वर्षाका कारण विद्युत कटौति गर्नुपरेको विद्युत प्राधिकरणको दावी

Advertisement

काठमाडौंः वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण प्रणालीमा केही समस्या पैदा भएको छ । मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण विद्युत् उत्पादन रोकिएको तथा समस्या उत्पन्न भएको भन्दै प्राधिकरणले विद्युत्भार कटौती नै गरियो कि भनेर आशङ्का नगर्न आग्रह गरेको छ ।

वर्षाका कारण माथिल्लो मादीको एउटा युनिटबाट विद्युत् उत्पादन बन्द भएको, सो युनिट बन्द हुँदा २५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनबाट विच्छेद हुन पुगेको, सोमबारसम्म तल्लो मोदीबाट उत्पादन हुने विद्युत् प्रसारण प्रणालीबाट विच्छेद हुन पुगेको, मर्मतसम्भारपछि सो आयोजना सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।

जलविद्युत् केन्द्रका उत्पादनमा केही सुधार भए तापनि अझै करिब ३५ मेगावाट विद्युत् प्रणालीमा उपलब्ध हुन नसकेको भन्दै प्राधिकरणको भार प्रेषण केन्द्रले जारी गरेको विज्ञप्तिमा त्यसमा माथिल्लो मोदी र अन्य केही आयोजनासमेत रहेको उल्लेख छ । एक साताअघि सम्म करिब ३०० मेगावाट विद्युत् निजी क्षेत्रको उत्पादन प्रणालीमा जोडिएको भए पनि यही असार २६ गते आइतबारदेखि करिब २६५ मेगावाट मात्र उपलब्ध हुँदै आएको जनाइएको छ ।

यस्तै, कोहलपुर–महेन्द्रनगर दोस्रो सर्किट आयोजनाले नयाँ पहलमानपुर सबस्टेसनमा जोड्ने कार्यका लागि लम्की–अत्तरिया १३२ केभी प्रसारण लाइन बन्द गरिएको भन्दै प्राधिकरणले सो प्रसारण लाइन बन्द भएपछि टनकपुरबाट आयात गरिएको विद्यत् अपुग भएमा महेन्द्रनगर, अत्तरिया लगायतका केही क्षेत्रमा विद्युत् कटौती हुन सक्ने विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समयमा राजधानीसहित मुलुकका अधिकांश ठाउँमा विद्युत कटौतिको समस्याहरु देखिँदै आएको छ । बर्षासँगै विद्युत उत्पादन वृद्धि भई विद्युत कटौतीमा कमी आउनुपर्ने बेला प्राधिकरणले प्राविधिक कारण देखाउँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement