‘छ महिनामा काठमाडौंको धुलो र हिलो पनि हट्छ, कोशी र गण्डकीमा पानीजहाज पनि चल्छ’

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अबको छ महिनाभित्र काठमाडौ धुलो र घुवाँरहित हुने दावी गरेका छन् । जिल्ला समन्वय समिति महासंघको कार्यक्रममा उनले त्यस्तो उदघोष गरेका हुन ।

ओलीले मेलम्ची खानेपानी र सडक निर्माणको क्रम चलिरहेकाले अहिले धुलो र हिलोको समस्या भए पनि अबको छ महिनाको यो सबै हट्ने जिकिर गरे । अहिलेको हिलो र धुलोको समस्यालाई स्वाभाविक रुपमा लिनुपर्ने तर्क गरे ।

छ महिनामा बाटो बन्ने, ढल पनि बन्ने भन्दै ओलीले त्यसपछि अहिलेको धुलो र हिलोको समस्या समाधान भएर जाने बताए । उनले भने, ‘पानी ल्याउने पाइप हाल्न खन्नैपर्यो । बनाउने क्रममा यस्तै हुन्छ महा पनि। दुई वर्षभित्र काठमाडौँका सडकहरुको कालोपत्र गर्ने काम सबै सकिन्छ ।’

ओलीले अब चाँडै कोशी र गण्डकीमा पानीजहाज चलाउन सर्भेक्षण सुरु हुने भन्दै पानी जहाज चलाउने कुराको आलोचना हुँदैमा नआत्तिन आग्रहसमेत गरे । सरकार नढल्ने र वर्तमान मन्त्रिमण्डल पनि तत्काल हेरफेर हुने उनको भनाई छ ।

सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएको भन्दै ओलीले भने, ‘केही हुनेवाला छैन । राम्रो काम गरिरहेमा कुनै मन्त्री हट्ने छैनन् । सरकार पनि ढल्दैन।’ केही मन्त्रीहरुसमेत सहभागी उक्त कार्यक्रममा उनले आलोचनाबाट नडराउन सल्लाह दिए ।

सरकार स्पष्ट सोच र दुरदर्शी द्रिष्टिकोणका साथ विकास र समृद्धिका लागि काम गरिरहेको ओलीको दावी छ । उनले संघीय गणतन्त्रको सफलता र असफलता स्थानीय तहको प्रभावकारितासँग जोडिएकाले भन्दै सेवामुखी, पारदर्शी र स्वच्छ भावनका साथ जनताका काम गर्न स्थानीय प्रतिनिधिहरुलाई सल्लाह दिए ।

Advertisement

Advertisement

Advertisement