जापानको विकास, जसबाट हामीले धेरै पाठ सिक्न सक्छौं

Advertisement

कूल तीन३ लाख ७७ हजार ९३० बर्ग किलोमिटर भूभागमा फैलिएको जापान क्षेत्रफलका हिसाबले विश्वको ६१ औं ठूलो मुलुक हो । क्षेत्रफलका हिसाबले जर्मन, नर्वे, मलेसिया, फिनल्यान्ड वा पोल्यान्ड समतुल्य मुलुक मानिन्छ । चारैतिरबाट समुद्रले घेरको जापान सानाठूला गरी छ हजार ८५२ वटा दीपहरुको समूह पनि हो, जसमा, होकाइडु, होन्सु, सेकेकु, क्योन्सु, ओकिनवा जस्ता चारवटा ठूला दिपहरुको एकल हिस्सा ९७ प्रतिशत छ । जापान विश्वको धनी मुलुक कहलियता पनि प्राकृतिक संशाधनमा ठगिएको मुलुक हो । कोइला, तेल, प्राकृतिक ग्यास, फलाम जस्ता खनिज जापानमा दुर्लव छ । समुद्र वा जल जापानको एक मात्र प्राकृतिक साधन मानिन्छ ।

जापानमा बर्षभरमा औषत १५ सय पटक र दैनिक औषत ४ पटक भूकम्प जाने गर्छ । ६–७ म्याग्निच्युडको भूकम्प जापानको लागि सामान्य हुन् । तर पनि नेपालमा जस्तो भूकम्पले त्यहाँ तहसनहस गर्न सक्दैन । भौतिक संरचना भूकम्प प्रतिरोधीरुपमा निर्माण गरिएको हुँदा क्षति नभएको हो । यसबाट भूकम्पको कारणले मात्र नभई हामीले निर्माण गरेको संरचनाको कारण जनधनको क्षति हुन्छ भन्ने कुरा केही हदसम्म जापानले पुष्टि गरेको छ । तथापि, प्रकृतिले चायो भने मानिसले कुनै उपाय चल्दैन भन्ने तथ्य सन् २०११ मार्च ११ मा गएको ९ म्याग्निच्युडको भूकम्पले देखाएको छ । पुरापुर ६ मिनटसम्म आएको भूकम्प र त्यसपछि आएको सुनामीका कारण कूल १५ हजार ८९४ मानिसको ज्यान गएको थियो भने छ हजार १५० घाईते भएका, दुई हजार ५४६ बेपत्ता भएका थिए । यसमा ३६० अर्ब अमेरिकी डलर बराबरको भौतिक क्षति भएको थियो ।
जापानमा २०० अधिक सक्रिय ज्वालामुखी रहेको मुलुक हो । यो जुनसुकै बेला बिस्फोट हुन सक्छन् । माउन्ट आसो त्यस्तैमध्येको एक हो । वैज्ञानिकहरुले यो जुनसुकै बखत विस्फोट हुन सक्ने औल्याएका छन् । सन् २०१४ सेप्टेम्बर २७ मा क्युसु दिपको माउन्ट ओन्टाकेमा ज्वालामुखी बिस्कोट हुँदा ६३ जनाको ज्यान गुमेको थियो ।

जापानको पहिचान दिने अरु थुप्रै चिजबिज, घटना तथा परिघटनाहरु छन् । चीन, ताईवान र कोरिया प्रायदीपमाथि पकड जमाएको नजिर छ । रुस जस्तो भीमकाय मुलुकलाई युद्धमा परास्त गरेको सान छ । युरोपेलीले कुनै मुलुकलाई एशियाली मुलुकले परास्त गरेको यो पहिलो परिघटना थियो । सबै भन्दा धेरै नोबेल पुरुस्कार प्राप्त गर्ने इतिहास रचेको छ जापानले । हालसम्म जापानका जापानका वैज्ञानिकत तथा विद्धानले विभिन्न विधामा २६ पटक नोभेल पुरुस्कार प्राप्त गरिसकेका छन । दोस्रो विश्वयुद्धमा अमेरिकासँग पराजय बेहोरेता पनि कुनै बैरभाव वा रिसराग नसाखी उसैसँग हातेमालो गरि पछिल्लो ७३ बर्षमा लोभलाग्दो विकास गरेको छ ।

मानव संशाधन कुनै पनि मुलुकको विकासको मुल आधार मानिन्छ । जापानको विकासको मुल चुरो मिहेनती, लगनशील र सिर्जनशील जनशक्ति नै हो । जापानीहरु कार्यस्थललाई मन्दिर र कार्यलाई पुजा ठान्दछन् । हदभन्दा बढि काम गर्न जापानीहरु पछि पर्दैनन । मिहेनत र तिष्णताको कारण प्राकृतिक सम्पदाको अभाव हुँदाहुँदै पनि जापान विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्न सकेको हो । काममा अधिक खटने हुँदा छोटो यात्राको मेट्रोमा समेत अक्सर सुत्छन जापानीहरु । नेपाल, भारतमा कार्यस्थलमा सुत्नुलाई अन्यथा लिइन्छ । ठगको सज्ञा दिइन्छ । तर जापानमा कार्यस्थल २०–३० मिनट सुत्नु आम कुरा मानिन्छ । कार्यस्थलमा केही समय सुतेर फ्रेस हुन छुट छ । स्मरण रहोस, जापानको कूल १२ करोड ७० लाख जनसंख्यामध्ये सक्रिय श्रमशक्ति ६.५० करोड रहेको छ ।

कुनै मुलुक के कति सम्पन्न छन् ? उनीहरुको जीवनस्तर कस्तो छ ? भन्ने कुरा मानव विकास सूचकांकले उजागर गर्छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी)द्धारा प्रकाशित प्रतिबेदन, २०१७ मा कूल १८८ मुलुकमध्ये जापान १७ औं स्थानमा रहेको छ, जहाँ कूल १ अंक मध्ये ०.९३ अंक प्राप्त गरेको छ । यसमा ०.८८७ भन्दा अधिक स्कोर प्राप्त गर्ने मुलुकलाई उच्च मानव विकास भएको समूहमा राखिएको छ । प्रस्तुत तथ्यांकबाट जापानको मानव विकासको स्थिति निकै राम्रो रहेको पुष्टि हुन्छ । मानव विकासको अबस्था राम्रो हुनु भनेको, शिक्षा, स्वास्थ्य, आवास, रोजगारीको अबस्था राम्रो हुनु हो ।

त्यसो त हरेक एक महिलाले औषत २.१ भन्दा कम सन्तान पैदा गर्दा जनसंख्याको आकारमा नकारात्मक प्रभाव पर्ने अध्ययनले देखाएको छ । तर जापानी स्त्रीहरु काममा व्यस्त हुँदा बच्चा पैदा गर्ने लगाव राख्दैनन् । जापानका महिलाहरु औषत १.४ प्रतिशत मात्र बच्चा पैदा गर्छन् । यो प्रजनन दर आफैमा कम हो । यहाँसम्म की जापानमा बच्चा भन्दा पाल्तु जनावरको संख्या अधिक रहेको छ । यसैले जापानको जनसंख्या सन २०१२ मा १२ करोड ८० लाख रहेको २०१३ मा १२ करोड ७० करोडमा झरेकोमा हालसम्म जहाँको त्यही छ । यसैले प्रजनन दर १.८ प्रतिशत पुर्याउन जापानले बिशेष प्रोत्साहनको ब्यस्था अगाडि सारेको छ ।

गुणस्तरीय शिक्षा आर्थिक विकासको आधार हो । यो कुरा जापानीहरुले राम्रोसँग बुझेका छन् । गुणस्तरीय शैक्षिक प्रणालीलाई जापानीहरु विकासको चाबी ठान्छन् । शैक्षिक प्रणालीलाई निकै गम्भीरतापूर्वक लिन्छन । साना बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिनुपर्छ, नैतिकवान, चरित्रवान, मिहेनती र सिर्जनशील बनाउनुपर्छ भन्ने कुरा जापानीहरुले राम्रो बुझेकाछन् । त्यसैले जापानमा नौ बर्षसम्मको उमेर समुहलाई बिद्यालय जानु अनिवार्य हुन्छ । भलै हाईस्कुलस्तरको शिक्षा भने बाध्यात्मक छैन । स्कुल तथा विश्वबिद्यालयमा के कति बर्ष पढने ? समयाबधि निर्धारण गरिएको हुन्छ । जहाँ इलेमन्टरीस्तरको पढाई ६ बर्ष, जुनियर हाईस्कुलस्तको पढाई ३ बर्ष, हाईस्कुलस्तरको पढाई ३ बर्ष र युनिभर्सिटिस्तरको पढाई ४ बर्षको अबधि निर्धाण गरिएको छ । पठनपाठनको लागि पब्लिक र प्राईभेट दुबै खाले शैक्षिक संस्थालाई अनुमति प्राप्त छ ।

बालबालिको पढाईको सन्दर्भमा केही चाखलाग्दा कुराहरु छन । जापानमा १० बर्षको उमेरसम्मको बालबालिकाले नेपाल वा भारतमा जस्तो कुनै परिक्षामा सामेल हुनु पर्दैन । १० बर्षसम्मको उमेर ब्रेन टे«निङ, ब्रेन टिजर र व्रेन पजलिङ जस्ता सिकाईमा लगाई मस्तिस्कको विकास गराईन्छ । नेपाल वा भारतमा बिद्यालय सफा गर्ने कार्यालय सहायक, पिएन वा कुचीकारको प्रबन्ध गरिएको हुन्छ । तर जापानमा त्यसो गरिदैन, कक्षाकोठा, शौचालय, परिसरको सफाई शिक्षक र बिद्यार्थी मिलेर गर्दछन । बरु कुनै बिद्यार्थी ५ दिनसम्म लगातार बिलम्ब गरी बिद्यालयमा आएमा सजायस्वरुप कक्षाकोठा सफा गर्न लगाइन्छ । विद्यार्थीमा मिहेनत गर्ने आदत विकास हुन्छ भन्ने जापानीहरुको मान्यता अनुरुप सरसफाईमा सामेल गरेको बताइन्छ ।

नेपाल वा भारतमा विद्यार्थी लगभग छाडा जस्तै हुन्छन । मोवाईल फोन बोक्ने वा नबोक्ने ? कपाल कस्तो बनाउने ? केटाकेटी बीचको सम्बन्ध कस्तो रहने ? भन्ने कुरा नजरअन्दाज गरिएको पाईन्छ । तर जापानी बिद्यार्थीहरुलाई यी कुराहरुमा कडाई गरिएको छ कि जापानी बिद्यालयमा अध्ययन गर्ने बिद्याथीलाई मोवाईल फोन बोक्न, कपाललाई स्टाईलिस बनाउन, छात्रलाई दाह्री पाल्न, महिलालाई नङ पालिस लगाउन, बिपरित लिङगीय रोमान्टिक सम्बन्ध कायम गर्न छुट छैन् । बिद्यार्थी अनुशासित हुन्छन्, पढाईमा ध्यान केन्द्रित गर्दछन र समय खेर फाल्दैनन भन्ने मान्यता अनुसार यस्तो बन्देज गरेको बताइन्छ । त्यस्तै शिक्षकले पनि निश्चित नीति नियम पालन गर्नुपर्छ । खासमा शिक्षक समय मै बिद्यालय आईपुग्नुपर्छ । प्रत्येक बिद्यार्थी तोकिएको सफा पोशाकमा बिद्यालय आउनुपर्छ । युनिफमामा नआउने बिद्यार्थीले कक्षामा प्रवेश गर्न पाउँदैन् ।

विद्यालयमा जस्तै विश्वविद्यालयमा पनि गुणस्तरीय शिक्षालाई निकै महत्व दिइन्छ । यसै पनि जापान गुणस्तरीय शिक्षाका लागि कहलाएको मुलुक हो । करिब २५ बर्षको उमेरमा विश्वविद्यालयको शिक्षा पुरा गरी कामकाजको सुरुवात गर्दछन । यस हिसाबले जापानका औषत २५ देखि ३५ बर्षको उमेर समुहमा म्यानेजर हुन्छन । म्यानेजर बिहान ९ बजे कार्यालय आईपुग्दछन् र साझ ७ बजेसम्म कार्यालय मै रहन्छन । बर्षमा दुई पटकसम्म बोनस प्राप्त गर्दछन । १५ देखि १८ प्रतिशतले मात्र स्थायी खान्छन । ५५ बर्षपछि प्योकजसहित वाहिरिनुपर्छ भन्ने मान्यता राख्छन । प्रतिकूल भौगोलिक बनावट र प्राकृतिक सोतसाधनको अभावमा जापानले गरेको विकास र अबलम्बन गरेको शैक्षिक प्रणाली, कार्य संस्कृति, मूल्यमान्यता नेपाल जस्तो विकासमा खातिर छटपटाई रहेको मुलुकका लागि अनुकरणीय हुनुपर्छ ।

Advertisement

Advertisement

Advertisement