सरकारलाई दिएको समर्थन तत्कालै फिर्ता नगर्ने राजपाको संकेत, प्रधानमन्त्री ओलीसँग वार्ता गर्ने

Advertisement

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले संविधान संशोधन नभए पनि तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने संकेत दिएको छ । सो पार्टीका नेता राजकिशोर यादवले शनिबार रिपोर्टर्स क्लबमा बोल्दै तत्काल सरकार नछोड्ने संकेत गरेका हुन् ।

संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता गर्ने बारम्बार चेतावनी दिँदै आएको राजपाका नेताहरु संविधान संशोधनका विषयमा आफूहरु प्रधानमन्त्रीसँग कुरा गर्ने जनाएका छन् ।

यादवले आफूहरुले बारम्बार सरकारलाई आफ्नो कार्यशैली सच्याउन आग्रह गरेको पनि सुनाउँदै राजपाको अब बस्ने बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने वा के गर्ने ? भन्नेबारे निर्णय लिने बताए ।

तर, एकपटक सरकारले गर्न खोजेको विषयमा प्रधानमन्त्रीसँग बसेर छलफल गर्ने र आफूहरुले एउटा निश्कर्ष निकाल्ने उनको भनाई छ । यादवले आफूहरुले जुन विश्वासका साथ वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरेको हो अहिले त्यसमा सरकार खरो उत्रिन नसकेको आरोप लगाए ।

उनले भने, ‘हामीले संविधान संशोधनको लागि दुई तिहाई गणित चाहिन्छ र त्यो गणित नेकपाको साथले मात्रै पूरा हुन्छ भनेर नेकपालाई सरकार गठनमा समर्थन गरेका थियौं । संविधान संशोधनको लागि संसदमा दुई तिहाई पुर्याउनको लागि नै हामीले समर्थन गरेका हौं । यसमा वर्तमान प्रधानमन्त्रीले पनि हामीसँग आपसी समझदारी कायम गर्नुभएको थियो । त्यही कारण सरकारलाई समर्थन गर्यौं ।’

सरकार गठन भएसँगै जनताले विकास र समृद्धि हुन्छ भन्ने ठूलो अपेक्षा गरेपनि अहिले त्यो आशा निराशामा बदलिएको यादवको गुनासो छ । उनले भने, ‘हामीले जुन विश्वासका साथ यो सरकारलाई समर्थन गरेका थियौं, अहिले ती विश्वास स्खलित र पतन हुँदै गैरहेका छन् ।’

नेता यादवले भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरमा आफूहरुले भव्य स्वागत गर्ने र उनको सम्मानमा कुनै कसर बाँकी नराख्ने बताए ।

उनले भने, ‘भारतका उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुर आउँदै हुनुहुन्छ । नेपाल र भारत दुई वटा स्वतन्त्र देश हुन् । भारत हाम्रो सबैभन्दा नजिकको मित्र राष्ट्र पनि हो । यो दुई वटा देश बनेपछि हाम्रा सम्बन्ध निर्माण भएको होइन । यो सम्बन्ध आधुनिक राज्य अस्तिवमा आउनुभन्दा पनि पहिलेदेखि नै भएको हो ।’

उनले इतिहास, सभ्यता र संस्कृतिलाई बचाउनको लागि पनि विवाहपञ्चमीमा अयोध्याबाट जन्ती लिएर आउने कार्यक्रम अनिवार्य आवश्यकता रहेको स्पष्ट पारे । यादवले भने, ‘सम्पूर्ण जनताले नै उत्साहका सथा स्वागत गर्नुपर्छ । हामी मुख्यमन्त्रीजीलाई भव्य स्वागत गर्छौं । उहाँको सम्मानमा कुनै कसर बाँकी राख्दैनौं ।’

आजको परिवेशमा सम्बन्धका आफ्नै रुप हुने उल्लेख गर्दै उनले नेपाल र भारतबीच जनता–जनताबीचको सम्बन्ध मजबुद रहेको सुनाए । यादवले भने, ‘नेपाल र भारतबीचको सम्बनध पूरानो, महत्वपूर्ण र ऐतिहासिक छ । हामी आँतुरका साथ स्वागत गर्न तयारी छौं । मुख्यमन्त्री योगीको भ्रमणले द्धिपक्षीय सम्बन्ध थप मजबुद बनाउँछ ।”

पछिल्लो समय राजनीतिक उपलब्धिका नाममा विभिन्न प्रकारको चलखेल भएको यादवको गुनासो छ । अरुबाट परिचालित केही व्यक्तिहरुले नाइटोदेखि बल लगाएर मुख्यमन्त्री योगीको भ्रमणबारे विरोध गर्न लागिपरेको पनि उनले गम्भिर आरोप लगाए ।

जानकी, राजा जनक र मिथिला भनेको ऐतिहासिक धरोहरको रुप भएको सुनाउँदै यादवले भने, ‘जुन धरोहरले हाम्रो सम्बन्ध जोडेको छ । यसको बारेमा विरोध गर्ने कुरा गलत हो ।’

मुख्यमन्त्री योगीको भ्रमणले नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्ध प्रगाढ बनाउने उनको विश्वास छ । यादवले भने, ‘उहाँको जनकपुर भ्रमणले नेपालको हित लुकेको छ । उत्तर प्रदेशमा त्यत्रो ठूलो जनसंख्या छ । अब जनकपुरमा धार्मिक पर्यटकहरु आउनेछन् । हामी उहाँलाई स्वागत गर्न तयार छौं । बलबुताले भ्याउनेजति सबै प्रकारको स्वागत गर्छौं ।’

Advertisement

Advertisement

Advertisement