आमाबाबुका लागि १३ दिन समय दिन किन कञ्जुस्याईं ?

Advertisement

[caption id="attachment_46655" align="alignleft" width="150"]diwakar-panta लेखक[/caption] आज भोली केही गन्यमान्य भनिएका व्यक्तिहरु आफ्ना मातापिता (आमाबाबु)को अन्तिम संस्कार यानेकी किरिया कर्म पद्दतिलाई शास्त्रले तोकेभन्दा थोरै दिनमा गर्ने र आफूलाई परिवर्तनशील भएको देखाउने होडबाजी नै चलेको छ । चाहे त्यो डाक्टर उपेन्द्र देवकोटाको निधनपछिको अन्तिम संस्कारमा किन नहोस वा मनुजबाबु मिश्रको अन्तिम किरिया संस्कारमा नै किन नहोस । देवकोटाको परिवारले प्रेस विज्ञप्ति नै निकालेर किरिया संस्कार ७ दिनमा सक्ने जनाएको थियो भने मिश्र परिवारले त झन ५ दिनमा नै किरिया कर्म टुङग्याउने निर्णय गरेको थियो । मनुजबाबु मिश्रका छोरा रविन्द्र मिश्रले मृत्युकर्मलाई समयसापेक्ष बनाउन ५ दिन किरिया गर्ने अभिव्यक्ति आफ्नो फेसबुक वालमा लेख्नु भएको थियो ।

Advertisement

देवकोटा र मिश्रको परिवारका सदस्यको निधनमा गरिएका मृत्यु संस्कारको परिवर्तित रुप बारेको निर्णयका लागि उहाँहरु नै स्वतन्त्र भएकाले यसलाई उदाहरणका रुपमा पेश गरेकोमा माफी चाहान्छु । तर, सार्वजनिक जीवनमा रहेका र समाजमा चिनिएका व्यक्तिहरुको निधनमा उहाँहरुको परिवारले अपनाएको संस्कारलाई समाजले पनि नजिकबाट नियालिरहेको हुन्छ भन्ने यथार्थतालाई म उल्लेख गर्न चाहन्छु । “ठूलाले जो गर्याे हुन्छ सर्वसम्मत” भनेझै समाजका सार्वजनिक व्यक्तिहरुले अपनाउने गतिविधि अरुले पनि अनुसरण गर्ने भएकाले यसबारे चर्चा गर्नु आवश्यक ठानिएको हो ।
एक पटक के भएछ भने आफ्नो बुढो भएको पितालाई घरमा के पालिरहनु भन्ने लागेर एक जना छोराले डोकामा राखेर भिरबाट फ्याक्नका लागि बाटो लागेछ । पितालाई चाँही तीर्थ गर्न लैजान्छु भनेछ । गाउँभन्दा अलि परको भिरमा डोको विसाएर भिरबाट गुल्ट्याउनै लाग्दा गाउँकै अर्काे एक जना व्यक्तिले देखेछन । उनले सोधे– बाबुलाई कता लैजान लागिस् ? उसले ढाँट्न खोजे जस्तो गरेता पनि सत्य बोल्नै पर्ने भयो । अनि ती सोध्ने व्यक्तिले ठिकै छ तिमिले जे गर्न खोजेको होऊ त्यसमा खासै केही भन्नु छैन तर यो डोको चाहीं नफालेस् किनकी तिमी बुढो भएपछि तिम्रो छोराले तिमीलाई बोक्नका लागि पनि त यो डोको चाहिन्छ नि भने छन् । अनि त्यो बुढो पितालाई फ्याक्न ठिक्क परेको व्यक्ति झल्यास्स भएर आफ्नै पिता र ती व्यक्तिसँग माफी माग्दै पितालाई बोकेर घर फर्केछ ।
हुन त चलिआएको संस्कारका कतिपय विषयवस्तुहरु समय सापेक्ष परिवर्तन गर्दै लैजाँदा ठिक हुने खालका पनि हुन्छन् । तर केही आधारभुत मान्यताका विषयहरु निकै ठूलो अनुसन्धानबाट हाम्रा ऋषिमुनीहरुले तय गरेको पाईन्छ । यस्तो सन्दर्भमा अन्तिम मृत्यु संस्कारका लागि सर्वमान्य ढंगबाट तोकिएको १३ दिने पद्दतिलाई आफू खुशी बदल्दै लैजाँदा त्यसले हाम्रो संस्कारमा पार्ने व्यथितिप्रति पनि एक पटक सोचिदिने पो हो कि ?