एनआरएनए थिंक–ट्यांक र सरकारी थिंक–ट्यांकबीच औपचारिकरुपमा साझेदारी सुरु

Advertisement

बैंकक, थाइल्याण्ड । सार्वजनिक नीति निर्माणलाई मुर्तरुप दिन गैरआवासीय नेपाली संघ (एनआरएनए)को थिंक–ट्यांक र नेपाल सरकारको थिंक–ट्यांकबीच औपचारिकरुपमा साझेदारी सुरु भएको छ ।

संघले परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै आफूले हालै गठन गरेको थिंक–ट्यांक, नेपाल पोलिसि इन्ष्टिच्युट (एनपीआई) र सरकारी थिंक–ट्यांकबीच साझेदारीका लागि आग्रह गरेको हो । एनपीआईको नेतृत्व गरिरहेका खगेन्द्र ढकालले बैंककस्थित नेपाली दूतावासमा बिहीबार आयोजित एक कार्यक्रमबीच परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीलाई यससम्वन्धी पत्र बुझाएका हुन् ।

उक्त कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली संघलाई विकास साझेदारको रुपमा स्वीकार गर्न आफू दिलैदेखि लाग्ने बताउँदै नीति निर्माण र सुधार प्रक्रियामा एनपीआईसँग सरकार पनि लाग्ने बताए ।

मन्त्री ज्ञवालीलाई बुझाइएको पत्रमा हस्ताक्षर गर्दै संघका अध्यक्ष भवन भट्टले सरकारीको जारी नीति बहसमा गैरआवासीय नेपाली संघले योगदान गर्ने प्रतिवद्धता जनाए । उनले यसका लागि राष्ट्रिय योजना आयोगलाई फोकल प्वायन्ट बनाउँदै एनपीआईले विभिन्न सरकारी निकायसँग नियमित सहकार्य गर्नुपर्ने बताए ।

साथै भट्टले एनपीआई गैरआवासीय नेपाली संघको विधानको धारा २०.६ अनुसारको संस्था भएको बताए । यसअघि गत अक्टोबरमा सम्पन्न गैरआवासीय नेपाली संघको काठमाडौंमा आयोजित पहिलो ग्लोबल एनआरएन नलेज कन्फेरेन्सको प्लेनरी सेसनमा एनपीआईले आफ्नो रणनीतिक योजना छलफलका लागि प्रस्तुत गरेको थियो ।

उक्त सेसनमा परराष्ट्रमन्त्री, योजना आयोगका उपाध्यक्ष, विभिन्न क्षेत्रका थिंक–ट्यांकहरुले नेपालको विकास नीतिमा डायस्पोराहरुको भूमिकाबारे आआफ्नो धारणा राखेका थिए । त्यस क्रममा प्राप्त सुझावहरु संकलन गरी तयार पारेको एनपीआईको रणनीतिक योजना (२०१९–२०२१)को नयाँ मस्यौदा एनपीआईका प्रतिनिधिहरुका साथै संघका कार्यसमिति सदस्यहरु राजेन्द्र श्रेष्ठ –एआइटी एसईआरडीका डिन), रमेश सिंह (एक्शन एडका पूर्वप्रमुख कार्यकारी अधिकृत) र विश्व तिवारी (यूएनडीपीसम्वद्ध अर्थशास्त्री)ले परराष्ट्रमन्त्री ज्ञवालीलाई हस्तान्तरण गरेको थियो ।

उनीहरुले यो रणनीतिक योजना वृहत्तर हितका लागि भएकोले सबैको सुझाव र प्रतिक्रियाका लागि खुला रहेको पनि बताएका थिए । सोही कार्यक्रममा बोल्दै एनपीआईका अध्यक्ष खगेन्द्र ढकालले यो संस्था नेपालीहरुको अन्तर्राष्ट्रिय थिंक–ट्यांक तथा नलेज प्ल्याटफर्म हुने भन्दै नेपाली र नेपाली मुलका विश्वभरका विज्ञलाई यसको अंश हुन आग्रह गरे ।

ढकालले ज्ञानमा आधारित पुँजी पनि महत्वपूर्ण रहेको र गैरआवासीय नेपाली संघले वित्तीय पुँजीभन्दा बढि पारदर्शी तरिकाले ज्ञानमा आधारित पुँजीलाई नेपाल भित्राउँदैछ भन्दै एनपीआईले डायस्पोरा विज्ञहरुको क्षेत्रगतरुपमा विषयगत रिसर्च टिम बनाउने बताए ।

थाइल्याण्डका लागि नेपाली राजदूत डा. खगनाथ अधिकारी, गैरआवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष आसाजिता अवाले र नेपाली समाजका संरक्षक डेबिट खनालले कार्यक्रममा बोलेका थिए । अन्तरक्रियामा नेपाली विज्ञ एवं नेपाली समुदायसँग सम्वद्ध संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

Advertisement

Advertisement

Advertisement