धार्मिक पर्यटन प्रवद्र्धनका लागि लुम्बिनीमा ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’ आयोजना हुँदै

Advertisement

काठमाडौं । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा यही पौष २६ देखि २८ गतेसम्म ‘बुद्धिष्ट इन्टरनेशनल ट्रााभल मार्ट २०१९’ आयोजना हुने भएको छ । ट्राभल मार्टको आयोजना संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र पर्यटन बोर्ड लागायतका संस्थाको सहकार्यमा नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्टस् (नाट्टा)ले गर्न लागेको हो ।

बुद्ध धर्मप्रति आस्था राख्ने विभिन्न देशका पर्यटकहरुलाई नेपालमा आकर्षण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस सम्मेलनमा धर्मिक सेवा बेच्ने अन्तराष्ट्रिय क्रेता बिक्रेता तथा उल्लेख्य संख्यामा ब्लगर र मिडियाको सहभागिता हुने बताइएको छ ।

ट्राभल मार्टको जानकारी दिन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले यस सम्मेलन लम्बिनी र यस आसपासका क्षेत्रको पर्यटन विकासका लगि फलदायी हुने बताए ।

काठमाडौं बाहिर लुम्बिनीमा पहिलोपटक यति ठूलो सम्मेलन आयोजना हुन लागेकाले यसले लुम्बिनीको धार्मिक पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले लुम्बिनीमा आयोजना हुने यस सम्मेलन प्रस्तावित बुद्धिस्ट सर्किटको प्रवद्र्धन र निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको व्यवसायिका सफलताका लगि महत्वपूर्ण हुने बताए ।

भैरहवामा अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न भएपछि लुम्बिनीलाई बुद्धिस्ट सर्किटको गेटवेको रुपमा प्रवद्र्धन गर्न सकिने उनको भनाइ छ । विमानस्थालको निर्माण कार्य एकवर्षभित्रै सम्पन्न हुने बताइएको छ ।

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी तथा बुद्ध धर्मसँग सम्बन्धित नेपालका विभिन्न पर्यटकीय तथा धार्मिक गन्तब्यस्थलहरुको अन्तर्रा्ष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न, लुम्बिनीमा स्वदेशी तथा बिदेशी पर्यटकहरुको बसाइ लम्ब्याउन यस सम्मेलन फलदायी हुने आयोजकको भनाइ छ ।

करिब दुइ करोड ८ लाख खर्च हुने अनुमान गरिएको सम्मेलनका लागि नेपाल पर्यटन बोर्डबाट वार्षिक कार्यक्रमका रुपमा एक करोड बजेट छुट्याइएको र बाँकी रकम नाट्टा को पहलमा पर्यटन सम्बद्ध संघ, संस्था र व्यवसायीक संस्थाहरुको सहयोगमा परिचालित हुने बताइएको छ ।

सम्मेलनमा ५० जना बिदेशी क्रेता, स्वदेशी र बिदेशी गरेर ५० जना बिक्रेता र अन्तराष्ट्रिय ट्राभल व्लगर र मिडियाहरुको पनि उपस्थिति रहने छ । हालसम्म विभिन्न ७ देशबाट मार्ट सहभागिता जनाउनका लगि निवेदन आएको नाट्टाले जनाएको छ ।

सम्मेलनको मुख्य कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीको पवित्र उद्यानमा सद्घाटन गर्नेछन् भने क्रेता र विक्रेताबीचको बिटूबी सेसनहरु भैरहवास्थित होटल टाईगर प्यालेस रिसोटमा आयोजना हुने छ ।

Advertisement

Advertisement

Advertisement