प्रधानन्यायाधीस बन्न राजनीतिक लबिङमा जोशी र राणा

Advertisement

काठमाडौं । संवैधानिक परिषद् बैठक नजिकिँदै गर्दा भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका दुई वरिष्ठ न्यायाधीशबीच रस्साकस्सी चलेको छ। भावी प्रधानन्यायाधीश छनोटका लागि शनिबार परिषद् बैठक बस्दै छ। यसअघि सोमबार बसेको बैठक थप अध्ययनका लागि भनेर टुंगिएको थियो।

न्यायपालिकाको नयाँ नेतृत्वका लागि न्यायपरिषद्ले सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम दोहोर्याएर संवैधानिक परिषद्मा पठाएको छ। यसअघि पनि हालका प्रधानन्यायाधीश ओमप्रकास मिश्रसहित तीनै जनाको नाम पठाइएको थियो।

प्रधानन्यायाधीशका लागि वरिष्ठ न्यायाधीश राणा र जोशी दुवैले आफ्ना निकट सम्पर्क व्यक्तिमार्फत पहल गरिरहेको परिषद् निकट स्रोतले जनाएको छ। विशेषगरी परिषद् अध्यक्ष रहेका प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच प्रधानन्यायाधीशका लागि लबिङ भइरहेको छ। परिषद् बैठकमा उनीहरूको भूमिका महत्वपूर्ण रहने भएकाले बैठकको पूर्वसन्ध्यामा निकट सूत्रमार्फत पछ्याउने काम चलिरहेको छ। ‘प्रधानमन्त्री र नेकपाका अर्का अध्यक्ष दाहालसँग विभिन्न संयन्त्रमार्फत कुरा आइरहेको छ।

प्रधानन्यायाधीशमा सकारात्मक भूमिका खेलिदिनुपर्यो भन्ने कुरो छ’, दाहाल निकट एक सभासद्ले भने, ‘अहिलेसम्म अन्योल देखिन्छ। यसै भन्न सकिने अवस्था छैन।’ पुनरावेदन अदालत र विशेष अदालतमा रहेका बेला भएको फैसलाको विषयलाई लिएर दुवै न्यायाधीश उपर सर्वोच्चबाटै छानबिन र कारबाहीका लागि न्यायपरिषद्लाई लेखिपठाइएकोलगायत समग्र वैयक्तिक विषयमा अध्ययन भइरहेको छ। विशेष अदालतमा सदस्य रहेका बेला पूर्वमन्त्री जयप्रकाश प्रसाद गुप्तालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको विषयमा सर्वोच्चकी तत्कालीन न्यायाधीश सुशीला कार्की (प्रधानन्यायाधीशबाट अवकाश)सहितको इजलासले राणामाथि छानबिन र कारबाही गर्न न्यायपरिषद्मा लेखिपठाइएको थियो।

यस्तै इलाम पुनरावेदनको मुख्य न्यायाधाीश रहेका बेला जोशीलाई पनि सर्वोच्चबाटै छानबिन र कारबाहीका लागि परिषद्लाई आदेश भएको थियो। सर्वोच्चकै तत्कालीन न्यायाधीश कार्की र बलराम केसीको संयुक्त इजलासले उक्त आदेश दिएको थियो। परिषद्बाट प्रधानन्यायाधीशका लागि यसअघि जोशीको नाम सिफारिस भए पनि संसदीय सुनुवाइ विशेष समितिबाट अस्वीकृत भएपछि मिश्र प्रधानन्यायधाीश बनेका थिए।
आजको नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement