राजीनामा आइजीपीले होइन, ओलीले दिनुपर्छः नेविसंघ

Advertisement

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले मुलुकमा सुशासन कायम गर्न असफल भएको भन्दै वर्तमान सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लबमा महरले भने, ‘साथीहरुले आईजीपीको राजिनामा माग गर्नुभएको छ । एकजना कर्मचारीलाई हटाएर मात्रै समस्याको समाधान हुँदैन् । सरकार नै अपराधीहरुको सरंक्षणमा लागेको छ । सरकार आँफै बलात्कारी र अपराधीहरुको सरंक्षणमा जुटेको हामीलाई आभाष भएको छ ।’

उनले चाडपर्वको मुखमा अहिले ३०० प्रतिशतले मूल्यवृद्धि भएकोमा पनि आपत्ति जनाए । महरले भने, ‘चर्को मुल्यवृद्धिले सबैको ढाड सेकेको छ । यसको मारमा हामी सबै जनता परेका छौं ।’ हरेक कोणबाट यो आठ महिनामा सरकार सञ्चालन गर्न प्रधानमन्त्री ओली असफल भइसकेकोले अविलम्ब राजिनामा दिनुपर्ने उनको भनाई थियो ।

महरले भने, ‘हामीले अहिले आइजीपीको केशलाई मात्रै हेरेका छैनौं । कम्युनिष्ट सरकार निर्माण भइसकेपछि दुई तिहाईको दम्भ दिएर नेपालको संवैधानिक दायरालाई समेत नाघेर आफूभन्दा फरक विचार राख्ने समग्र नेपाली जनताहरुमाथि निर्दयीताका साथ आफ्नो सिकञ्जा लाद्ने प्रयासमा छ । त्यसकारण हिजो हामीले सरकार गठन भइसकेपछि अहिलेसम्मको अवधिमा करिब ४५ भन्दा बढि अपराधजन्य घट्नामा सरकार संलग्न भएको हामीसँग फेहरिस्त छ । र, पछिल्लो पटक नेपाल सरकारको सुरक्षा निकायका एक जना प्रमुखको राजिनामा लिएर जसरी कुरा उठेको छ । एक जना प्रमुख र एकजना कर्मचारीलाई मात्रै हटाएर वर्तमान समस्याको समाधान हुँदैन् ।’

महरले जताततै कालाबजारी, माफियाहरुको चलखेल, सुन तस्करहरु समात्दै फेरि कमिशन खाँदै छोड्दै बलात्कारी र हत्यारालाई संरक्षण दिने काममा सरकार लागेको आफूहरुलाई आभाष भएको आरोप लगाए । उनले थपे, ‘जे जसरी सरकार पछिल्लो पटक यो ७–८ महिनामा जनताका दैनिक दिनचर्याका चिजबस्तुमा तीन सय प्रतिशतभन्दा बढि मुल्य वृद्धि भएको छ । त्यो कांग्रेसलाई वा नेविसंघलाई मात्रै मुल्यवृद्धि भएको होईन । समग्र पत्रकारहरुलाई पनि यसको मार परेको होला ।’

पेटा«ेलियम पदार्थको मुल्य हरेक १५–१५ दिनमा वृद्धि गरिएको सुनाउँदै उनले कडा आपत्ति जनाए । उनले थपे, ‘पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएपछि त्यसले जनताका दैनिक जीवनमा आवश्यक पर्ने हरेक वस्तुमा मुल्यवृद्धि गराएको छ । त्यतिमात्रै होइन, यातायातका सबै साधनहरुमा आज जथाभावी र मनोमानी त छँदैछ । सिण्डिकेट अन्त्य हुने भनियो तर अहिलेसम्म भएको छैन । सिण्डिकेटका सञ्चालकहरुसँग सरकारले केही नजरआना लिएर सिण्डिकेट पनि अन्त्य भएको छैन् ।’

भर्खरै मात्रै सत्तासिन दलका एक जना जिम्मेवारी पूर्वमन्त्री एवं सांसदले चिनीको आयातमा १३ अर्बभन्दा बढि नेपाल सरकार प्रधानमन्त्री ओलीको क्याविनेटले गरेको निर्णयका कारणले सिण्डिकेट लागू भएको भन्ने उल्लेख गर्दै महरभने, ‘ओलीको निर्णयका कारण एक अर्ब ६० करोडको भ्रष्टाचार भयो भन्ने कुरा बाहिर आएको छ । त्यतिमात्रै होईन, खानेपानी मन्त्रालय र संस्थानलगायत अन्य ठूला ठूला गम्भीर भ्रष्टाचारका विषयहरु पनि बाहिर आएका छन् ।’

