एक मधेसी नेता भन्छन्– सीके राउतसँग मिलेर राजपा र फोरमले देशमा संकट निम्त्याउँदैछन्

Advertisement

काठमाडौं । नेकपाका प्रदेश नम्बर २ का इन्चार्ज एवं प्रदेश नम्बर २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले राजपा र फोरमको सीके राउत र सशस्त्र समूहरुसँग अन्तरसम्बन्ध रहेको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लमा शुक्रबार उनले भने, ‘संविधान दिवसको दिन जनकपुरको रामानन्द चोकमा सीके राउतले मधेसलाई आजादी चाहिएको छ भनेर हिन्दीमा भाषण ठोके । छुट्टै देश बनाउनुपर्छ भनेर भाषण ठोके तर त्यसको २ नम्बर प्रदेशको सरकारले निन्दा र भत्र्सना पनि गर्न सकेन ।’

त्यस्तै मण्डलले प्रदेश नम्बर २ को सरकारको २०७५/७६ को बजेटमा हिन्दीमा कोटेशन फिट गरिएको भन्दै आपत्ति पनि जनाए । उनले थपे, ‘अब हामीलाई शंका लाग्न थालेको छ । मधेसी दलहरुको सीके राउतसँग अन्तरसम्बन्ध छ । उहाँहरुको अप्रत्यक्ष रुपमा देश टुक्रयाउन सहयोग छ भन्ने कुरा अहिले आएर मलाई विश्वास भयो । राष्ट्रमा संकट खडा गर्न उनीहरुको भूमिका छ ।’

मण्डलले भने, ‘दुई नम्बर प्रदेशमा राजपा र फोरमको संयुक्त सरकार छ । प्रधानमन्त्री केपी ओलीलाई प्रदेश सभामा निम्तो गरियो । उहाँले सम्बोधन गर्दा विरोध गरियो । उनीहरुले नौटंकी देखाए । संविधान दिवसको दिन कालो झण्डा बोक्नु कतिको उचित हो ?’

त्यस्तै उनले प्रदेश नम्बर २ को सरकारले नीति आयोग बनाएकोमा पनि आपत्ति जनाए । मण्डलले भने, ‘दुई नम्बर प्रदेशमा योजना आयोगको नाम बदलेर नीति आयोग नाम राखियो । यो नीति आयोग नाम किन राखियो भनेर हामीले जिज्ञासा राख्दा उहाँहरु बिहारमा नीति आयोग छ भन्नुहुन्छ । यो प्रदेश कसले चलाएको छ ?’

उनले २ नम्बर प्रदेशमा सत्तारुढ दल फोरम र राजपाले प्रथम चौमासिक बजेटको ७५ प्रतिशत बजेट एनजिओलाई बाँडेको पनि आरोप लगाए । फरक प्रसँगमा उनले २ नम्बर प्रदेशले प्रहरी ऐन ल्याउँदा आफूहरुले विरोध नगरेको जनाए । यद्यपी उनले अहिले हतार नगरौं भनेर बारम्बार आग्रह गरेको स्पष्ट पारे ।

मण्डलले भने, ‘दुई नम्बर प्रदेशमा अस्थिरता नआओस् भनेर हामीले बजेट ल्याउँदा पनि विरोध गरेनौं । कहिल्यै पनि हामी विरोधमा गएका छैनौं । अहिले पनि प्रदेस लोकसेवा आयोग ऐन ल्याएको छैन् । मधेसका जनताको हितमा काम गर्नुपर्छ । तर, हामीले अहिले प्रक्रियामा विरोध गरेका छौं ।’

Advertisement

Advertisement

Advertisement