पछिल्लो पुस्ताले अवलम्बन नै नगर्ने पो हो कि ? सूचना प्रविधिको युगमा गुज्रेको युवा पुस्ता जे पनि तत्काल चाहन्छ । समयको चापमा पनि यो पुस्ता परेकै छ । अझ पछिल्ला पुस्ताहरु समयको चापमा पर्दैजाने छन् । यस्तो अवस्थामा अन्तिम संस्कारलाई चुस्त बनाउन भन्दै युवा पुस्ताले आर्यघाटमा आफ्ना पितामातालाई दहन गरेपछि संस्कार सकियो भन्न थाल्यो भने के होला ? अहिलेको पुस्ताले १३ दिने कर्म पद्दतिलाई त्यागेर ५ वा ७ दिनमा आफू खुशी गर्न छुट छ भने, अब आउने पुस्तालाई पनि एकै दिनमा समय सापेक्ष बनाउने भन्दै समय छोट्याउने छुट हुन्छ कि हुँदैन ?यसैगरी एकपछि अर्काे पुस्तामा हाम्रो संस्कार क्षीण हुँदै गएर कतै अन्त त हुने होईन ? भन्ने प्रश्न पनि यति बेला जन्मेको छ । यदि कुनै पनि विषय समय सापेक्ष नभएकै हो भने ती बारे निर्णय लिने प्रक्रिया पनि नभएका होइनन् । सदियौदेखि सर्वमान्य पद्दतिका रुपमा चलिआएका विषयलाई हठात परिवर्तनका नाममा खल्बल्याउँदा त्यसले समग्र वैदिक सनातन संस्कृतिमाथि नै नकारात्मक प्रभाव पार्ला कि भनेर पनि सोच्नु पर्ला कि ?संस्कार र समय सापेक्षताको मुल्यांकन हो, कतिपय प्रचलन समय सापेक्ष नभएमा परिवर्तन गर्नैपर्छ । समय सुहाउँदो अवलम्बन गर्न नसकिने संस्कार लोप नै भएर पनि जान्छन् । तर, समय सापेक्ष भनेको के हो ? मानौ कुनै पनि व्यक्तिले आफ्ना मातापितालाई उनीहरुको निधनपछि जम्मा एक महिना त दिनु पर्ने हो नि । १३ दिन पिताको किरियाका लागि र १३ दिन माताको किरियाका लागि । यसमा चार दिन थप दियो भने जम्मा एक महिना त हुन पुग्छ नि । यो एक महिना आफूलाई जन्म दिने मातापिताका लागि उहाँहरुको निधनपछि समर्पणमा दिने “एक महिना” हो ।के आफ्ना मातापिताको निधनमा एक महिना उहाँहरुको मृत्युकर्म गर्नका लागि दिने विषय कसरी समय सापेक्ष भएन ? जीवनमा अर्काे पटक चाहेर पनि मातापिताको किरिया पटक पटक गरिने कर्म होइन । यस्तो अवस्थामा संस्कारगत हिसावले तोकिएको १३ दिन विनियोजन गर्दा कुनै पनि व्यक्तिको जीवनमा कति नै ठूलो नोक्सानी हुन्छ र हुजुर ? त्यो एक महिनाको अवधिमा कुनै पनि मानिसले के नै लछारपाटो लगाउन सक्छ र ? फेरि यो एक महिना जीवनमा एक पटक मात्र दिने एक महिना न हो ।मृत्य संस्कार र श्राद्धको वैज्ञानिकता आधुनिक समाजमा प्रवेश गरिसकेको विश्वको जुनसुकै समाजमा पनि मृत्युपछि सम्मानजनक संस्कार रहेको पाईन्छ । चाहे त्यो युद्धमा आफैद्धारा मारिएका शत्रुको शरीर नै किन नहोस । त्यस मृत शरीरलाई सम्मान गर्नुपर्छ भन्ने मान्यता युद्ध आचारसंहितमा समेत छ । यस्तो सन्दर्भमा हाम्रो ओमकार परिवारभित्र मृत्युपछि गरिने निश्चित संस्कार तय गरिएको छ । यो पद्दति केवल हचुवामा नभई ठूलो अनुसन्धान गरि तय गरिएको वैज्ञानिक पद्दति हो । आज आफूलाई मात्र जान्ने सुन्ने र अरुलाई भुराभारी ठान्ने ठूलाबडाले पनि एक पटक घोत्लिएर हेरे हुन्छ कि हाम्रा ऋषिमुनीहरु कुन स्तरका वैज्ञानिक र अनुसन्धानकर्ता थिए भनेर ।