गोदावरी फूलको प्रदर्शनी कात्तिक १५ गतेबाट जावलाखेलको खेल मैदानमा

Advertisement

काठमाडौं । गोदावरी फूलको व्यवसायीक विकास र प्रवद्र्धन गर्ने उद्देश्यले हरेक बर्ष तिहारअघि गरिँदै आएको प्रदर्शनी यस बर्ष कात्तिक १५ गतेदेखि १८ गतेसम्म जावलाखेलको खेल मैदानमा आयोजना गरिने भएको छ ।

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी पुष्प व्यवसायीहरुको संगठन फ्लोरिकल्चर एशोसियशनले आयोजना गर्न लागेको हो । एशोसियशनले पुष्प व्यवसाय प्रवद्र्धनका लागि समयअनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पुर्याउनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको जनाएको छ ।

तिहारमा घर आगन सजाउन तथा स्वागत सत्कारमा बिशेष प्रयोग हुने आकर्षक फूल गोदावरीको माग बजारमा राम्रो रहेको छ । पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्न र व्यवसायीहरुबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा यसले टेवा पुर्याउने आशा लिइएको छ ।

हाल पुष्प उत्पादक कृषकहरुको आफ्ना उत्पादनको बजार क्षेत्र सीमित रहेको सन्दर्भमा यस प्रकारको प्रदर्शनीको आयोजनाबाट पुष्पप्रेमी उपभोक्ता बढन जाने र बजार विस्तार गर्न प्रदर्शनीले सघाउने एशोसियशनले जनाएको छ ।

गोदावरी फूलको विविध जाती प्रजातीहरुमध्ये यस प्रदर्शनीमा मुख्यतः स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स र कट फ्लावरलाई प्रतियोगितामा समावेश गरि प्रतिस्पर्धा गराईने छ । प्रतिस्पर्धामा समावेश भएका नर्सरीहरुलाई प्रथम, द्वितीय तथा तृतीय घोषणा गरि शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ ।

मेलामा व्यवसायिक स्टल ४४, सूचनामुलक ३ र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा ४८ वटा प्रदर्शनी कक्षहरु रहने छन् । मेलाको आकर्षणको रुपमा गोदावरी फूलको विभिन्न नयाँ नयाँ प्रजातीका फूलहरुको प्रदर्शनी तथा बिक्री बितरण हुनुका साथै सयपत्री, मखमली तथा अन्य फूल बिरुवाहरुको समेत प्रदर्शनीमा समाबेश हुने छन ।

यस बर्षको प्रदर्शनी ३६ हजारभन्दा बढिले अवलोकन गर्ने र ४५ लाख रुपियाँ बराबरको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।

Advertisement

Advertisement

Advertisement