इपीएलको उद्घाटन खेलमा विराटनगरले पायो १०५ रनको सामान्य लक्ष्य

Advertisement

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपीएल)को यस वर्षको सिजन शनिबारबाट सुरु भएको छ । शनिबारबाट सुरु भएको इपीएलको उद्घाटन खेल पारश खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्स र ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रियोटसबीच जारी रहेको छ ।

उदघाटन खेलमा टस जितेर पहिला व्याटिङ रोजेको ललितपुरले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय चार रनको सामान्य स्कोर बनाएपछि विराटनगरले एक सय पाँच रनको विजयी लक्ष्य पाएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलको पहिलो इनिङ्स सकिँदा विराटनगरले जितताक लागि सो लक्ष्य पाएको हो ।

ललितपुरका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ५२ बलको सामना गर्दै तीन चौका र दुई छक्काको मद्दतमा ४९ रन बनाए पनि अर्धशतक बनाउनबाट चुकेका थिए । त्यस्तै ललितपुरका सन्नी पटेलले २० र पवन सर्राफले १४ रन बनाउनुबाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

ललितपुरलाई सस्तैमा समेट्न विराटनगरका सोएल भान डेर मेर्वीले र करण केसीले समान २–२ विकेट लिए भने बसन्त रेग्मी, पारस खड्का र स्मित पटेलले समान एक–एक विकेट लिए ।

यस सिजनको जारी प्रतियोगितामा अघिल्ले संस्करणका सबै टिमहरु सहभागी रहेका छन् । प्रतियोगितामा काठमाडौं किंग्स–११, ललितपुर प्याट्रियोट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडियर्स, चितवन टाइगर्स र पोखरा राइनोजको सहभागिता रहेको छ । इपीएलको अघिल्लो संस्करणको फाइनल प्रतिस्पर्धामा भैरहवालाई पराजित गर्दै विराटनगरले उपाधी हात पारेको थियो ।

राष्ट्रिय टोलीका कप्तानसमेत रहेका पारस खड्का कप्तानीमा रहेको विराटनगरले अपराजित रहँदै गत संस्करणको उपाधि उचालेको थियो । बिहीबार आयोजित ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै सहभागी ६ वटै टोलीका कप्तानले उपाधि जित्ने दाबी गरेका थिए ।

विराटनगरबाट नेदरल्याण्ड्सका पाउल भान मिकेरन र रोएलोफ भान डेर मेर्वी, हङकङका बाबर हायात तथा भारतका स्मित पटेलले खेलिरहेका छन् । विराटनगरको प्रशिक्षकमा भारतका उमेश पटवाल रहेका छन् । त्यस्तै ललितपुरबाट भारतका जय किशन कोल्शावाला, सन्नी पटेल र गौरब तोमारले खेल्दै छन् ।

Advertisement

Advertisement

Advertisement