त्यस्तै महरले भूमाफियाहरुले अर्बौंको चलखेल गरेर ७ नम्बर प्रदेशको राजधानी सार्न कोशिस गरेको पनि आरोप लगाए । उनले भने, ‘७ नम्बर प्रदेशको राजधानी धनगढीबाट अन्यत्र ठाउँमा सार्नको लागि भूमाफियाहरुसँग मिलेर सरकारले भर्खरै मात्र यत्रो स्क्याण्डल मच्चिएको छ । पर्यावरणीय जोखिमलाई समेत ध्यान नदिएर त्यसको अनुमानसमेत नगरिकन, कुनै योजना, तर्जुमाबिनै हचुवाको भरमा राजधानी सारेर त्यसमा पनि अर्बौं रुपियाँ कुम्ल्याएको भन्ने कुरा तपाई हामीले सुनेका छौं ।’

उक्त विषयमा सत्यतथ्य घट्नालाई आधार मानेर समाचार छाप्दा दैनिक पत्रिकाहरु जलाएको पनि महरले सुनाए । उनले भने, ‘त्यसकारण सरकार हामीले हिजो भनेको सर्वसत्तावादी सोच, सबै समाज र देशका जतिपनि सत्ताहरु छन् । तिनीहरुलाई आफ्नो सिकञ्जामा लिएर सरकार निर्मम रुपमा अगाडि बढ्ने प्रयत्न गर्दैछ । त्यसकारण यो एकजना प्रहरी अधिकारीको कुरा मात्रै होईन, समग्र सरकारको कुरा भएको कारणले मलाई लाग्छ, साथीहरुले गरेको घट्नालाई अझै माथि उठाएर समग्ररुपमा वर्तमान सरकार जो नेतृत्व गर्न सकिरहेका छैनन्, कुरा दुई तिहाईको छ, तर सुशासन जनताले पाएकै छैनन् । दिनप्रतिदिन विद्यालय, कलेज गएका बहिनीहरु बलात्कृत भएका छन् । बलात्कृत मात्रै होइन, मान्छेको ज्यानसमेत लिने अभ्यास भएको छ । हो यो क्रियाकलापमा समग्र केपी ओली सरकार असफल भएका कारणले हो । एक विद्यार्थी संगठनको अध्यक्ष भएको नाताले मैले नेपाल सरकारका प्रधानमन्त्रीको राजिनामाको माग गर्दछु ।’

अध्यक्ष महरले ओलीले राजिनामा दिनुपर्ने र अर्को कोही आएर प्रधानमन्त्री चलाउनुपर्ने बताए । यद्यपी उनले आफूले कम्युनिष्टबाहेक अर्कोबाट प्रधानमन्त्री बन्नुपर्छ भन्दैनौं भने । सरकार असफल भएको भन्दै देशलाई असफलताको खाडलमा जागिनबाट जोगाउन पनि प्रधानमन्त्रीले तत्काल राजिनामा दिनुपर्ने महरले बताए ।

उनले भने, ‘हामी अर्को पार्टीबाट प्रधानमन्त्री बनाउनुपर्छ भन्दैनौं । तर, वर्तमान प्रधानमन्त्री असफल हुनुभयो । उहाँले सरकार सञ्चालन गर्न सक्नुभएन् । यो आठ महिनाको अवधिमा केपी ओली सरकार सञ्चालनका हरेक फ्याक्टरमा, हरेक तीरबाट असफल हुनुभएको छ । त्यसकारण यो एउटा कर्मचारीको विषयभन्दा समग्र सरकारको विषय रहेको हुनाले मैले आदरणनीय प्रधानमन्त्रीजीको सञ्चालन प्रक्रिया पुगेन । उहाँको ढंगले देश समृद्धि हुने कि देश झन अन्यौल र झन खाडलमा भासिने भएको कारणले मैले उहाँको राजिनामा मागे ।’

Advertisement

Advertisement

Advertisement