पोखरामाथि रोमाञ्चक जित निकाल्दै धनगढी तालिकाको शीर्ष स्थानमा उक्लियो

Advertisement

पोखरा । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टीट्वीन्टी क्रिकेट प्रतियोगिताको शुक्रबारको पहिलो खेलमा एक्सपर्ट धनगढी ब्लुजले पोखरामाथि रोमाञ्चक जित निकालेको छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको धनगढीले शदर भेषवाकरको कप्तानीमा रहेको पोखरामाथि २ विकेटको जित निकाल्दै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो । १४५ रनको लक्ष्य धनगढीले १९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो ।

पोखराका लागि रोहितकुमार पौडेलले सर्वाधिक ३१ रन बनाए । त्यसैगरी भारतीय खेलाडी रवी इन्दर सिंहले २८ र आशिफ शेखले २३ रन बनाए । नवौं ओभरमा दोस्रो विकेट गुमाएपछि पोखराको ब्याटिङ केही धरमराएको थियो । पछिल्ला ओभरमा राम्रो रन बनाउँदै पोखरा सम्ममानजनक स्कोर बनाउन सफल भएको थियो । धनगढीका लागि कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिएका थिए ।

१४५ रनको सामान्य लक्ष्य पछ्याएको धनगढी राम्रो सुरुवात गरी पोखरामाथि हावी भएको थियो । खेलको मध्यतिर लगातार विकेट गुमेपछि जितसम्म पुग्ने निकै चुनौती बन्यो । । निकै कठीन परिस्थितिमा उत्कृष्ट ब्याटिङ गर्दै कप्तान दीपेन्द्र सिंह ऐरीले टोलीलाई महत्वपूर्ण जित दिलाए । उनीले २६ बलमा ४ चौका र ४ छक्कासहित ४९ रन बनाउँदै अवीजित रहे । धनगढीका लागि इङ्ल्याण्डका खेलाडी पिटर ट्रेगोले सबैभन्दा बढी ५३ रन बनाए त्यसबाहेक सुभेन्दु पाण्डेले धनगढीका लागि २२ रनको योगदान गरे ।

पोखराका लागि रासिद खानले धनगढीको ४ विकेट लिए ।

जितपछि ६ अंक बनाउँदै धनगढी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ४ खेलमा २ जित निकालेको पोखरा तालिकाको तेस्रो स्थानमा छ ।

Advertisement

Advertisement

Advertisement