‘औद्योगिक विकासविना समाजवादी नीति कार्यान्वयन गर्न खोज्नु गरिवी वितरण गर्नु हो’

Advertisement

काठमाडौं । अर्थविद् प्राडा मदन दाहालले गरिव मुलुकले औद्योगिक विकास नगरी समाजवादी नीति कार्यान्वयन गर्न खोज्नु गरिबी वितरण गर्नु हो भनेका छन् ।

सामाजिक सञ्जालमा व्यक्त प्रतिक्रियामा उनले नेपाल जस्ता गरिव मुलुकले उद्योगधन्दाको विकास गरेर राष्ट्रिय आयमा वृद्धि गरेपछि मात्रै समाजवादी नीति कार्यान्वयन गर्दा सफल हुने भन्दै औद्योगिक विकासविना समाजवाद लागू गर्न कठिन रहेको बताएका छन् ।

अर्थविद् दाहालले नेपालको आर्थिक विकास विभिन्न राजनीतिक वादको प्रयोगमा अल्मलिएको र असफल नेतृत्वको कमजोरीले गर्दा जनता दशौं बर्षदेखि गरिवी, अभाव, विभेदमा जीवन बिताउन बाध्य भएको भन्दै अझै पनि मुलुकलाई विकासको मार्गमा भन्दा राजनीतिक प्रयोगका लागि अस्थिर बनाउने काम जारी रहेको बताएका छन् ।

उनले विगत देखिनै प्रदुषित राजनीति हावी रहेको भन्दै विभीषणहरूको जगजगी हुँदा मुलुक अविकासको कुचक्रमा फँसेको बताएका छन् । असफलहरूको लामो तांतीले राष्ट्र र जनताको भविष्य त्रिशंकुमा रहेको दाहालको भनाई छ ।

जबसम्म नेपाल बनाउँछु भन्ने अठोट भएको नेतृत्व हुँदैन, तबसम्म देशको विकासले गति लिन सक्दैन भन्दै उनले अर्काको इशारामा प्रयोग हुनेहरुले जनभावनाअनुसार काम गर्न नसक्ने बताउँदछन् ।

अर्थविद् दाहालले राजनीतिक संक्रमणकालको नाममा आर्थिक विकास गर्नुपर्ने महत्वपूर्ण समय खेर फाल्ने काम भएको भन्दै त्यसरी खेर फालेर पनि दियो संविधान निर्माण गर्ने काम हुन नसकेको बताउँछन् ।

उनले १२ बुंदे दिल्ली संझौता हुँदै यूरोपियन युनियन (ईयू)को दवावमा संविधान जारी गर्ने काम भएकोले यो संविधान सर्वस्वीकार्य हुन नसकेको भन्दै यसमा स्वदेशी माटोको सुवास नरहेको बताउँछन् ।

दाहालले नेपालबाट तराई क्षेत्रलाई टुक्र्याएर भारतसँग विलय गराउने षडयन्त्र भइरहेको भन्दै यो कहिले पनि क्षमा दिन नसकिने जघन्य अपराध हो भनेका छन् ।

उनी भन्छन्, ‘तराईका जनता अत्यन्त राष्ट्रप्रेमी छन् । पूर्वपश्चिम र दक्षिणमा हाम्रो सीमानालाई तराईका जनताले जोगाएका छन्। तर तराईका केही उच्च वर्गका ‘साहु, सामन्त, जमिन्दार’ र क्षेत्रीय दलका नेताहरूले तराईका जनतालाई हदै शोषण गरेका छन्। उनीहरूले गाउँमा चमार, डुम आदि दलित जातिका मानिसले सार्वजनिक इनारको पानी खायो भनेर कुटेर मारेका छन् । वुहारीले दहेजमा भने जति सम्पति नल्याएको भनेर मट्टितेल खन्याई जलाएर मारेका छन् । मुसहर, दुसाध आदि जातिलाई वन्धक मजदूर वनाएका छन् । चर्को व्याज लिएर गरीवको वास उठाएका छन्। उनै तराईका तथाकथित शोषक कविला नेताहरू राज्यले समान व्यवहार गरेन भनेर रडाको मच्चाउंदै छन् । स्वतन्त्र मधेशको नारा लगाउंदै छन् । र हाम्रो तराई क्षेत्रलाई टुक्र्याएर भारतसँग विलयन गराउने खेलमा अनवरत लागेका छन्। केही समय अघि भारतका प्रधानमन्त्रीको जनकपुर भ्रमणको वेला २ नं प्रदेशका मुख्यमन्त्रीले मधेसीलाई नेपालको संविधानले विभेद गरेको छ भनेर रोइलो गरे। प्रदेश नं ५ का एक जना सांसदद्वारा हालै एक समारोहमा वुद्ध भारतमा जन्मेको भनेर दुष्प्रचार गरियो। यस्ता दुष्कार्यको जति भर्त्सना गरे पनि पुग्दैन।तर त्यो कुत्सित षडयन्त्र किमार्थ सफल हुँदैन । किन भने तराईका जनता अत्यन्त राष्ट्रप्रेमी छन् । पूर्व, पश्चिम र दक्षिणमा हाम्रो सीमानालाई तराईका जनताले जोगाएका छन् ।’

त्यस्तै दाहालले सरकारले आगामी आर्थिक वर्षदेखि लागु हुने १५औं पञ्चवर्षीय योजना तर्जुमा गर्दा तराईमा निरपेक्ष गरिवीका रेखामुनि रहेका जनताको गास, वास र कपासको अनिवार्य व्यवस्था गर्नु पर्ने र उनीहरूलाई सीपमूलक तालिमको माध्यमबाट रोजगारीको प्रवर्द्धन गर्ने सुझाव दिएका छन् ।

सम्वृद्धिको अनिवार्य सर्त गरिवी निवारण हो र यसको निमित्त ‘घर घरमा सीप पुर्याउँ, गरिवी हटाउँ’ भन्ने नीति ल्याउनुपर्छ भन्दै उनले यो कार्यक्रम तराईकासहित सम्पूर्ण नेपालमा लागु गरिनु पर्ने बताएका छन् ।

दाहालले हालै सम्पन्न गैरआवासीय नेपाली सम्मेलनमा आफूले गैरआवासीय नेपालीको लगानीमा तराईमा एउटा मलखाद कारखाना स्थापना गर्न प्रस्ताव गरेको भन्दै आफू पनि तराईवासी भएकोले यहाँको समस्या आफूलाई राम्ररी थाहा भएको तर नक्कली मयुरहरुलाई थाहा नभएको बताउँछन् ।

तराईका क्षेत्रीय दलका नेताहरू निहित स्वार्थबाट प्रेरित समानता र स्वतन्त्रताको नाउँमा देश टुक्र्याउने विखण्डनकारीको मार्गलाई अनुशरण गर्दै नेपालमा अस्थिरता सिर्जना गर्न लागिरहेको उनको आरोप छ ।

दाहालले यी दलहरु मुलुकलाई अविकासको कुचक्रमा फसाउने षडयन्त्रमा निरन्तर लागेका बताउँदै देश टुक्र्याउने षडयन्त्र विषवृक्ष हो र कहिले पनि क्षमा दिन नसकिने जघन्य अपराध हो । यसको समयमै उपचार हुनु पर्दछभन्छन् ।

Advertisement

Advertisement

Advertisement