बेरोजगारी हटाउन कृषिलाई निकै प्राथमिकता दिएका छौंः खनाल

Advertisement

कृष्णनगर । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले अहिलेको सरकार दिगो योजनाका साथ अघि बढी रहेको बताएका छन् । कपिलवस्तुको चन्द्रौटामा शनिबार नेकपाको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले बेरोजगारी समस्या समाधानका लागि कृषि पेशालाई उच्च प्राथमिकतामा राखेको र प्रविधियुक्त आधुनिक प्रविधिद्वारा खेती गरिएमा खाडी मुलुकमा जाने बेरोजगार युवा स्वदेशमा काम पाउने र देशको आर्थिक विकासमा पनि मद्दत पुग्ने बताए ।

मन्त्री खनालले कृषि उत्पादन वृद्धि गर्न रासायनिक मललाई प्रतिस्थापित गरी प्रागाङ्रिक मलको प्रयोग बढाउन विशेष योजनाका साथ कार्य भइरहेको बताए । कपिलवस्तुको कृषियोग्य जमीनको लागि जिल्लाको विजयनगर गाउँपालिकामा कृषि अनुसन्धान केन्द्र स्थापना गरी कृषि व्यवस्थापन गर्न लागिएको पनि उनले जानकारी दिए ।

मन्त्री खनालले अहिले नेपालमा ९३ प्रतिशत कृषिजन्य वस्तु आयात भएको बताउँदै दुई वर्षमा माछा, कुखुरा, गहुँ, फलफूल लगायतका उत्पादनमा आयात प्रतिस्थापन गर्ने गरी सरकारले काम गरिरहेको छ भने । भारतलगायत तेस्रो मुलुकबाट नेपालजस्तो कृषिमा निर्भर मुलुकले चामललगायत माछा, मासु, तरकारी, फलफूल आयात गर्नु दुःखद् भएकाले कृषि क्षेत्रलाई व्यवसायीकरण र किसानलाई आत्मनिर्भर बनाउनु आवश्यक रहेकामा मन्त्री खनालको जोड छ ।

कार्यक्रममा प्रदेश नं ५ का सांसद अर्जुनकुमार केसीले कृषि क्षेत्रलाई व्यवसायीकरण, प्रतिस्पर्धी एवं गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement