परमानन्द झाले उपराष्ट्रपति हुँदाको ६७ हजार आयकर अझै तिरेनन्, गाडि पनि फर्काइएन्

Advertisement

काठमाडौं । बेरुजु रकम जम्मा ६७ हजार रुपैयाँ एक सय । बेरुजु गर्ने अधिकारी पूर्वउपराष्ट्रपति परमानन्द झा । फर्स्योटका लागि चार वर्षदेखि लगातार ताकेता । तर, बेरुजु रकम अहिलेसम्म फर्स्योट भएको छैन । यो स्थितिले हाम्रा उच्चपदस्थहरू बेरुजु रकम फर्स्योट गर्न कति अग्रसर हुँदा रहेछन् भन्ने देखाउँछ । बेरुजु रकम फिर्ता गर्ने विषयमा पूर्वउपराष्ट्रपति झा र उपराष्ट्रपति कार्यालयबीच अहिले विवाद चुलिएको छ ।

स्थापनाको ८ वर्षसम्म बेरुजु नराख्ने कार्यालयमा दरिएको थियो, उपराष्ट्रपति कार्यालय । लेखापालले तत्कालीन उपराष्ट्रपति झाको तलबबाट आयकर कट्टी नगर्दा त्यही रकम बेरुजु देखियो । बेरुजु रकम असुल्न महालेखा परीक्षकको कार्यालयले बारम्बर भनिरहेको छ । बेरुजु रकम उपराष्ट्रपति कार्यालयले झाबाट असुल उपर गर्नुपर्ने हो । कर्मचारीले बेरुजु रकम असुल उपर गर्न सबै उपाय अपनाइसकेका छन् ।

‘०७२ सालदेखि हामीले उहाँलाई चिठी पठाइरहेका छौं । भेटेर पनि भन्यौं । अहिले त पूर्वउपराष्ट्रपतिज्यूले हाम्रो कार्यालयको चिठीसमेत बुझ्न छाडिसक्नुभयो’, उपराष्ट्रपति कार्यालयका अधिकारीले भने ।

उपराष्ट्रपति कार्यालयका सहसचिव तहबाट निवासमै पुगेर पनि ताकेता भइसकेको छ । सहसचिवले बेरुजु उठाउन ताकेता गर्दा झाको धम्की सुनेपछि चुपचाप फर्के । ‘त्यसपछि घरमा जान छाड्यौं । वर्षको एक पटक चिठी पठाइरहेका छौं । तर, पछिल्लो समय त उहाँले उपराष्ट्रपति कार्यालयको पत्र नै बुझ्न छाड्नुभयो । हामीले अहिले हुलाकबाट चिठी पठाइरहेका छौं’, उपराष्ट्रपति कार्यालयका ती अधिकारीले भने ।

‘बेरुजु रकम असुल्न सकेनौं भनेर अर्थ मन्त्रालयअन्तर्गतको बेरुजु फर्स्योट अनुगमन समितिलाई पनि जानकारी दिइसकेका छौं’, ती अधिकारीले भने, ‘उसले केन्द्रीय तहसिल कार्यालयमा लगत राख्न भनेको छ । बेरुजु फर्स्योटको टाउको दुखाइबाट अब मुक्त भइएला कि ?’

‘मैले आफैं लिएको होइन । तपाईंहरूले गल्ती गर्ने । मैले किन पैसा दिने’, झाले चिठी लिएर जाने कर्मचारीलाई भन्ने गरेका छन् । पछिल्लो समय त उनी सरकारले आफूलाई कुनै सुविधा नदिएको जिकिर गर्दै राष्ट्रपति–उपराष्ट्रपतिको सेवा–सुविधासम्बन्धी विधेयक पास गरी आफूलाई दिइने रकमबाट कटाउन भनिरहेका छन् ।

‘पदावधि सकिएपछि सरकारले सेवा–सुविधा नदिएकोबारे तपाईंहरूले चासो दिनुभएको छैन । यति रकम फिर्ता नदिएकोबारे सोधीखोजी किन गरिरहनु भा’को छ’, झाले भने।

‘खातामा बढी पैसा आएपछि बुझ्नुपथ्र्यो । धेरै आए फिर्ता गर्नुपथ्र्यो । यसरी लगातार ताकेता गर्दा हामीलाई नै अप्ठ्यारो भइसकेको छ । उहाँलाई किन नभएको होला’, उपराष्ट्रपति कार्यालयका ती अधिकारीले भने ।

गाडी मर्मत खर्च माग्दै
उपराष्ट्रपति कार्यालयले झालाई दिएको गाडीसमेत फिर्ता गराउन सकेको छैन । उपराष्ट्रपति कार्यालयले चार वर्षअघि उनलाई बा.१ झ ९९०१ नम्बरको स्कोरपियो गाडी दिएर बिदा गरेको हो । ऐन–नियममा सुविधा पाउने व्यवस्था नहुँदै उनलाई गाडी उपलब्ध गराएको थियो । अर्थ मन्त्रालयले उनलाई दिएको गाडी उपराष्ट्रपति कार्यालयलाई फिर्ता गराउन भने पनि उसले सकेको छैन ।

सोही गाडी मर्मत गरिदिन झाका छोरा कृष्णचन्द्रले एक महिनाअघि प्रधानमन्त्री कार्यालय र उपराष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement