अर्थमन्त्री भन्छन्- कर नतिरे कहाँबाट आउँछ समृद्धि ? हतकडी लगाएर कर उठाउनुपर्ने अवस्था नआओस्

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले कर नतिरे समृद्धिको बाटो अवरुद्ध हुने भन्दै संवृद्धि खोज्न कर पनि तिर्नुपर्ने बताए । सातौं राष्ट्रिय कर दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले आम्दानीअनुसार सबैले कर तिर्नुपर्ने बताए ।

खतिवडाले सबैभन्दा थोरै आम्दानी गरेर कर तिर्ने करदाता पनि उत्तिकै सम्मानित व्यक्ति हो भन्दै यस विषयमा चेतना जगाउनु जरुरी रहेको बताए ।

उनले भने, “हामीले कर तिरेनौँ भने समृद्धिको बाटो बन्द हुन्छ । आम्दानीअनुसार कर तिर्नुपर्छ भनेर चेतना जगाऔँ ।” मन्त्री खतिवडाले स्वच्छिक कर सहभागितामा जानुपर्ने उल्लेख गर्दै मुद्दा मामिला र हतकडी लगाउनुपर्ने अवस्था आउन नदिन व्यवसायीलाई सचेत गराए ।

अनलाइनबाट कर तिर्ने प्रणालीको विकासमा सरकार लागेको उनले जानकारी दिए । कर सहभागिता बढाउन सहकार्य र एक अर्काप्रति सम्मान गर्नुपर्नेमा खतिवडाको जोड थियो ।

राज्यको आँखाबाट कोही नछुटने भन्दै उनले उपभोक्ताको हितमा प्रतिकूल नहुने गरी कर प्रणालीलाई व्यवस्थापन गर्न सरकार लागेको बताए । करको दर नभई दायरा बढाउनेतर्फ ध्यान केन्द्रित भएको समेत खतिवडाको भनाइ थियो ।

अर्थसचिव राजन खनालले कर सुधारको विषयमा सरकारले अभ्यास गरिरहेको भन्दै पछिल्ला केही वर्षदेखि परिवर्तन देखिएको जिकिर गरे ।

उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा, नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कर प्रणाली उद्योगमैत्री बनाउँदै औद्योगिक क्षेत्रमा लगानीको वातावरण निर्माणतर्फ सरकारको ध्यानाकर्षण गराए ।

कर तिर्नका लागि जागरण ल्याउन सरकारसँग सहकार्य गर्ने व्यवसायी तयार रहेको उनीहरुको भनाइ थियो । सम्मानित करदाताकातर्फबाट नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बोलेका थिए ।

आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णु नेपालले करदातालाई जागरुक बनाउनेतर्फ ध्यान दिँदै सरकारको आर्थिक नीति र राजश्व परिचालन नीतिलाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेको बताए । उनले करदाताको बृहत्तर सहभागितका लागि बृहत्तर छुट सुविधासहितका कार्यक्रम ल्याएकाले त्यो अवसर नगुमाउनसमेत करदातालाई आग्रह गरे ।

Advertisement

Advertisement

Advertisement