काठमाडौं । सन् २०१८ जनवरी देखि नोभेम्बर सम्मको अवधिमा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या १० लाख नाघेको छ । अध्यागमन विभागको तथ्यांक अनुसार यस अवधिमा नेपाल आउने पर्यटकको संख्या १० लाख एक १ हजार ९३० पुगेको छ ।
सन् २०११ मै एक वर्षभरिमा १० लाख पर्यटक भित्राउने भनिए पनि आठ वर्ष पछि आएर उक्त लक्ष्य एघार महिनाको अवधिमै पुरा भएको छ । यस अघि सबैभन्दा बढि सन् २०१७ मा ९ लाख ४० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
यस वर्षको अक्टोवर र नोभेम्बर महिनामा पर्यटकको आगमनमा उत्साहपूर्ण रुपमा वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्ष जनवरी देखि नेभेम्बर सम्म १७ प्रतिशत बढि पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ ।
यस वर्षको एघार महिनाको अवधिमा सबैभन्दा बढि पर्यटक भारतबाट दुई लाख ६० हजार १२४ जनाले नेपाल भ्रमण गरेका छन् । दास्रो नम्बरमा चीनबाट एक लाख ३४ हजार ३६२ पर्यटकले नेपाल भ्रमण गरेको अध्यागमन विभागको तथ्यांकले देखाएको छ ।
चीन पछि सबैभन्दा धेरै पर्यटक आउने देशमा अमेरिका, बेलायत र जर्मनी रहेका छन् । यस अवधिमा ८२ हजार ८ सय ७० अमेरिकी, ५७ हजार ५ सय ५५ बेलायती र ३४ हजार ४ सय ७९ जर्मन पर्यटकले नेपाल भ्रमण गरेका छन् ।