प्रदेश ५ बाट टाटाका गाडिहरु फिर्ता गर्न सुरु, अनियमिततामा मुख्यमन्त्रीसमेत संलग्न रहेको शंका

Advertisement

बुटवल । प्राविधिक समस्या रहेका गाडिहरु बिक्री गराइएको भन्दै प्रदेश ५ बाट टाटाका गाडिहरु फिर्ता गर्न थालिएको छ । फेजआउट भइसकेका गुणस्तरहित गाडिहरु फरक फरक मूल्यमा बिक्री गरिएको भन्दै प्रदेश सरकारदेखि संसदसम्म चर्को बहस भइरहेको बेला यी गाडिहरु फिर्ता गर्न थालिएको हो ।

सार्वजनिक लेखा समितिका सभापति डिल्ली चौधरीले आफूले चढेको टाटाको नयाँ गाडी बिग्रन थालेपछि गाडी प्रदेश संसद सचिवालयलाई फिर्ता गरेर ट्याक्सी चढन थालेका छन् ।

सचिवालयले एक महिनाअघि मात्रै उनका लागि उपलब्ध गराएको नयाँ टाटा स्ट्रोम उकालै नचढ्ने र उपकरणहरु बिग्रिन थालेपछि चौधरीले सो गाडि परित्याग गरेका हुन् । प्रदेश संसद सचिवालयले उनलाई लु १ झ ४४१ गाडी उपलब्ध गराएको थियो । उक्त गाडी पाँच हजार किलोमटिर पनि नचल्दै गाडीको सकर भाँचिएको थियो ।

आर्थिक प्रलोभनमा प्राविधिक समस्या रहेका गाडिहरु प्रदेश संसदलाई खरिद बिक्री गराउने काम भएको भन्दै दोषीहरुलाई कडा कारवाही गर्न माग भइरहेको बेला चौधरीले टाटा स्ट्रोमको साँचो संसद सचिवालय जिन्सी शाखाका अधिकृत कृष्णप्रसाद गौतमलाई हस्तान्तरण गरेर ट्याक्सी चढन् थालेका हुन् ।

टाटाको सोही मोडलका गाडि प्रदेशसभाका विभिन्न समितिका सभापति र दलका नेताका लागि २३ करोड रुपियाँभन्दा बढि खर्चिएर खरिद गरिएको थियो । सबै गाडिहरुमा एकपछि अर्को प्राविधिक समस्याहरु देखा पर्ने र उकालै नतान्ने समस्या देखिएपछि यो विषयलाई अहिले छानविन समिति गठन गरेर काम शुरु गरिएको छ ।

प्रदेश लेखा समितिले शुक्रबार गाडि खरिदको अनियमितताबारे छानबिन गर्न उपसमिति गठन गरेको थियो । उपसमितिले गाडि खरिदको कागजाज मगाएर अध्ययन थालेको छ । गाडि खरिदमा मुख्यमन्त्री शंकर पोखरेलको समेत संलग्नताको आशंका देखिएपछि मुख्यमन्त्री कार्यालयदेखि प्रदेश मन्त्रिवरिषदसम्मबाट कागजाज मगाइएको छ ।

नेकपाका सांसद कुलप्रसाद पोखरेलको संयोजकत्वमा गठित उपसमितिमा काँग्रेस सांसद वैजनाथ कलवार र राष्ट्रिय जनता पार्टीका सांसद कल्पना पाण्डे सदस्य छन् । उपसमितिले आवश्यक परे विज्ञहरुसँग समेत छलफल गरेर छानविन प्रतिवेदन तयार पार्ने बताएका छन् ।

प्रदेशसभा र सरकारका लागि खरिद गरिएका एउटै मोडलका गाडिहरुको फरक फरक मूल्य भेटिएपछि आर्थिक अनियमितताको आशंका गरिएको छ । प्रदेश सभाको लागि खरिद गरिएका १३ वटा गाडी करिव आठ करोडमा खरिद गरिएको थियो । यी गाडिहरु बजारमूल्य भन्दा बढीमा खरिद गर्दा पनि फेजआउन भइसकेका र नेपालको पहाडी भुभागमा समेत सजिलै चल्ने भनेर उकालै नचढ्ने गाडिहरु भिडाउने काम गरिएको भन्दै संसदीय समितिहरुमा बहसको विषय बन्दै आएको छ ।

गाडि बिक्री गर्ने दलालहरुले प्रदेश ५ का कर्मचारीदेखि मुख्यमन्त्रीसम्मलाई भेटेर प्रभावित पारेको समाचार यसअघि मिडियामा प्रकाशित भएका थिए । नेपालमा टाटाका गाडिहरु बिक्री गर्दै आएको सिप्रदी ट्रेडिङ प्रालिले प्रदेशलाई कमसल गाडिहरु बिकाउन सकिन्छ भन्ने मनसायले बिक्री हुन छाडेका फेजआउट गाडिहरु भिडाउने काम गरेको साँसदहरुको भनाई छ ।

यता सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन श्रेष्ठले आफूहरुले टेण्डरमा प्रतिस्पर्धा गरेर गाडि बिक्री गरेको भन्दै कुनै अनियमितता नभएको जिकिर गरे । नाडा अटोमोवाइल डिलर एशोसियशनमा भाग लिन आएका उनले टाटा स्ट्रोममा समस्या रहेको कुरा अस्वीकार गरे । श्रेष्ठले आफूले समेत सोही गाडि चढिरहेको र एक पटक मुक्तिनाथसमेत पुगेको तर्क गरे ।

Advertisement

Advertisement

Advertisement