नेकपाको कार्यकर्ताले चलाएको गोली लागी एक जना कांग्रेस कार्यकर्ताको मृत्यु, पाँच जना घाइते

Advertisement

मलंगवा । नेकपा र नेपाली कांग्रेसका कार्यकताहरुबीच भएको झडपमा गोली लागी एक जनाको मृत्यु भएको छ । सर्लाहीको रामनगर गाउँपालिका–४मा मंगलबार बिहान भएको झडपमा रामबिलास महतोको गोली लागि घटनास्थलमै मृत्यु भएको हो ।

एकैपटक दुई सयभन्दा बढीको संख्यामा बिहान सात बजे भेला भएका नेकपाका कार्यकर्ताहरुले कुटपिट गर्दै गोली चलाउँदा रामनगर–४का ५५ वर्षिय रामबिलास महतोको घटनास्थलमै मृत्यु भएको एक स्थानीयले बताए ।

सर्लाहि क्षेत्र नम्बर ४ का प्रदेश ‘क’ बाट निर्वाचित सांसद् विरेन्द्र सिंहका अनुसार मृतकको मुख र पेटमा गोली लागेको छ । घटनास्थलमा बिहानैदेखि तनाव छ । आक्रोशित भिडले शवलाई उठाउन दिएका छैनन् । झडपमा परी घाईते भएकालाई उपचारका लागि अस्पताल लग्न गाउँ पुगेको एम्बुलेन्समाथिसमेत नेकपाका कार्यकर्ताले तोडफोड गरेको एक जना स्थानीय प्रत्यक्षदर्शी प्रेम सिंहले जानकारी दिए ।

घाइते हुनेमा महदेव राय, विवेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारयण महतो, प्रेमनारायण महतो, मुकेशप्रसाद महतोलाई गोलीको छर्रा लागेको स्थानीय प्रेम सिंहले जानकारी दिए।
घाइते लिन गएको एम्बुलेन्समा तोडफोड गरेकाले घाइतेलाई उपचारमा लान समस्या भएको सांसद सिंहले बताए। आक्रोशित भिडले स्थानीय १० घरमा समेत तोडफोड गरेको छ।
सोमबार सोही नगरपालिका वडा नम्बर ४ बाट निर्वाचित वडा अध्यक्ष रामनरेश महतोलाइ नेकपाका कार्यकर्ताले कुटपिट गर्दा उनको खुट्टा भाँचिएको थियो भने टाउकोमा गम्भीर चोट लागेको थियो।
प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको बताएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी पुरुषोतम पाण्डेले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ। सत्यतथ्य सार्वजनिक गर्न समय लाग्छ।’
स्थानीयले भने ठूलो घटना भइसक्दा पनि प्रहरीले आरोपितलाई पक्राउ नगरी संरक्षण गरेको आरोप लगाएका छन्। प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटाइएको छ।

Advertisement

Advertisement

Advertisement