अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीले छठपछि सिंहदरबार घेर्ने

Advertisement

काठमाडौं । सरकारी कार्यालयमा कार्यरत अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीहरुको रोजिरोटी खोसिएको भन्दै आन्दोलन चर्काउने भएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनीहरुले आफ्नो रोजीरोटीको सुरक्षा नभए सिंहदरबारमा जे पनि गर्न सकिने चेतावनी दिए ।

अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका संयोजक कुमार राउतले आफूहरुको रोजिरोटी नखोस्न सरकारलाई चेतावनी दिए । उनले २०–२५ वर्षसम्म काम गरेका कर्मचारीलाई सरकारले तीन महिनाको तलब दिएर हटाउन लागेको भन्दै आपत्ति जनाए ।

राउतले ३२ हजार कर्मचारीको रोजिरोटी खोसिएकोप्रति गुनासो गर्दै छठसम्म माग पूरा नभए सिंहदरबार पस्ने चेतावनी दिए । उनले भने, “छठसम्म माग पूरा नभए सशक्त आन्दोलन गर्छौँ । हामी मर्न पनि तयार छौँ । रोजिरोटी खोसिएका कर्मचारीका परिवारलाई सिंहदरबार छिराउँछौँ ।”

आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोख्रेलले अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीलाई सरकारले नियम र विगतमा भएका सम्झौताअनुसार व्यवस्थापन गर्नुपर्ने बताए ।

सर्वोच्चले यस्ता कर्मचारी नराख्न आदेश दिए पनि सरकारले पालना नगरेको भन्दै उनले अहिले हटाउन खोज्नु गलत भएको तर्क गरे । आवश्यकता पर्यो भनेर भर्ना गर्ने अनि अहिले किन हटाउन खोजियो ? पोख्रेलले प्रश्न गरे ।

कँग्रेस नेता चन्द्र भण्डारीले नेपालमा कर्मचारी भर्ना गर्ने शैली नै ठीक नभएकाले यस्तो समस्या आएको तर्क गरे । सत्ताधारी दलका सांसद यज्ञराज सुनुवारले कर्मचारीतन्त्रभित्र धेरै जटिलता रहेको भन्दै सरकारले समस्याको समाधान गर्नुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement