नेपाल र म्यानमारबीच व्यापार सम्झौता

Advertisement

काठमाडौं । नेपाल र म्यानमारबीच व्यापार सम्झौता भएको छ । नेपालमा जारी ‘एसिया प्यासिफिक समिट’मा सहभागि हुन म्यानमारकी स्टेट काउन्सिल आङ सान सु की नेपालको औपचारीक भ्रमणमा रहेका बेला यस्तो सम्झौता भएको हो ।

सम्झौता अघि प्रधानमन्त्री केपीशर्मा ओली र सु कीबीच अलग अलग भेटवार्ता लर छलफल भएको थियो । सम्झौतामा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यानमारका अन्तर्राष्ट्रिय व्यापार सहकार्यमन्त्री यु क्यो टिनले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार दुई देशबीच खाद्यान्न, पर्यटन र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा थप लगानी र व्यापारका लागि सहकार्य गर्ने उल्लेख छ । यद्यपी दुई देशका उद्योग वाणिज्य महासंघबीचभने यसअघि नै सम्झौता भई व्यापार आदान प्रदान हुँदै आएको छ ।

वार्तामा सहभागी प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले दुई देशबीच व्यापार र आर्थिक गतिविधि बढाएर हवाई सम्पर्कसमेत स्थापना गर्ने विषयमा छलफल भएको बताए । हाल नेपालमा म्यान्मारबाट दाललगायत खाद्यान्न आपूर्ति भएकाले दालको भाउ स्थिर हुन योगदान पुगेको बताइएको छ ।

उनले लुम्बिनीमा अन्तरराष्ट्रिय विमानस्थल निर्माण भएपछि दुई देशबीच सीधा हवाई सम्पर्क स्थापना गरिने र नेपालले सन् २०२० का लागि घोषणा गरेको नेपाल पर्यटन वर्षमा म्यान्मारबाट पर्यटक वृद्धि गराउन म्यान्माले सहयोग गर्ने समझदारी भएको जानकारी दिए ।

भट्टराईले नेपाल सिद्धार्थ गौतमको जन्मस्थल रहेको र म्यान्मा बौद्धमार्गी मुलुक भएकाले पनि दुई देशबीचको भावनात्मकका साथै व्यापारिक सम्बन्ध कायम रहेकाले आगामी दिनमा व्यापार र लगानी वृद्धि हुने बताए । म्यान्मारले गौतम बुद्धजन्मस्थल लुम्बिनीमा चैत्य निर्माण गरेको छ ।

प्रधानमन्त्री ओली र सु कीबीच बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेकं) लाई थप सक्रिय तुल्याउन दुवै पक्षले काम गर्ने विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।

सन् २०१४ मा बिम्स्टेकको तेस्रो शिखर सम्मेलनका क्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले म्यान्मारको औपचारिक भ्रमण गरेका थिए भने त्यहाँका प्रधानमन्त्री उ सेन विङले नेपालका राजा वीरेन्द्रको राज्यारोहणका समयमा सन् १९७५ (विसं २०३१) मा नेपालको भ्रमण गरेका थिए ।

सन् १९८० मा तत्कालीन राजा वीरेन्द्रले म्यान्मारको औपचारिक भ्रमण गरेका थिए । दुई मुलुकबीच सन् १९६० मार्च १९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । म्यान्मारले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सदस्यता पाउन सन् २००८ मा प्रस्ताव गरेको थियो ।

वार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, म्यान्मारका लागि नेपाली राजदूत भीम उदास तथा म्यान्माका मन्त्री टिनलगायतको उपस्थिति थियो । पहिले बर्मा भनिने म्यान्मारमा नेपाली मूलका करीब दुई लाख मानिसको बसोबास छ ।

Advertisement

Advertisement

Advertisement