सोह्रश्राद्धको वैज्ञानिक पक्ष

Advertisement

विश्वका कुनै पनि सभ्यतामा आफ्ना पूर्वजलाई अत्यन्त आदरका साथ स्मरण गर्ने आ–आफ्नै संस्कृति रही आएका छन् । ओमकार परिवार भित्रको मुलधार वैदिक हिन्दू संस्कृतिमा वर्ष दिनमा १५ दिन पितृ पक्ष स्मरण गर्ने दिनका रुपमा छुट्याईएको छ । जसलाई सोह्र श्राद्ध भनिन्छ । आविश्न कृष्ण पक्षलाई पितृपक्ष भनिन्छ भने आविश्वन शुक्ल पक्षलाई दुर्गापक्ष भनिन्छ । दुर्गापक्षमा हिन्दूहरुको महान चाड दशैको नवारत्र पर्दछ । र नवरात्र भन्दा ठिक अघिको १५ दिन पितृलाई स्मरण गर्ने दिन यकिन गरिएको छ । यसले के प्रष्ट पार्दछ भने देव पक्षको पूजा आराधना जस्तै पितृ पक्षको स्मरण उत्तिकै महत्वले भरिएको छ भन्ने सन्देश स्पष्ट छ । पितृ पूजाको बैज्ञानिकता कुनै पनि व्यक्ति आफै फुत्त कुनै ग्रहबाट पृथ्वीमा झर्ने होइन । मातापिताको कोखबाट यस धर्तीमा जन्म लिएर मात्र कुनै पनि व्यक्ति आफै हुर्कने पनि होइन । उसलाई हुर्काउन मातापिताले असिमित दुःख र संघर्ष गरेका हुन्छन् । र संसारमा उत्पन्न हुने पनि वस्तु कुनै न कुनै एक दिन नाशवान छन् । अवश्य पनि जो कोहीको पनि मातापिता एक दिन निश्चित रुपमा निधन हुन्छन् नै । तर जन्म दिने मातापिताको भौतिक शरीरको अन्त्यसँगै उहाँहरुलाई विर्सन सकिन्छ त ? अवश्य सकिंदैन ।

Advertisement

साथै अहिलेको विज्ञानका अनुसार पनि केही रोग, केही स्वभाव, विशेषता, बानी, मनपराउने स्वाद वा मन नपराउने स्वाद लगायतका विशेषता बंशानुगत हुन्छन । यस्तो अवस्थामा आफूलाई सत्मार्गमा डोर्याउने मातापितालाई नमन गर्नु, स्मरण गर्नु उच्चस्तरको संस्कारले भरिएको गतिविधि हो ।
पितृको आशिर्वादले कुनै पनि मानिसमा उत्साह, उमङ्ग र कार्य सफलता प्रदान गर्दछ । पितृलाई दुत्कार्नेहरुका जीवनमा अनेकौ कठिनाईहरु आइपरेका हामीले आफ्नै वरपर देख्न सक्दछौ । पूर्वजलाई स्मरण गर्दै उहाँहरुको योगदानमा गौरव गर्ने प्रचलन पुस्ता पुस्ता हस्तान्तरण हुँदै जाँदा पछिल्लो आउने पुस्ताले पनि अघिल्लो पुस्तालाई सम्झने परिपाटी निरन्तर रहिरहन्छ ।
मनको तह र सम्बन्ध हाम्रो शास्त्रीय मान्यताअनुसार मनको तीन वटा तह हुन्छ । यसलाई अहिलेको विज्ञानले पनि स्वीकार गरिसकेको छ । चेतन, अर्धचेतन र अवचेतन मन । चेतन मन पूर्णतया होसमा सक्रिय हुने तह हो । तर मन, अर्धचेतन र अवचेतन अवस्थामा पनि सक्रिय हुन्छ तर यो सक्रियता चेतन तरिकाले हुँदैन ।त्यसैले जसको घरमा कुनै पनि पूर्वजको निधनमा राम्रोसँग पितृ कार्य भएको हुँदैन, श्राद्ध गरिएको हुँदैन र सोह्रश्राद्धमा पनि श्राद्ध गर्ने गरिएको हुँदैन, त्यो परिवारका सदस्यका अर्धचेतन र अचेतन मनमा पितृहरुको तन्द्रा आइरहने हुन्छ । त्यस्तो अवस्थामा अत्यन्त नराम्रा प्रकारका सपनाहरु आइरहने, मनमा त्रास भइरहने, मन लुलो हुने, मनमा दृढता नहुने, अशुभ हुँदैछ भन्ने मात्र लागि रहने र परिवारका सदस्यहरुका बीचमा तनावको अवस्था पैदा हुने गर्छ । पितृहरुले अर्धचेतन र अचेतन मनमार्फत आफ्नो परिवारका सदस्यहरुसँग सञ्चार स्थापना गरिरहेका हुन्छन् ।कतिपय व्यक्तिहरुले आफ्नो परिवारका कुनै सदस्यको निधन भएको र अञ्जानका कारण श्राद्ध हुन नसकेको र पछि तिथि मिति पत्ता लगाएर श्राद्ध गर्न थालेपछि आफ्नो परिवारमा देखा परेको नकारात्मक अवस्था ठिक भएको अनुभव सुनाउने गर्नु हुन्छ । यो यथार्थ हो कि पितृ पक्षको सञ्चार सम्बन्ध आफ्ना परिवारका भौतिक व्यक्तिको अर्धचेतन र अचेतन मनसँग हुनेगर्छ । त्यो विभिन्न माध्यमबाट हुनेगर्छ । कतिपयले आफ्ना मातापिताको निधनको तिथि वरपर आफ्ना मातापितालाई सपनामा ज्यादा देख्ने, दिउँसो पनि आफू वरपर नै बसिरहेको हो कि जस्तो लाग्ने जस्ता आभाष महशुस गर्दछन् ।यो तरंगका आधारमा व्यक्तिको मनोवैज्ञानिक अवस्थामा हुने सञ्चारको अवस्था हो । यसलाई भौतिक स्वरुपमा हेर्न खोज्नु र देख्न नसकिएमा यो अवैज्ञानिक विषय हो भनेर उपेक्षा गर्नु आफैमा मुर्खतापूर्ण तर्क हुन आउँछ । विचारको विज्ञान झै यसरी स्थापित हुने सञ्चार पनि अदृश्य तर अत्यन्त बलियो तरंगको हुने गर्छ । यो भौतिकरुपमा देख्ने भन्दा पनि महशुस गरिने विज्ञानमा आधारित छ ।यस वर्षको सोह्र श्राद्ध यस पटकको सोह्र श्राद्ध असोज ९ गतेदेखि आरम्भ हुने छ । ९ गते प्रतिपदाश्राद्ध रहेको छ । १० गते द्धितीयाश्राद्ध, ११ गते तृतीयाश्राद्ध, १२ गते चतुर्थीश्राद्ध, १३ गते पञ्चमीश्राद्ध, १४ गते षष्ठीश्राद्ध, १५ गते सप्तमीश्राद्ध, १६ गते अष्टमीश्राद्ध रहेका छन् ।त्यसैगरी १७ गते नवमीश्राद्ध, १८ गते दशमीश्राद्ध, १९ गते एकादशीश्राद्ध, २० गते द्धादशीश्राद्ध र त्रयोदशीश्राद रहेका छन् । त्यसैगरी २१ गते शस्त्रअस्त्रबाट निधन भएकाहरुको श्राद्ध गर्ने चतुर्दशीश्राद्धको दिन रहेको छ । २२ गते औसीको श्राद्ध तथा पितृविसर्जन रहेको छ ।यसरी १५ दिन आ–आफ्नो परिवारका दिवंगत सदस्यको श्राद्ध गरि पितृका लागि स्मरण गर्ने दिन निर्धारित गरिएको छ । आ–आफ्नो परिवारको सदस्यको जुन तिथिमा निधन भएको हो, सोही तिथिमा सोह्रश्राद्धको श्राद्ध गर्ने प्रचलन रही आएको छ । कम्तिमा पनि वर्ष दिनमा एक दिन आफ्ना दिवंगत परिवारका सदस्यलाई दिने प्रचलन आफैमा अत्यन्त वैज्ञानिक र व्यवहारिक छ । यस दिन दिइने तर्पण, श्राद्ध, पिण्ड दान र अन्य दानबाट पितृहरु खुशी रहन्छन र आशिर्वाद दिन्छन भन्ने विश्वास रही आएको छ ।केही आधुनिकताको अभ्यास हो, समयक्रमअनुसार यस संस्कारमा पनि केही परिवर्तनहरु देखा परेका छन् वा देखा पर्न सक्नेछन् । यसको मुल मर्मलाई यथावत राखि समय, काल, परिस्थिति र व्यवहारिक अवस्था अनुसार केही तलमाथि हुन सक्छन् । आज विश्व भुमण्डलीकरणका कारण एकै परिवारका सदस्यहरु विश्वका विभिन्न देशमा छरिएर बस्न पुगेका छन् । मातापिताको सोह्रश्राद्धकै लागि विश्वका विभिन्न स्थानबाट एकै ठाउँमा जम्मा हुन धेरै जसो सन्दर्भमा व्यवहारिक कठिनाईहरु छन् । यस्तो अवस्थामा जहाँजहाँ रहिएको हो, त्यही स्थानमा चोखो बसेर मातापितालाई स्मरण गर्न सकिन्छ । नेपालभन्दा बाहिर रहेको अवस्थामा श्राद्ध नै गर्न असम्भव भए त्यस दिन शाकाहारी मात्र खाने, चोखो बस्ने र जथाभावी नखाई मातापितालाई स्मरण गर्न सकिन्छ ।साथै सोही समाजमा मातापिताका नाममा अक्षयकोष स्थापना गरि समाजका कमजोर वर्गलाई सहयोग गर्ने अवस्था सिर्जना गर्न सकिन्छ । र उक्त सहयोग मातापिताको तिथिमा नै प्रदान गर्न सकिन्छ । त्यत्ति मात्र होइन, आफ्नो जन्मथलो वा आफैले पढेको विद्यालय आदीमा छात्रवृत्ति कोष स्थापना गर्न सकिन्छ । मातापिताका नाममा मन्दिर, विद्यालय, स्वाथ्य चौकी, चौतारा, बाटोघाटो, पानीका धारा, कुवा, इनार, पधेरो आदी निर्माण गरिदिन पनि सकिन्छ ।तर आफ्ना मातापिताको तिथि नै भुल्दै जानु, सोही दिन मांस, मदिरा आदी बेपर्वाह रुपमा सेवन गर्नु, कुनै पनि संस्कारगत हिसावले ठिक हुन सक्दैन । जवानीका दिनहरुमा कोही कसैले “केही फरक पर्दैन” भन्दै त्यसो गरेमा उक्त व्यक्ति जीवनको मध्य उमेरतर्फ अघि बढ्दै जाँदा उसमा पश्चातापको भुमरी अवश्य सिर्जना हुनेछ । उक्त भुमरीको तापले पोल्ने पोलाईको पीडा कति हुन्छ भन्ने यकिन स्वयं उसलाई मात्र थाहा हुनेछ ।संसारको जुन कुनै सभ्यतामा पनि आफना पूर्वजलाई निश्चित समय समयमा स्मरण गर्ने प्रचलन छ । वैदिक परम्परालाई निधन भएको तिथिका दिन गर्ने परम्परा बसालिएको छ । तिथिका दिन पितृहरु आफ्ना नातेदारबाट तर्पण, श्राद्ध, दान आदी पाउने अपेक्षामा हुन्छन् भन्ने शास्त्रीय विश्वास रही आएको छ । आधुनिक बन्ने नाममा वैज्ञानिक आधारमा निर्धारित भएका सामाजिक संस्कृतिलाई उपेक्षा गर्ने नगरौं । व्यवहारिक ढंगबाट अवलम्बन गरौं ।

(पन्त, नेपाल ज्योतिष परिषद्का पार्षद एवं दिव्य दृष्टि ज्योतिष सेवा तथा अनुसन्धान केन्द्रका संस्थापक हुन् सम्पर्क नं. ९८४१५२७५१०)

Advertisement

Advertisement