नेपालको प्रवद्र्धन गर्न होटल संघले बैंग्लोरमा कार्यक्रम गर्ने

Advertisement

काठमाडौं । होटल संघ नेपाल (हान)ले भारतको बैंग्लोरमा नेपाल प्रवद्र्धक कार्यक्रम गर्ने जनाएको छ । हानले बुधबार पत्रकार सम्मेलन गरी सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य र उद्देश्यअनुरुप यस्तो कार्यक्रम गर्न लागिएको जानकारी गराएको हो ।

नेपाल पर्यटन बोर्ड, भारतस्थित नेपाली दूतावास तथा बैंग्लोरमा बसोबास गरेका नेपालीहरुको सहकार्यमा यही आउँदो नोभेम्बर १९ मा नेपाल प्रवद्र्धन कार्यक्रम आयोजना गरिने हानका अध्यक्ष तथा टोली नेता अमरमान शाक्यले बताए ।

छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि भारतीय पर्यटकहरुको नेपाल भ्रमणमा उल्लेख्य वृद्धि भएबाट अझ यसलाई व्यापक बनाउन सकिने उद्देश्यअनुरुप त्यहाँका ट्राभल तथा टूर अपरेटरहरुसँग नेपाली होटलहरुको बीटूबी मिटिङ तथा नेपाल प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिने पनि उनले बताए ।

सोही अवसरमा हानको अर्धवार्षिक साधारणसभा पनि आयोजना गरिनेछ । प्रत्येक अर्धवार्षिक साधारणसभा मुलुकबाहिर गर्ने नीति अनुसार यस वर्ष बैंग्लोरमा आयोजना गरिने अध्यक्ष शाक्यले बताए ।साधारणभामा ३५ भन्दा बढी होटल व्यवसायी सहभागी हुने संघको भनाई छ ।

सरकारको सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सभाले सबै सरोकारवाला निकायसँग सहकार्य गर्दै नीति निर्माण तहमा उपयुक्त सुझाव दिने भन्दै शाक्यले पर्यटन व्यवसायमा उतारचढाव रहे पनि ती सबैलाई मिलाएर नेतृत्व गर्ने जिम्मेवारी संघले लिइआएको बताए ।

संघका महासचिब बिनायक शाहले नेपाल सरकारले हालै १०० नयाँ गन्तव्य पहिचान गरिसकेको र उक्त गन्तव्यहरुमा लगानी बिस्तारका क्षेत्रमा सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने धारणा राखिने बताए ।

Advertisement

Advertisement

Advertisement