कुनै पनि परिवारका सदस्यको निधन स्वयम त्यस परिवारका लागि असैह्य पीडाको क्षण हो । तर जतिसुकै पीडा भएता पनि मृत्यु सास्वत सत्य हो । यसलाई कसैले टार्न सक्दैन । एकातिर असैह्य पीडा र अर्काेतर्फ यस सत्यलाई स्वीकार्नु पर्ने अवस्थाको सहज निकासका रुपमा किरिया कर्मलाई अपनाईएको पाईन्छ । जसलाई दुःख परेको छ, उसलाई सान्तोना दिन छरछिमेकदेखि आफन्तसम्म सबै आइपुग्छन त्यसबेला । दुःखमा परेको परिवारलाई एक दुई दिनमा नै तङग्रेर नियमित जीवनमा फर्काउनेभन्दा मानसिकरुपमा हिलिङ गरेर मनोवैज्ञानिकरुपमा मृत्यु त सत्य रहेछ भन्ने स्वीकार गर्दै पुनः लयमा फर्काउने विज्ञान यसभित्र अन्तर्निहित रहेको देखिन्छ । आफन्तको निधनको चोटलाई केही (१३) दिन लगाएर विस्तारै सम्बन्धित परिपारका सदस्यहरुलाई पुनः लयमा फर्काउन यस्तो व्यवस्था गरिएको हो ।साथै, आफ्नो पितापुर्खाको हाँगोलाई कम्तिमा पनि वर्ष दिनमा दुई पटक श्राद्ध गरेर सम्झने परम्पराका लागि श्राद्ध परम्परा बािसलिएको हो । वर्ष दिनमा एक पटक नियमित श्राद्ध र अर्काे एक पटक १६ श्राद्ध गरि जम्मा दुई पटक तीन दिन मात्र दिवंगत मातापिताका लागि दिने हो । हुन त मान्छे बितेर गईसकेपछि तात्विक रुपमा नसम्झे पनि केही हुन्न, श्राद्ध नगरे पनि केही हुन्न । तर, यस्तो खाले असंवेदनशील मान्यताको स्थानमा आफ्ना पितापुर्खालाई सम्झने, उनीहरुप्रति अनुग्रहित हुने, उनीहरुको योगदानलाई बेलाबेला सम्झने, उनीहरुको आर्शिवादका लागि कामना गर्नु समान्य संस्कारको कुरा मात्र होईन, यो वैज्ञानिक संस्कार हो ।कुलत आदीको छुटकारा समाजमा कतिपय यस्ता अवस्था पनि देखिएका छन् कि जीवनभर कुनै न कुनै कुलतमा रहेका व्यक्तिहरु माता वा पिताको निधनपछि किरियामा बस्दा र बरखीमा बस्दा त्यो कुलत छोडेको पनि देखिएको छ । अरु बेला जे गरे पनि छोडन नसकेको कुलत त्यसबेला छोडेको देखिन्छ । साथै मोटोपना, उच्चरक्तचाप, मानसिक दबाब, स्ट्रेस आदी जस्ता समस्याबाट यस अवधिमा मुक्त भएको पनि देखिन्छ । साथै केही व्यक्तिहरुले यस अवधिमा पथपहरेजमा बस्दा आफ्नो धेरै तौल घटाएको पनि पाईन्छ ।यस अवधिमा पूरा नियववद्ध ढंगबाट सादगी जीवन पद्दति अपनाईने भएकाले कुनै पनि मानिसले प्राकृतिक जीवन पद्दतिप्रति परिचित हुने र त्यसप्रति मोह बढ्न पुग्दछ । त्यसले मानिसलाई भोग्य जीवनपद्दतिबाट स्वस्थ जीवन पद्दतिमा परिवर्तन गर्ने अवसर समेत प्रदान गर्दछ । साथै कतिपयले रक्सी, चुरोट, गाँजा जस्ता कुलत त्यसैबेलादेखि त्याग्न पुग्दछन भने त्यसले उसको पारिवारिक जीवनमा सौहार्दता ल्याउँछ । यस अर्थमा १३ दिने किरिया कर्म पद्दति आफैमा लामो पद्दति होईन ।