तल बढार्दै, माथि धुलो फाल्दै ! यस्तो ब्रुमरले सडक कसरी सफा होला मेयर साप ?

Advertisement

काठमाडौं । राजधानी काठमाडौंका धुले सढक सफा गर्न भन्दै काठमाडौं र ललितपुर महानगपालिकाले चलाइरहेका डेलेभो (इटालियन ब्राण्डको ब्रुमर) गुणस्तरहिन र नेपालको सडकका लागि अनुपयुक्त भेटिएका छन् ।

सडक विभागअन्तर्गतको हेभी इक्वीपमेन्ट डिभिजनले दुई वटा खरिद गरेर ललितपुर र काठमाडौं महानगरपालिकालाई सञ्चालन गर्न दिएका यी ब्रुमरहरुले तल बढार्दै माथि धुलो फ्क्याक्ने गर्छन् । ठूलो विमानस्थल, सुपरमार्केट, रंगशाला आदिमा मात्रै प्रयोग हुने डेलेभोका ब्रुमरहरु नेपालको सडकका लागि अनुपयुक्त रहेको विज्ञहरुले सल्लाह दिँदा दिँदै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सोही ब्रुमर मात्रै खरिद गर्न मिल्नेगरी स्पेशिफिकेशन तयार गरेर टेण्डर गरेका थिए ।

काठमाडौं महानगरपालिकाले गरेको उक्त टेण्डरमा ब्रुमर खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाले ल्याउन लागेका इटालियन ब्रुमरका लागि अहिले एलसी खोल्ने काम भएको छ । शाक्यले कमिशनको लोभमा डेलेभोकै ब्रुमरहरु खरिद गर्न तीन पटक टेण्डर गराएका थिए ।

डेलेभो बेच्ने गिरोहले पहिलो पटक हेभी इक्वीपमेन्टलाई दुई वटा डेलेभोका ब्रुमरहरु बिक्री गर्न सफल भएपछि काठमाडौं महानगरपालिकालाई कमिशनको लोभ देखाएर टेण्डर गर्न लगाएको थियो । काठमाडौंले गरेपछि अहिले डेलेभोकै ब्रुमर खरिद गर्न भन्दै ललितपुर महानगरपालिकालाई पनि टेण्डर गराउन गिरोह सफल भएको छ । ललितपुरले दुई साताअघि मात्रै डेलेभोका ब्रुमरसँग म्याच हुनेगरी स्पेसिफिकेशनसहितको टेण्डर गरेको छ ।

काठमाडौं महानगरपालिकाले केही महिनाअघि ब्रुमर खरिद गर्न गरेको टेण्डरमा अन्य विभिन्न ब्राण्डका कम्पनीले डेलेभोभन्दा न्यून रकममा ब्रुमर आयात गर्न प्रस्ताव गर्दा महानगरले त्यसलाई अस्वीकार गरेकोमा अहिले सोही डेलेभो ब्राण्डको ब्रुमर नेपालको सडकको लागि अनुपयुक्त भेटिएको महानगरका कर्मचारीहरुको भनाई छ ।

एक कर्मचारी भन्छन्– यसअघि टेण्डर गर्ने कुरामा नै डेलेभो नेपालको सडकका लागि अनुपयुक्त हुन्छ, धेरै धुलो हुने यहाँका सडकका लागि चिनियाँ वा भारतीय ब्राण्डका ब्रुमर ल्याउँ, स्पियर पार्ट पनि सजिलोसँग पाइन्छ भन्दा युरोपियन चाहिन्छ भनेर पेलेर टेण्डर गरियो । अहिले त्यही ब्रुमरहरुमा सबैभन्दा खराबी देखिन थालेको छ ।

यसअघि काठमाडौंले आफूसँग भएको भारतीय ब्राण्डको ब्रुमर अघिअघि, इटालियन ब्राण्डको ब्रमुर पछि पछि लगाउँदै मुख्य मुख्य सडकहरुमा सफा गर्ने गरेकोमा पछिल्लो समयमा इटालियन ब्रुमरले मात्रै सडक सफा गर्न खोज्दा यसमा समस्या देखिएको हो । यसले सडक सफा हुने भन्दा पनि बाताबरणलाई थप प्रदुषित बनाउने र महानगरवासीको स्वास्थ्यमा थप असर गर्ने देखिएको छ ।

Advertisement

Advertisement

Advertisement