प्राधिकरणलाई फेरि आर्थिक भार थप्नेगरी माथिल्लो भोटेकोशीको डलर पीपीएको अवधि बढाउन कसरत

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको वित्तीय अवस्था खराब बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनाले भूकम्प पछिको पुनर्निर्माणमा ढिलाई गर्दै प्राधिकरणलाई डलरमा गरिएको विद्युत खरिद सम्झौता (पीपीए)को समय लम्ब्याउन दबाब दिँदै आएको छ ।

भूकम्प गएको चार बर्षसम्म पुनर्निर्माण सम्पन्न नगरी यस आयोजनाको मुख्य लगानीकर्ता सोल्टी ग्रुपअन्तर्गतको साहारा म्यानेजमेन्ट ग्रुपले प्राधिकरण नेतृत्वलाई विगत तीन बर्षदेखि डलर पीपीएको समय लम्ब्याउन अनावश्यक दबाब दिने काम गरेको छ ।

यस आयोजनाको मुख्य प्रवद्र्धक कम्पनी भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडमा साहारा म्यानेजमेन्ट ग्रुपको मुख्य लगानी रहेको छ । यो ग्रुप सिद्धार्र्थशम्शेर राणा, प्रभाकरशम्शेर राणा, सौर्य राणालगायतको हो । उनीहरु सोल्टी होटलदेखि नेपालमा सबैभन्दा धेरै गाडि बिक्री (टाटा ब्राण्डको) गर्ने सिप्रदी टे«डिङका समेत मालिक हुन् । आयोजना निर्माण गर्दाको अमेरिकी लगानीको तत्कालिन पाण्डा पावरले सोल्टी ग्रुपलाई सेयर बेचेको थियो । सिद्धार्थशम्शेर पटक पटक धेरै कर तिर्ने व्यक्तिका रुपमा समेत सम्मान खाने व्यक्ति हुन् ।

तदारुपताका साथ काम गरेको भए बढीमा दुई बर्षमै पुनर्निर्माण सम्पन्न भइसक्ने यस आयोजना अहिलेसम्म जम्मा करिव ३० प्रतिशत मात्रै सम्पन्न भएको छ । आयोजनाको पुनर्निर्माण खर्च पनि सात अर्ब रुपियाँभन्दा बढि लाग्ने भोटेकोशी पावर कम्पनी लिमिटेडले जनाएको छ ।

पुनर्निर्माणमा लगानी गर्ने कुरामा अमेरिकी र नेपाली लगानीकर्ताहरुबीच समेत विवाद रहिरहँदा प्रभाकरशम्शेरलगायतले भने राजनीतिक र प्रशासनिक तहमा लबिङ गर्दै प्राधिकरणलाई डलर पीपीएको समय थप गर्न दबाब दिएका छन् । जबकी भोटेकोशी र अर्को आयोजना खिम्तीसँग गरिएको डलर पीपीए अस्वाभाविक महंगो भएको भन्दै नेपाली मुद्रामा पीपीएका लागि कुटनीतिक पहल गर्न संसदीय समितिहरुले सरकारलाई दबाब निर्देशन दिएका थिए । त्यो निर्देशनको अहिलेसम्म पालना भएको छैन् ।

जुरेको पहिरो, भूकम्पेले प्रभावित भएको यो जलविद्युत् आयोजनाको क्षमता ४५ मेगावाट छ । यस आयोजनासँग आंशिकरुपमा जोडिएको बुटवल पावर कम्पनी (वीपीसी)ले भने सञ्चालकहरुको लगानीको विवादमा आफूहरु संलग्न नरहेको भन्दै आफूहरुलाई नजोड्न आग्रह गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले भोटेकोशीभित्रको विवादको विषय आफूहरुको चासोको विषय नभएको भन्दै यो विवाद भनेको सोल्टी ग्रुपअन्तर्गतको साहारा म्यानेजमेन्ट ग्रुपका मान्छेहरुसँग सम्वन्धित रहेको बताए ।

यता प्राधिकरणले भने भोटेकोशीको पुनर्निर्माणमा गरिएको ढिलाई नियोजित भएको बताएको छ । प्राधिकरणका एक उच्च अधिकारीले उहिले नै निर्माण भइसक्नुपर्ने आयोजना अहिलेसम्म निर्माण आधा पनि निर्माण नहुनु अनौठो विषय हो भन्दै यो विषय छानविन गर्ने कुरा उच्च सरकारी तहबाटै आउनुपर्ने बताए ।

उनले प्राधिकरणसँग डलर पीपीएको समय लम्ब्याउन भोटेकोशी पावर कम्पनीका लगानीकर्ताहरुले दबाब दिए पनि प्राधिकरणले स्वीकार नगर्ने बताए । उनले भने, ‘यो फोर्स मेजर हो । हाम्रो तहबाट हुने कुरै होइन् । एक हिसावले भन्दा हामीलाई त आयोजना चल्दाभन्दा नचल्दा नै फाइदा छ । तै पनि आयोजना त बजाउनुपर्छ । त्यो भन्दैमा डलर पीपीएको समय लम्ब्याउने कुरा प्राधिकरणलाई स्वीकार्य हुँदैन् ।

भोटेकोशीको डलर पीपीएको समय सन् २०२० मा सकिँदै छ । त्यसपछि नेपाली रुपियाँमा पीपीए हुनेछ । त्यसपछि पनि अर्को २५ बर्ष सो सम्झौता कायम रहने छ । कम्पनीका अधिकारीहरुका अनुसार लगानीकर्ताहरुबीच सामान्य विवाद हुनु स्वाभाविक भएको तर्क गर्छन् । उनीहरुले आयोजनामा प्राकृतिक कारणले क्षति भएकोले सो पुनर्निर्माण समयको पीपीए अवधि थप हुनुपर्ने माग स्वाभाविक भएको बताउँछन् ।

पुनर्निर्माणमा कस्ले कति खर्च गर्ने ? भन्ने विषयमा विवाद हुँदा पुनर्निर्माणमा ढिलाई भएको जनाइएको छ । यो आयोजना गत बर्षदेखि चिनियाँ कम्पनी सिनो हाइड्रोले पुनर्निर्माण गरिरहेको छ । आयोजना निर्माण भइरहँदा यसको अस्वाभाविक लागत र लगानी कस्ले कति गर्ने ? भन्ने किचलो बाहिर देखिन लागेको हो ।

Advertisement

Advertisement

Advertisement