सरकारले फेरि लगानी सम्मेलन गर्ने, आउँदो चैत १५ र १६ को मिति तय

Advertisement

काठमाडौं । नेपाललाई लगानी गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले आउँदो चैत १५ र १६ मा सरकारले अर्को लगानी सम्मेलन गर्ने भएको छ । सरकारले दुई बर्षअघि पनि यस्तो सम्मेलन गरेको थियो ।

यसअघिको सम्मेलनमा १४ खर्ब रुपियाँभन्दा बढिको लगानी प्रतिवद्धता आए पनि लगानी आउन नसकेको समाचारहरु बाहिर आइरहेको बेला सरकारले फेरि लगानी सम्मेलन गर्ने निर्णय गरेको हो । बिहीबार पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी दिइयो ।

सम्मेलनमा विभिन्न मुलुकका संभाव्य लगानीकर्ता, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि, कुटनीतिक नियोग, विकास साझेदार, गैरआवासीय नेपाली, निजी क्षेत्र, विषय विज्ञ र सरकारी अधिकारीहरुको सहभागिता रहने जनाइएको छ । सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी ओलीले गर्ने अहिले नै तय गरिएको छ ।

सम्मेलनमा नेपालको लगानीको बाताबरण, लगानीसँग सम्वन्धित नीतिगत र प्रक्रियागत सुधार, लगानीका संभाव्य क्षेत्र र लगानीका उपयुक्त परियोजनाहरु प्रस्तुत गरिने छ । यस अवसरमा नेपालमा लगानीका अवसरहरु, आर्थिक रुपान्तरणका लागि आगामी १० बर्षमा १० हजार मेगावाट विद्युत उत्पादन, सुचना तथा सञ्चार प्रविधिमार्फत डिजिटल अर्थव्यवस्थाको निर्माण, मनोरञ्जन तथा तीर्थाटनका लागि पर्यटकीय गन्तव्यहरुको निर्माण, दिगो यातायात पूर्वाधार विकास, कृषि तथा वनजन्य उत्पादनमा लगानीको अवसर, नेपालमा लगानीको अनुभव, लगानीका अन्तर्राष्ट्रिय अनुभव लगायतका विषयमा छलफल हुनेछ ।

अबको लगानी सम्मेलनले यसअघिको सम्मेलनमा समझदारीपत्रमा हस्ताक्षर भएका आयोजनाहरु कार्यान्वयनमा लैजान सहयोग पुग्ने, नेपालका तुलनात्मक लाभका क्षेत्रमा भएको परिवर्तन अद्यावधिक हुने जनाउँदै सरकारले सम्मेलन आयोजना गर्न अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा निर्देशक समिति समेत बनाइएको छ ।

Advertisement

Advertisement

Advertisement