नेपाल भ्रमण वर्ष मनाउन भन्दै विदेशमा प्रचारात्मक गतिविधि

Advertisement

काठमाडौं । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने निर्णय गरेअनुसार नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि स्वदेश तथा विदेशमा समेत प्रचारात्मक गतिविधिलाई तीव्रता दिएको छ ।

बोर्डले नेपाल भ्रमण वर्षलाई प्रभावकारी प्रचार गर्ने लक्ष्यका साथ ‘पाटा ट्राभल मार्ट २०१८’ मा बायर्स लाउन्जको प्रायोजन गरेको थियो । उक्त लाउन्जमा करीब २०० भन्दा बढी अन्तर्राष्ट्रिय पर्यटन प्रर्वद्धनमा क्रियाशील व्यवसायीले व्यापारिक छलफल तथा नेपालका गन्तव्यका बारेमा चासो व्यक्त गरेका थिए ।

पाटा नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमसँगको सहकार्य तथा समन्वयमा नेपाली पर्यटन व्यवसायी, विद्यार्थी तथा सञ्चारकर्मीसहितको टोलीले गत भदौ २७ देखि २९ गतेसम्म मलेशियाको लङ्काबीमा आयोजित पाटा ट्राभल मार्टको ४१औँ संस्करणमा सहभागिता जनाएको थियो ।

मलेशिया सरकारले आयोजना गरेको पाटा ट्राभल मार्टमा नेपालबाट दश पर्यटन व्यवसायी र संस्थाको सहभागिता थियो । पाटा ट्राभल मार्टमा विश्वभरिका ७० गन्तव्यबाट कूल एक हजार ४०० प्रतिनिधिले सहभागिता जनाएको पर्यटन बोर्डले जनाएको छ ।

पाटाले नेपाल, बङ्गलादेश, सिङ्गापुर, क्यानडा, फिलिपिन्स तथा मलेशियाबाट २१० युवा पर्यटन व्यवसायीलाई पनि आमन्त्रण गरेको थियो । बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्माले नेपालको अलौकिक सौन्दर्य र विविधताका बारेमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि चासोका साथ हेरेको भन्दै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षका कार्यक्रम सफल हुने बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले पाटा ट्राभल मार्ट नेपालको विविधता संसारसामु देखाउने अनुपम अवसर भएको बताए । पाटा ट्राभल मार्टमा राखिएको नेपालको कक्षमा दर्शकको आकर्षण थियो ।

खासगरी परम्परागत प्यागोडा तथा स्तुपा शैलीमा सजाइएका नेपाली पेभिलियनमा नेपालको प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनका विविध सेवा तथा वस्तु राखिएको थिए । पाटा नेपाल च्याप्टरका मुख्य कार्यकारी निर्देशक सुरेशसिंह बुडालले पाटा नेपाल च्याप्टरले बेष्ट च्याप्टर अवार्ड पाउनु नेपाली पर्यटन क्षेत्रका लागि गर्वको विषय भएको बताए ।

Advertisement

Advertisement

Advertisement