घरेलु उद्योग महोत्सव फागुनको तेस्रो सातामा

Advertisement

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक बर्ष आयोजना गर्ने ‘घरेलु उद्योग महोत्सव’ यस बर्ष आउँदो फागुनको तेस्रो सातामा आयोजना गरिने भएको छ ।

‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘मेहनत, सिर्जना, उत्पादन र वस्तु मैरै नेपालको’ भन्ने नाराका साथ १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ आयोजना गर्न लागिएको हो ।

राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा फागुन २३ देखि २७ गतेसम्म आयोजना हुने घरेलु उद्योग महोत्सवमा नेपालका जिल्लाका उद्यमी, प्रविधि प्रयोगकर्ताह र भारत, पाकिस्तान, बंगलादेश, चीनका उद्यमीको सहभागिता रहने छ ।

प्रदर्शनीमा दुईसय स्टल रहने र दुई लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ भने सात करोड रुपियाँभन्दा बढीको आर्थिक कारोवार हुने अनुमान गरिएको छ । प्रदर्शनीले मुलुकभरका झण्डै चार लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रतिबिम्बित गर्ने महासंघको भनाई छ ।

प्रविधि प्रयोग र क्षमता विकासको अभावले घरेलु तथा साना उद्योग प्रतिस्पर्धी बन्न नसकेर आकर्षक प्रतिफल दिन सकिरहेका छैनन् भन्दै महासंघले जसका कारण युवा पुस्ता यस्ता उद्योगप्रति आकर्षित हुन नसकिरहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement