ब्राजिलले विश्वकप जित्ने ग्रासनेटको अनुमान, जर्मनी र अर्जेन्टिना सेमिफाइनलमा रोकिने

Advertisement

एजेन्सीः अबको छ दिनपछि रुसमा सुरु हुने २१औं संस्करणको विश्वकपक उपाधि जित्ने टोलीको अनुमान गर्न थालिएको छ । विगतमा गरेको प्रदर्शन, टिममा रहेका खेलाडीको क्षमता, प्रशिक्षकको क्षमता र प्राविधिकरुपमा विष्लेसन गरेर उपाधि विजेताको अनुमान लगाउन थालिएको हो ।

संसारका विभिन्न चर्चित संस्थाहरुले विश्वकपको उपाधि जित्ने टोलीको अनुमान गरिसकेका छन् । खेलकुद र मनोरञ्जनको क्षेत्रमा सक्रिय अमेरिकी संस्था ‘ग्रासनेट’ले आगामी विश्वकको उपाधि ब्राजिलले जित्ने अनुमान गरेको छ ।

ग्रासनेटको अनुमानलाई सहि मान्ने हो भने ब्राजिलले छैटौं पटक विश्वकपको उपाधि जित्ने सम्भावना २१ प्रतिशत छ । संस्थाले फाइनलमा ब्राजिलविरुद्ध स्पेन भिड्ने र उपाधि ब्राजिलले चुम्ने बताएको छ ।

सहभागी हुन लागेका ३२ वटा टोलीको प्रदर्शन, फिफाको वरियता र फुटबल विश्लेषकको धारणापछि निष्कर्ष निकालेको ग्रासनेटले जनाएको छ । उक्त संस्थाले यसअघि पनि ठुला प्रतियोगिताको उपाधि विजेताको सम्भावित टोलीको निष्कर्ष निकाल्थ्यो ।

जुन धेरै हदसम्म मिल्दै पनि आएको छ । ब्राजिलपछि स्पेन जर्मनी र अर्जेन्टिनाको विश्वकप जित्ने सम्भावना ठुलो रहनेछ । स्पेनले जित्ने सम्भावना १० प्रतिशत, जमर्नी र अर्जेन्टिनाको सम्भाना समान ८ प्रतिशत रहेको छ ।

ब्राजिलले सेमिफाइनलमा अर्जेन्टिनालाई पराजित गर्दै फाइनलमा प्रवेश गर्ने र स्पेनले जर्मनीलाई हराउने अनुमान ग्रासनेटले गरेको छ ।

यस्तै इंग्ल्याण्ड, पोर्चुगल र बेल्जियमको विश्वकप जित्ने सम्भावना ४ प्रतिशत मात्र रहेको उक्त संस्थाले अन्तर्राष्ट्रिय समाचार संस्था एपीसँग बताएको छ । यसअघि फिफाले भने विश्वकप फ्रान्सले जित्ने अनुमान गरेको छ ।

Advertisement

Advertisement

Advertisement