ट्रेड युनियनका कारण कर्मचारी समायोजनमा ढिलो भएको मन्त्री पण्डितको खुलासा

Advertisement

काठमाडौं । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ट्रेड युनियनहरुका कारण कर्मचारी समायोजनमा अप्ठ्यारो परेको खुलासा गरेका छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले युनियनहरुका कारण समायोजनमा ढिलो भए पनि उनीहरुसँग कुराकानी भइरहेको बताए ।

निजामती कर्मचारी युनियनहरुले सरकारले जारी गरेको कर्मचारी समायोजन अध्यादेश हुबहु कार्यान्वयन हुन नसक्ने भन्दै यसको संशोधनको माग गर्दै आएका छन् । मन्त्री पण्डितले आधिकारिक टे«ड युनियनसँग पनि समायोजनका बारेमा छलफल भएको र उनीहरूले पनि सहमति जिकिर गर्दै कर्मचारी समायोजनमा जान तयार हुने विश्वास व्यक्त गरे ।

कुनै पनि राष्ट्र सेवकको वृत्ति विकासलाई नरोक्ने गरी कर्मचारी समायोजन अध्यादेश ल्याएको उनको जिकिर छ । पण्डितले नागरिकलाई स्थानीय तहमा नै सहजरूपमा सेवा सुविधा उपलब्ध गराउने लक्ष्यका साथ कर्मचारी व्यवस्थापन गर्न लागेको भन्दै अवसर र जिम्मेवारीको समेत बाँडफाँट गरेर काम गर्ने संस्कार बसाल्न लागिएको बताए ।

पण्डितले सङ्घीय सरकारको मूल्य र मान्यतालाई प्रभावकारी कार्यान्वयन गर्न यो अध्यादेश ल्याइएको भन्दै प्रदेश र स्थानीय तहसँग जोडिएका अन्य कानूनसमेत छिट्टै सदनमा प्रस्तुत गर्ने बताए ।

राष्ट्रियसभाको आजको बैठकले ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

Advertisement

Advertisement

Advertisement