काँग्रेस नेताको प्रश्न- दुईतिहाई बहुमत भएको पार्टी हुँदाहुँदै किन चाहियो राष्ट्रिय सरकार ?

Advertisement

काठमाडौं । कांग्रेस नेता चीनकाजी श्रेष्ठले वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको दाबी गरेका छन् । रिपोर्टर्स क्लवमा आइतबार उनले भने, ‘अहिलेको सरकारले दिन दुई गुणा, रात चौगुणाले काम गर्नुपर्ने हो । तर, अहिले सरकारले काम गर्न सकेन् ।’

श्रेष्ठले यो सरकारको आयु पाँच वर्षको भए पनि स्थायी सरकारको गतिविधि देखाउन नसकेको बताए । उनले भने, ‘यसको गति कछुवाको जस्तो छ । न हाँसको चाल, न बकुल्लाको चाल नै भयो ।’

सरकारको नेतृत्वकर्ता वर्तमान प्रधानमन्त्री केपी ओलीले रेल कुँदाउने, राष्ट्रिय ध्वजाबहाक पानी जहाज चलाउने योजनाहरु सार्वजनिक गरे पनि यी सबै कुराहरु दीर्घकालिन योजना भएकोले अहिले सरकारले त्यतातिर भन्दा पनि जनतालाई महँगीबाट बचाउनुपर्ने आवश्यकता रहेको श्रेष्ठको भनाई छ ।

उनले भने, ‘यहाँ गाडी चढेर हिँड्न अप्ठ्यारो छ । काठमाडौंका सडकहरु अव्यवस्थित् छन् । यिनीहरुको व्यवस्थापन गर्नुपर्छ । अन्तर्राष्ट्रिय सम्मेलनहरु हुँदा रातारात सडकहरु पीच भएका छन् । तर, अहिले आएर पैसा छैन भन्न यो सरकारलाई सुहाउँछ ? नेताको औषधोपचारको लागि पैसा हुने तर सडक बनाउन पैसा हुँदैन् ।’

श्रेष्ठले वर्तमान सरकारले जनतालाई दिउसै रात पार्ने खालका भाषाहरु प्रयोग गरिरहेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरुले दिउसै जनतालाई रात पार्ने भाषाहरु बोलिरहेका छन् । यत्रो शक्तिशाली दुई तिहाईको बहुमतको सरकार छ । कांग्रेसले पनि काम गर्न विरोध गरेको छैन् । सरकारलाई राम्रो काम गर्न कुनै अवरोध छैन् । वर्तमान सरकार किन धिमा गतिमा चलेको छ ? मैले बुझ्न सकेको छैन् ।’

वर्तमान कम्युनिष्ट सरकार यतिबेला अन्यौलपूर्ण अवस्थामा रहेको श्रेष्ठको आरोप छ । उनले भने, ‘अगाडि बढ्नुपर्ने बेलामा यो सरकारको गति पछाडि फर्केको छ । यो सरकार आफ्नो हातमा सम्पूर्ण शक्ति जम्मा गर्न उद्धत छ । आफ्नो हातमा शक्ति लिएर प्रतिपक्षीलगायत अन्य सरकारविरोधी शक्तिहरु पत्रकार, वकिल र बुद्धिजीवीहरुलाई आफ्नो कुरा राख्नै नपाउनेगरि विभिन्न हत्कण्डा गरिरहेको छ । प्रधानमन्त्रीले आफ्नो हातमा शक्ति आर्जन गर्नुभएको छ । राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभागलगायतका महत्वपूर्ण विभागहरु आफ्नो हातमा लिनुभएको छ । यो सरकार आफ्नो विरोध गर्नेहरुलाई दमन गर्नमै सीमित छ ।’

दुई तिहाईको सरकार भएपनि यसले संघीयता कार्यान्वयन गर्न र प्रदेश सरकारलाई मजबुद बनाउने काम नगरेको श्रेष्ठको आरोप छ । उनले भने, ‘संघीयता कार्यान्वयन गर्नतर्फ यो सरकार गम्भीर छैन् । बरु आफ्नो दायित्वबाट पछाडि फर्केको छ । स्थानीय सरकारले पनि मनलाग्दी कर लिएर जनतालाई बोझ दिएको छ । अहिले पनि जग्गा रजिष्ट्रेशन गर्ने कुरामा विवाद छ । शुल्क उठाउने कुरामा विवाद कायमै छ । तर यी सबै समस्याहरुको समाधान गर्नतर्फ सरकार गम्भिर दखिएन् ।’

सरकारले अहिलेसम्म राष्ट्रिय प्राकृति स्रोत तथा वित्तीय आयोग गठन नगरेकोमा पनि श्रेष्ठले आक्रोस पोखे । उनले वर्तमान सरकार संघीयतालाई असफल पार्ने योजनामा लागेको गम्भिर आरोप लगाए । काम गर्ने शक्ति र वातावरण हुँदाहुँदै पनि वर्तमान प्रधानमन्त्रीले काम नै गर्न नचाहेको श्रेष्ठले आरोप लगाए ।

फरक प्रसँगमा उनले अहिले राष्ट्रिय सहमतिको सरकारको आवश्यकता नै नरहेको जिकिर गरे । श्रेष्ठले भने, ‘वामदेवजीले किन यो कुरा उठाउनुभयो ? हामीले बुझेको छैन् । तर, यो राम्रो कुरा होइन् । समृद्धि हाँसिल गर्न यो उपयुक्त बेला हो । यस्तो बेलामा फेरि विभिन्न बखेडा झिक्नुहुँदैन् । यो सरकार दुई तिहाईको सरकार हो । यो आफैमा झण्डै झण्डै सहमतिको सरकार नै हो । त्यसैले अहिले सहमतिको सरकारको कुरा गरेर राजनीतिक विवादमा अल्झिने बेला होईन् । राष्ट्रिय सहमतिको सरकारको आवश्यक नै छैन् । कांग्रेस सरकारमा जाँदैन् ।’

नेता श्रेष्ठले वर्तमान सरकारले हतार–हतार गरेर कमिशनको चक्करमा बुढीगण्डकी परियोजना चिनियाँ कम्पनी गेजुवालाई दिएको भन्दै कडा विरोध जनाए । उनले भने, ‘यो परियोजना जनताकै सहभागितामा बनाउनुपर्छ भनेर हामी भन्दै आएका छौं । यो नेपालको आफ्नै स्रोत र साधनले बनाउनुपर्छ । तर, एकाएक यो सरकारले असफल कम्पनी गेजुवालाई बनाउन दिने निर्णय गरेको छ । यो सबै कमिशनको खेल हो । सरकराको यो कदमले अब बुढीगण्डकी नबन्ने हो कि भनेर हामीलाई शंका लागेको छ । जनतालाई राष्ट्रिय गौरवको आयोजनमा सहभागि हुनबाट बञ्चित गर्नुले यो सरकार अराष्ट्रिय हो की भन्ने प्रष्ट हुन्छ ।’

Advertisement

Advertisement

Advertisement