यसले सामाजिक जीवनमा पार्ने राम्रा विषयबारे १३ दिन लामो भयो भन्ने व्यक्तिहरुको ध्यान जाओस् । कुनै पनि व्यक्तिले त्यस्तो खाले कुलत ५ दिन वा ७ दिनमा त्यग्न सक्दैन । यस्तो अवस्थामा धार्मिक विषयसँग जोडिएको पक्ष र मातापिताको निधनसँग जोडिएको श्रद्धासँग जोडेर नियववद्ध ढंगले श्रद्धापूर्वक रितिथितिमा बस्दा कुलत त्याग्न पुग्दछ र उक्त व्यक्तिको जीवन तथा परिवारमा त्यो भन्दा सन्तोषको क्षण अरु कुनै हुनै सक्दैन । त्यसैले दुःखभित्र उक्त परिवारमा सुखद कदम पनि सुरु भएको लाखौ उदाहरण समाजमा देखिन्छ । तर, त्यो सुखद परिस्थिति १३ दिने अन्त्यकर्म पद्दति र ४५ दिने वा एक वर्षे वरखी प्रद्दतिले मात्र सम्भव भएको हो ।गलत अभ्यासको अन्त्य हो, किरिया पद्धतिमा केही खर्चिलो पाटोहरु पनि हुन सक्छन् । सक्नेले खर्चिलो तरिकाले पनि पद्दति अपनाउन सक्लान । तर, नसक्नेका लागि मितव्ययी पद्दतिलाई प्रश्रय दिन कर्मकाण्डमा सक्रिय कर्मकाण्डी ब्राम्हण, पुरोहितले भूमिका खेल्न आवश्यक छ । आर्थिक अवस्था कमजोर भएकाहरुलाई सरल कम खर्च हुने गरि तर पद्धति भने सबै अपनाएर अन्त्यकर्म गराई दिन आवश्यक छ ।साथै कतिपयले १३ दिन नै किरिया पद्दति अपनाएर आफ्ना मातापिताका नाममा समाजमा उदाहरणीय दान गर्न सक्छन । अर्थात कुनै विद्यालय, मन्दिर, छात्रछात्रालाई छात्रवृत्ति आदी दिएर सत्कर्ममा उक्त रकम दान दिन सक्छन । मातापिताका नाममा अक्षय कोष खडा गरेर समाजसेवामा लगाउन पनि सक्छन । तर, दुःखको कुरा अहिलेसम्म १३ दिन किरियाका दिन लामो भयो भनेर यसलाई परिवर्तन गर्न अभियान चलाउनेहरुले यसबारे चर्चा गरेको, सोच राखेको देखिंदैन ।साथै किरिया पद्दतिमा केही सरता पनि अपनाउनुपर्ने हुन सक्छ । जस्तो किरियापुत्रीले फलफूल खान मिल्ने, पुस्तक पढ्न मिल्ने, पत्रपत्रिका पढ्न मिल्ने, रोगी र अस्वस्थ किरिया पुत्रीका लागि केही सहज परिस्थिति बनाउनुपर्ने भने देखिन्छ । त्यसका लागि यसो नै गर्नु पर्नेभन्दा पनि अवस्था हेरेर व्यवहारिक सरलता अपनाउनुपर्ने तर्फ भने ध्यान दिन आवश्यक छ, जुन समयसापेक्ष होस् । स्वस्थ किरियापुत्रीका लागि भने अन्त्यन्त न्युनतम साधनका साथ त्यसबेला गरिने जीवन अभ्यासले व्यक्तिमा आफू जस्तोसुकै परिस्थितिमा पनि फिट रहन सक्छु भन्ने मनोबल समेत प्रदान गर्दछ ।एक रुपताको खाँचो हो, यसबारे एउटा ठोस निर्णय लिन आवश्यक देखिएको छ । यदि १३ दिने अन्त्य कर्मपद्दति अहिलेका समय असुहाउँदो भएको हो भने यसलाई परिवर्तन गर्न वृहत्तर छलफलको खाँचो देखिन्छ । “बादे बादे जायते तत्वबोध” जस्तो वृहत्तर सोच राख्ने हाम्रो संस्कारमा यसबारे छलफलबाट टुंगो लागउन नसकिने पनि होईन । त्यसका लागि संस्कृति मन्त्रालय, नेपाल पञ्चाङ्ग निर्णायक समिति, नेपाल ज्योतिष परिषद्, कर्मकाण्डमा सक्रिय विद्धत वर्ग, लब्ध प्रतिष्ठित संस्कृतिविद् लगायतले कदम चाल्न आवश्यक छ । खासमा संस्कृति मन्त्रालयले यसबारे कुनै पनि चासो दिन सकेको छैन ।यस्तो अन्योलले त पर्यटन जगतमा पनि नकारात्मक असर पुर्याउने छ । किनकी विदेशी पर्यटकलाई हाम्रो अन्त्य कर्म पद्दति यस्तो छ भनेर भन्न पर्यटक गाईडहरुलाई क्रमशः अन्योल हुँदै जानेछ । यस्तो अवस्थाले विदेशीको नजर हामीप्रति अन्योल हुँदै जानेछ ।