोनियो कोन्टेको खुसीको सबैभन्दा ठूलो कारण बने।

चेल्सीको यो छैटौं प्रिमियर लिग उपाधि हो। सन् २००३ मा रुसी धनाढ्य रोमन इब्रामोभिकले स्टामफोर्ड क्लब किनेपछिको यो पाँचौ उपाधि हो।

‘द ब्लुज’ ले २ वर्षपछि पुनः उपाधिमा कब्जा जमाएको हो। यसअघि २०१५ मा चेल्सीले उपाधि जितेको थियो। गत वर्ष १० औं स्थानमा रहँदै यो क्लबले सबैभन्दा खराब प्रदर्शन गरेको थियो। यसपालि लिग जित्न चेल्सीले अंक तालिकामा दोस्रो स्थानमा रहेको टोटेनहामभन्दा १० अंकको अग्रता बनायो। चेल्सी ३६ खेलमा ८७ अंक जोडेर लिग विजेता बन्यो। उसले अझै २ खेल खेल्न बाँकी छ। टोटेनहामको ३५ खेलमा ७७ अंक छ।

 

Advertisement

Advertisement