वैशाखदेखि औद्योगिक करिडोरको लोडसेडिङ अन्त्य गर्न उर्जामन्त्रीको निर्देशन

Advertisement

काठमाडौंः सरकारले ‘नयाँ साल नयाँ उत्साह र नयाँ सञ्चार नयाँ सरकार’को अवधारणासहित आगामी वैशाखको अन्तिम सातादेखि औद्योगिक करिडोरमा समेत विद्युत्भार कटौतीको अन्त्य गर्ने जनाएको छ ।

उद्योगी तथा व्यवसायीले औद्योगिक क्षेत्रमा हाल पनि दैनिक चार घण्टा विद्युत्भार कटौती भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएपछि ऊर्जा मन्त्रालयको तर्फबाट त्यसको तयारी गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय भारप्रेषण केन्द्रको आइतबारस्थलगत अनुगमन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले २०७५ सालको वैशाख महिनाको अन्तिम सातादेखि नै औद्योगिक क्षेत्रलाई पूर्णरुपमा विद्युत् उपलब्ध गराउन निर्देशन दिए । उनले भने, “नयाँ साल, नयाँ उत्साह, नयाँ सञ्चार र नयाँ सरकारको अनुभूति दिलाउन वैशाखको अन्तिम सातादेखि नै औद्योगिक क्षेत्रमा पूर्णरुपमा विद्युत् उपलब्ध गराउनुस् ।”

ऊर्जा, जलस्रोत, सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायसहित, प्राधिकरणका अधिकारीहरुलाई मन्त्री पुनले सो निर्देशन दिएका हुन । औद्योगिक करिडोरमा प्राधिकरणले गर्दै आएको विद्युत्भार कटौती हटाउन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सलगायतका संस्थाले सरकारसँग आग्रह गर्दै आएका थिए ।

नदीमा पानीको प्रवाहसमेत बढ्ने भएकाले विद्युत्भार कटौती अन्त्य गर्ने प्राधिकरणले तयारी गरेको थियो । प्राधिकरणले भने आगामी जेठदेखि औद्योगिक करिडोरमा भइरहेको विद्युत् कटौती अन्त्य गर्ने तयारी गरेको थियो । तर मन्त्री पुनले नयाँ सन्देश दिनका लागि नै भएपनि वैशाखको अन्तिम सातादेखि नै औद्योगिक करिडोरमा विद्युत्भार कटौतीको अन्त्य गर्न निर्देशन दिए ।

हाल साँझको समयमा प्राधिकरणले घरायसी प्रयोजनका लागि विद्युत् आवश्यक भएकाले औद्योगिक करिडोरमा विद्युत् आपूर्ति बन्द गर्दै आएको छ । उद्योगमा साँझको समयमा २५० मेगावाट बराबरको विद्युत् माग हुँदै आएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीको मागबारे आफू जानकार भएपनि माग र आपूर्तिमा सन्तुलन मिलाउन साँझको बढी विद्युत् माग हुने समयमा औद्यौगिक करिडोरको विद्युत् कटौती गर्ने गरिएको बताए ।

हाल नेपाल विद्युत् प्राधिकरणको उत्पादन ३५६ मेगावाट रहेको छ । त्यसमा कुलेखानी पहिलो र दोस्रो जलाशययुक्त आयोजना हुन् भने अरु सबै आयोजना नदी प्रवाही आयोजना हुन् । प्राधिकरणले मध्यमस्र्याङदी, कालीगण्डकी जस्ता आयोजनालाई अर्ध जलाशययुक्त ढाँचामा दिनभरी पानी जम्मा गरेर साँझमा मात्रै चलाइरहेको छ ।

निजी क्षेत्रका आयोजनाले हाल १४५ मेगावाट मात्रै विद्युत् उत्पादन गरिरहेका छन् । नदीमा पानीको प्रवाह घटेका कारण आयोजनाबाट उत्पादित विद्युत्को मात्रा एकदमै न्यून रहेको छ । हाल भारतबाट ४६० मेगावाट विद्युत् आयात भइरहेको छ ।

प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार हाल विद्युत् माग एक हजार २५० मेगावाट रहेको छ । साँझको समयमा करीब २७० मेगावाट विद्युत् अपुग हुने गरेको छ । अपुग विद्युत् औद्योगिक करिडोरलाई कटौती गरेर घरायसी रुपमा प्रयोग गरिएको छ ।

भार प्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठले केन्द्रले दिने सेवा तथा सुविधाका बारेमा मन्त्री, सचिव र कार्यकारी निर्देशकलगायतलाई जानकारी गराए । वीरगन्ज, हेटौँडा र विराटनगर औद्योगिक करिडोरमा विद्युत्को माग बढी रहेको छ । साँझको समयमा उद्योगले खपत गर्ने विद्युत्को मूल्य अरु समयको भन्दा बढी महँगो पर्ने भएकाले पनि उद्योगले लिने गरेका छैनन् ।

सो अवसरमा सामान्य प्राविधिक अवस्थामा बाहेक प्राधिकरणले कुनै पनि स्थानमा विद्युत्भार कटौती नगरेको तथा प्राविधिक समस्याका कारण विद्युत् काटिनुलाई ‘लोडसेडिङ’ नभन्न समेत आफूहरुले उपभोक्तालाई आग्रह गरेको कार्यकारी निर्देशक घिसिङले जानकारी गराए ।

Advertisement

Advertisement

Advertisement