विपद् जोखिम न्यूनीकरण सम्बन्धी तीन दिने अन्तराष्ट्रिय सम्मेलन सम्पन्न

Advertisement

काठमाडौंः तीन दिने जोखिमबाट उत्थानशिलता विषयक विपद् जोखिम न्यूनीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

विश्वका झण्डै १२ राष्ट्रका दुई सय बढी विज्ञहरु सहभागी सम्मेलन विपद् जोखिम न्यूनीकरणका लागि घोषित विश्वव्यापी कार्य संरचनाका प्राथमिकताहरुलाई क्रमैसँग कार्यान्वयन गर्न कार्ययोजना तयार गर्दै सम्पन्न भएको हो ।

सेन्दाई कार्यसंरचनाले प्राथमिकतामा राखेका ४ मुख्य विषयहरुका सम्बन्धमा सरकारी, गैरसरकारी तथा बैज्ञानिक अनुसन्धान संस्थाहरुबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने निर्णय गर्दै सम्मेलनले कार्यसंरचनाले राखेका लक्ष्य प्राप्तिका लागि कार्ययोजना तयार पारेको छ ।

सरकारी, गैरसरकारी, निजी तथा साझेदार संस्थाहरुको भूमिकाहरुलाई प्रकाश पार्दै सम्मेलनले कार्ययोजना तयार पारेको हो ।

नेपालमा विपद् व्यवस्थापनबाट विपद् जोखिम व्यवस्थापन, क्षति लेखाजोखाबाट संकटासन्नता लेखाजोखा, उद्धार तथा पुनस्र्थापनाबाट जोखिम न्यूनीकरण गर्ने तर्फ अग्रसर हुने सम्मेलनको निश्कर्ष छ ।

गोरखा भूकम्पको २५ बर्षभित्र अर्थात सन् २०४० भित्र सम्पादन गर्नुपर्ने गरी विपद् जोखिम न्यूनीकरणका नयाँ कार्यक्रमको विकास गरी कामहरुको प्राथमिकीकरण र कार्यन्वयन गर्ने सम्मेलनको जोड रहेको छ ।

विपद् जोखिम न्यूनीकरणका लागि नेपालले गरेका प्रयत्न र अभ्यासहरुको प्रशंसा गर्दै सम्मेलनले कम्तिमा ५ प्रतिशत बजेट विपद् जोखिम न्यूनीकरणका लागि विनियोजन गर्न आग्रह गरेको छ ।

नेपाल सरकार गृह मन्त्रालयको नेतृत्वमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)ले सम्मेलनको संयुक्त आयोजना गरेका थिए । आषाढ ४ गतेदेखि सुरु भएको सम्मेलनको उद्घाटन गृहमन्त्री रामबहादुर थापाले गरेका थिए ।

Advertisement

Advertisement

Advertisement