अमेरिका चीन व्यापार वार्ता सकारात्मक भएको अमेरिकी अधिकारीहरुको दाबी

Advertisement

बेइजिङ। संयुक्तराज्य अमेरिका र चिनियाँ अधिकारीबीच बेइजिङमा जारी पहिलो चरणको व्यापार वार्ता तेस्रो दिन बुधबार सम्पन्न भएको छ । अमेरिकी प्रतिनिधिहरुले वार्ता सकारात्मक रुपमा अघि बढेको बताएका छन् ।

व्यापार वार्ताका लागि अमेरिकी अधिकारीहरु गत सोमबार बेइजिङ आइपुगेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दुई देशबीच जारी व्यापार तनाब अन्त्य गर्ने उपायको खोजी गर्न डिसेम्बर १ तारिखदेखि लागू हुनेगरी तीन महिने व्यापार युद्धविराम गर्न सहमति भएको थियो ।

व्यापार वार्ता शुरु भएसँगै अमेरिकी र एसियाली बजारमा सुधार आएको छ । बेइजिङ वार्तामा सहभागी अमेरिकी व्यापार तथा कृषि मामिला उपमन्त्री टेड म्याककीन्नीले अमेरिकी प्रतिनिधिमण्डल बुधबार साँझ स्वदेश फर्कने जानकारी दिए। उनले पहिलो चरणको वार्ता बुधबार नै समाप्त हुने बताए।

‘मेरो विचारमा वार्ता निकै सकारात्मक भएको छ,’ म्याककीनीले भने।राष्ट्रपति ट्रम्पले मङ्गलबार ट्वीट गर्दै चीनमा जारी व्यापार वार्ता निकै राम्रोसँग अघि बढेको बताएका थिए।अमेरिकी उपव्यापार प्रतिनिधि जेफ्री गेरिसको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण यसअघि मङ्गलबार नै समाप्त हुनेगरी तय भएको थियो ।

वासिङटनले अमेरिकी प्रविधिको जबर्जस्ती चीनमा स्थानान्तरणका साथै चिनियाँ कम्पनीलाई ठूलो मात्रामा उपलब्ध गराइएको सरकारी अनुदानमाथि प्रश्न उठाइआएको छ । व्यापार असन्तुलन बढेकाले ट्रम्प प्रशासनले बेइजिङमाथि बढीभन्दा बढी अमेरिकी सामान खरिद गर्न दबाब दिएको छ । चिनियाँ बजार विदेशी कम्पनीका लागि सहज बनाउन पनि अमेरिकाको दबाब छ ।

वार्ताका बारेमा चिनियाँ वा अमेरिकी अधिकारीहरुले विस्तृत विवरण दिएका छैनन् ।अमेरिकी बाणिज्य मन्त्री विल्बर रोसले अमेरिकी टेलिभिजन सीएनबीसीलाई दिएको अन्तर्वार्तामा दुबै मुलुकबीच सम्झौता हुने प्रबल सम्भावना रहेको बताए।उनले भने, व्यापार युद्धबाट अमेरिकीभन्दा चिनियाँ अर्थतन्त्रलाई बढी नोक्सान हुनेछ । चीनले अरु मुलुकको भन्दा बढी सामान संयुक्तराज्य अमेरिकामै बिक्री गर्छ ।

‘मेरो विचारमा सम्झौता हुन्छ र मैले निकै उत्साहजनक कुराहरु सुनिरहेको छु,’ एप्पल कम्पनीका प्रमुख कार्यकारी टीम कूकले पनि विश्वास व्यक्त गरे । ‘मैले अमेरिकी प्रशासनका तर्फबाट बोलिरहेको छैन, तर मैले मेरा धारणाहरु अमेरिकी प्रशासनलाई बताउने गरेको छु ।‘ उनले भने।

Advertisement

Advertisement

Advertisement