गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उधोग कारवाहीमा

,   १९ पुष २०७५, बिहीबार, ०५:२५ pm   

काठमाडौँ ।  नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उधोगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षमा गुणस्तर मापदण्डलाई पूरा नगरी सामान उत्पादन गर्ने उक्त उधोगलाई कारवाही गरेको हो । कारवाहीमा परेका उधोगमा घोराही सिमेन्ट प्रालि दाङ, नारायणी माइक्रो पाइप उधोग प्रालि बारा, नवनेपाल प्लाष्टिक उधोग, नारायणी सिमेन्ट उधोग प्रालि बारा, मेगा सिमेन्ट प्रालि झापा, लक्ष्मी स्टिल प्रालि नवलपरासी, काठमाडौँ स्टिल प्रालि नवलपरासी, गणपति वनस्पति प्रालि बारा रहेका छन् ।

यस्तै, इन्टरनेशनल सिमेन्ट प्रालि वीरगञ्ज, गोरखाली सिमेन्ट उधोग प्रालि झापा, अन्नपूर्ण सिमेन्ट कम्पनी प्रालि मोरङ, गोल्डेन ब्याट्री प्रालि मोरङ, सुगम मेन्युफेक्चर काठमाडौँ, एम जेपी सिमेन्ट प्रालि कपिलवस्तु, गणपति सिमेन्ट प्रालि कपिलवस्तु, होङ्सी सिमेन्ट उधोग नवलपरासी, अर्घाखाँची सिमेन्ट उधोग रुपन्देही र शुभश्री जगदम्बा सिमेन्ट उधोग बारालाई कारवाही गरेको छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड पूरा नगरी सामान उत्पादन गर्ने तथा गुणस्तरअनुरुप सामान उत्पादन नगर्ने उधोगलाई कारवाही गरिएको बताएका छन् । कारवाही गरिएका अधिकांश उधोगको इजाजतपत्र स्थगन गरिएको तथा उत्पादित वस्तु बिक्री वितरण रोकिएको विभागले जनाएको छ ।

aecc

कारवाही गरिएका उधोगलाई गुणस्तरयुक्त सामान उत्पादन गर्न पत्राचार गरिसकेको बताउँदै गुणस्तरयुक्त सामान उत्पादन नगरे लाइसेन्स नै खारेज गर्ने महानिर्देशक पुडासैनीको भनाइ छ । विभागले हालसम्म देशभरका ६० वस्तुमा २५० उधोगबाट उत्पादित ३६९ प्रकारका सामग्रीलाई लाइसेन्स प्रदान गरेको छ ।