सरकारी जग्गा कीर्ते गरी बेचेको अभियोगमा सात जनाविरुद्ध मुद्दा

Advertisement

काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा कीर्ते कागजात गरी भ्रष्टाचार गरेको अभियोगमा जिल्ला मालपोत कार्यालय, परासीका कर्मचारीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार परासीको साविक जयखानी–३ गुल्मीका दीपक सुनारले साविक तिलकपुर गाविस–५ हाल सरावल गाउँपालिका–१ को सार्वजनिक जग्गा कीर्ते कागजात तयार गरी लुम्बिनी ग्यास उद्योगलाई बेचबिखन गरेको पाइएको छ ।

आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार मालपोत कार्यालय परासीका मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, खरिदार जीवलाल भुसाल र कम्प्युटर अपरेटर एजाज खाँले रु दुई करोड ८६ लाख ५२ हजार बराबरको भ्रष्टाचार गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

मालपोत कार्यालय परासीका कर्मचारीसमेतको मिलेमतोमा सरकारी, सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेषको नामबाट अमुक कम्पनीको नाममा बिक्री वितरण गर्ने प्रयोजनका लागि राजीनामाको लिखत तयार गरी पारितसमेत गरेको अनुसन्धानबाट खुलेको छ  ।

उक्त जग्गाको मालपोत कार्यालय परासीको आर्थिक वर्ष २०७४÷७५ को न्यूनतम् सरकारी मूल्याङ्कन पुस्तिका अनुसार प्रतिकट्ठा रू पाँच लाख २० हजारको दरले गैरकानूनी रूपमा व्यक्ति विशेषको नाममा कम्प्युटरमा प्रविष्ठ गरी नक्कली स्रेस्ता, पूर्जा खडा गरी कार्यालयमा रहेको मोठ ठेलीमा घुसाएको पाइएको छ ।

स्थानीय वडा कार्यालयको घर बाटो सिफारिससमेत केरमेट गरी गराई त्यसका आधारमा हक हस्तान्तरणका लागि राजीनामाको लिखत पारित गरेको, आफ्नो पदको दुरुपयोग गरी बद्नीयतपूर्वक सरकारी, सार्वजनिक सम्पत्ति हानि नोक्सानी पु¥याएको आयोगको दाबी छ ।

 

Advertisement

Advertisement

Advertisement