विदाको अन्योल ९७ प्रतिशतभन्दा बढी ओमकार परिवारमा आस्था राख्ने जनसंख्या रहेको नेपालमा मातापिताको निधनमा १३ दिन विदा दिने सरकारी क्षेत्रमा र निजी क्षेत्रमा पनि व्यवस्था छ । तर पछिल्ला दिनमा यसरी नै कसैले ५ दिनमा कसैले ७ दिनमा किरिया बस्ने गर्दा कार्यालयहरुले भने कति दिन विदा दिने ? भन्ने अन्योलता केही वर्ष भित्रमा देखा पर्ने निश्चित छ । डाक्टर उपेन्द्र देवकोटाले स्थापना गरेको न्युरो अस्पतालमा कार्यरत कुनै कर्मचारीको मातापिताको निधन भएको बखतमा न्युरो अस्पतालले कति दिन विदा दिने छ ? किनकी संस्थापकको किरिया ७ दिनमा गरियो, संस्थापकले स्थापना गरेको कार्यालयमा कार्यरत कर्मचारीलाई कतिदिन विदा दिने ?पारिवारिक मिलन मातापिताको निधनको समय एकातर्फ पारिवारिक विछोडको समय हो भने अर्काेतर्फ अहिलेको सन्दर्भमा पारिवारिक मिलनको अवसर पनि हो । अहिले दाजुभाइ दिदीवहिनीहरु विश्वका विभिन्न देशमा छरिएर बस्ने गरेको र उनीहरुको भेटघाट वर्षाैसम्म नहुने सन्दर्भमा मातापिताको निधनको समयमा अन्त्यकर्मका लागि सबैजना आफ्नो जन्मस्थानमा भेट हुनु आफैमा सकारात्मक पक्ष हो ।त्यसकारण यसरी वर्षाैपछि भेट हुने दाजुभाइ दिदीबहिनीहरु कम्तिमा पनि १३ दिन सँगै मिलेर मातापिताको मुक्ति र आत्मा शान्तिका लागि एकजुट भएर सहभागी हुन्छन् । यदि ५ वा ७ दिनमा मात्र अन्त्यकर्म सीमित गरेमा यस्तो परिस्थिति सिर्जना हुनसक्छ । साथै कतिपय अवस्थामा दाजुभाई दिदीबहिनीका बीचमा व्यवहारिक जीवनमा तिक्तता समेत हुन्छ । यस्तो तिक्तताका बीच जब मातापिताको निधन हुन्छ, उनीहरु कम्तिमा पनि १३ दिन सँगै हुन बाध्य हुन्छन् । सँगै हुन मात्र होईन, सँगै बसेर कर्म गर्न पनि बाध्य हुन्छ । यसले यो एक बारको जीवन खास केही होईन रहेछ द्धन्द, द्धेष, रिसराग र बोचचाल बन्द गर्नु भन्दा यसलाई सामान्यकरणतर्फ लैजानुपर्छ भन्ने महशुस वृद्धि हुन्छ । कतिपय बोलचाल नै बन्द भएका परिवारका सदस्यहरुबीच किरियामा सँगै बसेपछिबाट फेरि मिलन र सौहार्दता पुनःजीवित भएको प्रशस्तै देखिन्छ समाजमा । त्यसकारण १३ दिने अन्त्यकर्म पद्दतिमा सबै नराम्रै नराम्रो देख्नु एक प्रकारको अतिवादबाट प्रभावित हुनु पनि हो ।यसरी हेर्दा अन्त्यकर्म पद्दतिमा आएको बेथितीले समाजमा स–साना जस्तो लाग्ने सांस्कृतिक बेथितिको अवस्था निम्त्याउने खतरा देखा परेको छ । यसले एउटा एकरुप सांस्कृतिक नियमको अबलम्बन भन्दा “जे पनि गरे हुन्छ” भन्ने भद्रगोल अवस्था निम्त्याउने छ । यसले न त वैदिक संस्कृतीको जगेर्ना हुनेछ न त समाजका मानिसहरुमा आफ्नो संस्कार प्रतिको गौरवको भाव नै वृद्धि गर्नेछ । अन्त्य कर्मपद्दतिलाई छोट्याउँदै पविर्तनकामी हुनेहरुले पनि यसबारे जिम्मेवार भएर सोच्ने कि ?

(पन्त, नेपाल ज्योतिष परिषद्का पार्षद एवं दिव्य दृष्टि ज्योतिष सेवा तथा अनुसन्धान केन्द्रका संस्थापक हुन् सम्पर्क नं. ९८४१५२७५१०)

Advertisement

Advertisement