निशुल्क सेयर र विद्युतको माग गर्दै गाउँपालिका अध्यक्षबाट विद्युत आयोजनामा अवरोध

Advertisement

काठमाडौं। रामेछापस्थित लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले निशुल्क सेयर र विद्युतको माग गर्दे निर्माणाधिन तल्लो लिखु जलविद्युत आयोजनाको काम रोक्न निर्देशन दिएका छन्।

रामेछाप र ओखलढुङ्गाको सिमानामा बग्ने लिखु खोलामा निर्माण हुन लागेको २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजनासँग निशुल्क शेयर र विद्युत माग गर्दै काम रोक्न निर्देशन दिएको आयोजना प्रवर्द्धक श्वेतगंगा हाइड्रोपावरका सञ्चालक सुवर्ण श्रेष्ठले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन्।

पुस १६ गतेदेखि नै आयोजनाको काममा व्यवधान सिर्जना भएको र पुस १८ गते देखि २८ गते सम्म आयोजनाको काम हुन नसकेको श्रेष्ठले बताए। स्थानीय प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रदेश मन्त्री लगायतको उपस्थितिमा पुस २३ गते ३ बुँदे सहमति गर्दै आयोजनाको काम अघि बढाउने भनेपनि आयोजनाको काम हुन नसकेको श्रेष्ठले बताए।

सम्झौतामा ईआइए अनुसारका प्रतिवद्धता क्रमैसँग पुरा गर्दै जाने, आयोजनाका लागि क्रसिङ गरेको ढुङ्गा बालुवाको अनुगमन गर्ने र आयोजनाको काम नरोक्ने प्रतिवद्धता गरिएको उनले बताए।

पछिल्लो समय जलविद्युत आयोजना र प्रसारण लाइन निर्माणमा स्थानीय निकायहरुबाट अबरोध हुन थालेको भन्दै स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इपानले त्यसप्रति गंम्भिर ध्याकार्षण भएको जनाएको छ।

राज्यलाई तिर्ने रोयल्टी तिर्ने र वातावरण प्रतिवेदनमा उल्लेखित शर्त पुरा गर्ने प्रतिवद्धता हुँदा हुँदैपनि आयोजना निर्माणमा सहयोग गर्नुपर्ने स्थानीय जनप्रतिनिधिले आयोजनामा अवरोध पुर्यानुले जलविद्युतको विकासमा नकारात्मक प्रभाव पार्ने इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए ।

लगानी सम्मेलनको आयोजना गर्न लागेको र १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने महत्वकांक्षी योजना सार्वजनिक भइसकेको अवस्थामा स्थानीय स्तरमा हुने यस्ता अवरोधले लगानीकर्ता निरुत्साहित हुने उनको भनाइ छ।

धरान नगरपालिकामा मेयरले नै प्रशारण लाइन निर्माण रोक्न आयोजनालाई पत्र लेखेको र रामेछापमा पनि गाउँपालिका अध्यक्षले आयोजना स्थलमै गएर आयोजना निर्माण रोक्न निर्देशन दिएको विषयले अन्य क्षेत्रमा पनि यस्तो रोग सर्ने उनले बताए।

Advertisement

Advertisement

Advertisement