आठौँ राष्ट्रिय खेलकूद सार्ने तयारी

Advertisement

काठमाडौँ । प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदका लागि गठित आठौँ राष्ट्रिय खेलकूद कार्यकारी समितिको तेस्रो बैठकले जिल्लालाई छनोट तथा खेल सामग्रीका लागि निकासा गरेको रकम र जिल्ला कोटा अनुमोदन गर्ने निर्णय गरेको छ ।

राखेपका सदस्य–सचिव एवं कार्यकारी समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबार बसेको बैठकले प्रतियोगिताको मिति बोर्ड बैठकमा प्रस्ताव गर्ने निर्णय गरेको हो । प्रदेश नम्बर ५ मा हुने तय भएको प्रतियोगिता माघ २५ गतेबाट सञ्चालन गर्ने निर्णय गरिएको थियो । तर, भौतिक पूर्वाधार निर्माणको कारण देखाउँदै प्रतियोगिता दुई हप्ता पछाडि सार्ने तयारी गरिएको छ ।

प्रदेशबाट राष्ट्रिय खेलकूदमा सहभागी हुने खेलाडी, प्रशिक्षक, व्यवस्थापक, सङ्घ प्रतिनिधिको कोटा अनुमोदन गर्ने निर्णय गर्नुका साथै प्रदेश छनोट मिति र राष्ट्रिय खेलकूदको मिति बोर्डमा प्रस्ताव गर्ने निर्णय गरेको छ । राष्ट्रिय खेलकूदका लागि गठित विभिन्न उपसमितिलाई एक साताभित्र पूर्णता दिने तथा ओलम्पिक टर्चलाई विराटनगरबाट सबै प्रदेशमा पुर्याउने गरी लुम्बिनी हुँदै नेपालगञ्जसम्म लैजाने निर्णय बैठकले गरेको छ ।

बैठकले प्रदेश छनोट र राष्ट्रिय खेलकूदका साथै दक्षिण एशियाली खेलकूद (साग)सम्म खेलाडी दुर्घटना बीमा गर्ने निर्णय गरेको छ । आठौँ राष्ट्रिय खेलकूदको मुख्य मिडिया सेन्टर नेपालगञ्जमा स्थापना गर्ने, पदक र पोशाक छनोट उपसमितिबाट छनोट भएका नमूनालाई छलफल गरी अनुमोदन गर्ने तथा एनआरएन खेलाडी सहभागिताका सम्बन्धमा युवा तथा खेलकूद मन्त्रलयसँग समन्वय गरेरे टुङ्गो लउाउने निर्णय पनि बैठकले गरेको छ ।

Advertisement

Advertisement

Advertisement