देउवा र पौडेलको गोप्य वार्तापछि काँग्रेसको महासमिति बैठक सर्यो, गच्छदार उपसभापतिमा मनोनित

Advertisement

काठमाडौं । नेता कार्यकताको चर्को मागपछि महासमिति बैठक डाक्न बाध्य भएको काँग्रेस नेतृत्वले महासमिति बैठकको मिति फेरि सारेको छ । नयाँ मिति मंसिर २८ गतेलाई तोकिएको छ ।

मंसिर २८ गते सुरु हुने बैठक पुस ३ सम्म चल्नेछ । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले बैठकको मिति सार्ने र विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनयन गर्ने निर्णय गरेको हो ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको नेतृत्व गर्दै आएका गच्छदारले यसअघिको संसदीय निर्वाचनका क्रममा काँग्रेससँग पार्टी एकीकरण गरेका थिए । भद्र सहमतिअनुसार आफूलाई उपसभापतिमा नियुक्ति गर्न गच्छदारले दबाब दिँदै आए पनि सभापति शेरबहादुर देउवाले विमलेन्द्र निधिलाई मनोनित गरेपछि उनी रुष्ट भएका थिए ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र देउवाबीच कुराकानी भएपछि गच्छदारलाई उपसभापति बनाइएको हो । एक जना व्यक्तिलाई उपसभापति बनाउन पार्टी विधान संशोधन गर्न हुने नहुने विषयमा सो पार्टीभित्र बहस भइरहेको बेला दुई नेताले विधान संशोधन गर्नेगरी गच्छदारलाई उपसभापति बनाएका हुन ।

Advertisement

Advertisement

Advertisement