निर्मला हत्या प्रकरणः तत्कालिन एसपीसहित १८ जना प्रहरी दोषी ठहर

Advertisement

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको छानविन गर्न एआइजी धीरु बस्न्यातको नेतृत्वमा बनेको उच्चस्तरीय छानविन समितिले तत्कालिन एसपी दिल्लीराज विष्टसहित १८ प्रहरीलाई दोषी ठहर गरेको छ ।

पन्तको हत्यापछि अनुसन्धानमा लापरवाही गर्ने तत्कालिन एसपी विष्टसहितले गम्भीर लापरवाही गरेको समितिको निष्कर्ष छ । निर्मला प्रकरणको अनुसन्धानमा भएको लापरबाहीको छानबिन गर्न गत भदौ ३१ गते बस्न्यातको संयोजकत्वमा उच्चस्तरीय समिति बनाइएको थियो ।

समितिले विष्टसहित १८ जना प्रहरीमाथि विभागीय कारबाहीको सिफारिस गरेको हो । विष्ट यसअघि नै बर्खास्त भइसकेका छन् । प्रहरी प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीका अनुसार कारबाहीमा पर्नेहरुमा एकजना एसपी, दुईजना डिएसपी, तीनजना इन्स्पेक्टर, चारजना सई, तीनजना हवलदार र पाँचजना सिपाहीँ रहेका छन् ।

कारवाहीको सिफारिसमा पर्नेमा एसपी विष्ट, जिप्रका कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञानबहादुर सेठ्ठी, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डिएसपी अंगुर जिसी, वडा प्रहरी कार्यालयका तत्कालीन प्रमुख (इनिस्पेक्टर) जगदीश भट्ट, एकिन्द्र खड्का, गणेश सापकोटा, सईतर्फ रामसिंह धामीसहित चारजना रहेका छन् ।

पन्तको हत्याको दोषी पत्ता लगाउन नसकेको यस समितिले अनुसन्धानमा लापरवाही गर्ने प्रहरीहरुलाई कारवाहीको सिफारिस मात्रै गरेको हो । पन्तको शव गत साउन ११ गते भीमदत्तनगर नगरपालिका २ र १८ को सिमानामा पर्ने उखुबारीमा फेला परेको थियो ।

Advertisement

Advertisement

Advertisement