राजनीतिसँगै माछा पाल्दै पूर्वमन्त्री

Advertisement

दमौली । मन्त्री र सांसद भइसकेको व्यक्ति पनि कृषि पेशामा लाग्लान् र भन्ने धेरैको आशङ्का हुने गर्दछ । हुन पनि धेरै राजनीति गर्ने नेताहरु मन्त्री भइसकेपछि राजनीतिलाई नै अगाडि बढाउने गर्छन् । निकै कम मात्रै नेताहरुले कृषि पेशालाई अङ्गालेका छन् ।

तिनै मध्येका एक छन् बन्दीपुर गाउँपालिका–१ पिप्लेका भीमप्रसाद गौतम । डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भूमिसुधारमन्त्री बन्नुभएका गौतमले आफ्नै ठाउँमा माछापालन गरिरहनुभएको छ । डेढ वर्षअघिदेखि गौतमले आफ्नै जग्गामा माछापालन शुरु गरेका छन् ।

नयाँ शक्ति नेपालका नेता रहेका गौतमले राजनीतिसँगै कृषि पेशालाई अगाडि लैजान माछापालन गरेको बताए । उनले भने, “नेता भएर भाषण गर्ने प्रवृत्ति हाम्रो समाजमा धेरै छ । कृषिउद्यम गर्र्नेको सङ्ख्या भने निकै कम छ ।” गौतमले राजनीतिपछिको जीवनमा केही काम गर्छु भन्ने लक्ष्य आफूमा पहिलेदेखि नै रहेकाले माछापालन व्यवसाय शुरु गरेको बताए ।

उनको आफ्नै ११ रोपनी जग्गामा माछापोखरी निर्माण गरिएको छ । उक्त जग्गामा पहिला धानखेती हुँदा वार्षिक रु एक लाख जति आम्दानी हुने गर्दथ्यो । तर माछापालनबाट भने प्रतिरोपनी वार्षिक रु एक लाखभन्दा बढी आम्दानी हुने गरेको गौतमले बताए ।

गौतम कृषि फार्मको सम्पूर्ण रेखदेख गौतमका ठूला छोरा कुलेन्द्र गौतमले गरिरहेका छन् । पोखरी निर्माणका लागि जिल्ला कृषि विकास कार्यालय तनहुँले रु एक लाख ६५ हजार अनुदान दिएको थियो । माछापालनका लागि तनहुँको हावापानी उत्कृष्ट रहेकाले यसतर्फ कृषकहरुको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । सजिलो खेती र माछाको बजारका कारण पनि कृषकको माछापालनमा आकर्षण बढेको छ । तनहुँमा कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, रहु, नैनी, माहुर जातका माछा पालिने गरिएको छ ।

Advertisement

Advertisement

Advertisement