निर्मला हत्या प्रकरणमा मैले कसैलाई जोगाउन खोजेको छैन्ः आइजीपी खनाल

Advertisement

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा आफूले कसैलाई पनि जोगाउन नखोजेको स्पष्ट पारेका छन् ।

संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले आफूले कसैलाई जोगाउने प्रयास नगरको भन्दै यदि त्यस्तो गरेको पाइए आफू बर्दी खोल्न तयार रहेको बताए । खनालले निर्मलाको हत्या प्रकरणमा गम्भीर अनुसन्धान भइरहेको भन्दै आफूहरु चाँडै अपराधिसम्म पुग्ने बताए ।

उनले हत्या अनुसन्धानमा लापरवाही गर्ने प्रहरीहरुलाई कारवाही गरिसकिएको र अन्य पनि संलग्न रहेको पाइए कारवाही हुने भन्दै यसमा आफूहरुलाई कतैबाट दबाब नआएको जिकिर गरे ।

खनालले भने, ‘निर्मलाका हत्यारा पत्ता लगाउने क्रममा प्रहरीमाथि कुनै किसिमको राजनीतिक या अन्य दबाब परेको छैन ।’ उनले नेपाल प्रहरीले अपराधका घटना अनुसन्धानमा ९७.५ प्रतिशतसम्म सफलता पाएको उदाहरण सुनाउँदै यसमा पनि सफलता पाउने विश्वास व्यक्त गरे ।

खनालले थपे, ‘निर्मला प्रकरणको अनुसन्धानमा बढी समय लागेकै हो । यसमा प्रहरीबाट केही कमजोरी पनि भए । तर प्रहरी कसैलाई जोगाउने नियतका साथ काम गरेको छैन् ।’

बैठकमा बोल्ने साँसदहरुले निर्मला हत्या प्रकरणमा दोषी पत्ता लगाउन भइरहेको ढिलाइप्रति धेरै आशंका र टिप्पणीहरु गरेका थिए । उनीहरुले अपराध अनुसन्धानमा नेपाल प्रहरीको विगतको इतिहास उत्कृष्ट रहे पनि यस प्रकरणले धमिलिएको भन्दै अपराधिलाई जोगाउने खेलमा प्रहरी पनि लागेको देखिएको आरोप लगाए ।

सांसदहरुले निर्मला हत्याका दोषीहरु पत्ता नलाग्दा बलात्कार र हत्याका घट्नासमेत मुलुकमा बढेर गएको भन्दै चिन्ता जनाएका थिए । प्रतिउत्तरमा आइजीपी खनालले निर्मला हत्या प्रकरण साघुरिँदै गएको भन्दै अपराधि चाँडै पहिचान हुने बताए ।

आफूहरुले केही व्यक्तिलाई अहिले हिरासतमा लिएर अनुसन्धान गरिरहेको उनले जानकारी दिए । खनालले धेरै कुरामा प्रहरीको हात बाँधिएको अवस्था रहेको भन्दै कम्तीमा दबाबमुक्त वातावरणमा अनुन्सन्धान पाउनुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement