रणनीतिक साझेदार भित्राउने कसरतमा मेगा बैंक, सात दशमलव ८५ प्रतिशत मुनाफा दिने निर्णय

Advertisement

काठमाडौं । मेगा बैंकको सोमबार सम्पन्न बार्षिक साधारणसभाले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई सात दशमलव ८५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७४।७५ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य अन्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको छ दशमलव ८५ प्रतिशतले हुन आउने ७० करोड ४५ लाख ५८ हजार ५७० रुपियाँ ५९ पैसा नगद लाभांश पारित गरेको हो ।

यसैगरी, चुक्ता पुँजीको एक दशमलव ००२३३ प्रतिशले हुन आउने १० करोड ३० लाख ९४ हजार ८७५ रुपियाँ ८० पैसा बोनस शेयर पनि साधारण सभाले पारित गरेको छ । साथै, सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न गरेको प्रस्तावलाई साधारणसभाले पारित गरेको बताए । रणनीतिक साझेदार ल्याउने विषयमा बैंकले छलफललाई अगाडि बढाइसकेको उनले जानकारी दिए ।

पछिल्लो पटक टुरिजम डेभलपमेन्ट बैंकलाई मर्जर गरेपछि पुँजीका हिसाबले देशकै दोस्रो ठूलो वाणिज्य बैंक बनेको मेगा बैंक बोनस शेयर बाँडफाँडपछि चुक्ता पुँजी १० अर्ब ३८ करोड पुग्ने जनाएको छ । बैंककी सिइओ अनुपमा खुञ्जेलीले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप तीन अर्ब १५ करोड रुपियाँले बृद्धि भई ६६ अर्ब १२ करोड र खुद कर्जा पाँच अर्ब १३ करोड रुपियाँले बृद्धि भई ६२ अर्ब २५ करोड पुगेको बताइन् । यस त्रैमासमा बैंकले ४० करोड ४६ लाख मुनाफा कमाएको छ ।

Advertisement

Advertisement

Advertisement