नेपाल टेलिकमले पारित गर्यो ५५ प्रतिशतको आकर्षक मुनाफा, भोलिदेखि नै बितरण हुने

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सोमबार सम्पन्न ११औं बार्षिक साधारणसभाले गत बर्षको मुनाफाबाट प्रतिशेयर ५५ रुपियाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा ९१ प्रतिशतभन्दा बढी शेयरधनीहरुको उपस्थिति रहेको भन्दै टेलिकमले आकर्षक मुनाफासहित सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको गत असारसम्मको वासलात, नाफा नोक्सान हिसाब पारित गरेको जनाएको हो ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले दूरसञ्चार क्षेत्रको समग्र विकास र विस्तारमा कम्पनीको महत्वपूर्ण योगदान रहेको भन्दै ग्राहक आधारमा उत्साहप्रद विस्तार तथा मुनाफा वृद्धि गर्न सफल भएको बताए ।

कम्पनीले असारसम्ममा भ्वाइस सेवामा बजार हिस्सा ५०.९ प्रतिशत र ब्रोडब्याण्ड डाटा सेवामा बजार हिस्सा ४३.६ प्रतिशत पुगेको उनले जानकारी दिए । साथै, गुरुङले गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धतामार्फत आप्mनो बजार हिस्सालाई मजबुत गर्न तथा व्यावसायिक उद्देश्य हासिल गर्न कम्पनी निरन्तर सेवाको संख्यात्मक विस्तार र गुणात्मक सुधार गर्न प्रतिबद्ध रहेको बताए ।

प्रविधिको तीव्र विकास भएसँगै विश्वब्यापी रुपमा भ्वाइस सेवाको ब्यापारमा शिथिलता आई भ्वाइसको ब्यापार क्रमिकरुपमा डाटा तथा अन्य भ्यालु एडेड सेवामा स्थानान्तरण हुनेक्रम जारी रहेको बताउँदै उनले तीव्र प्रतिस्पर्धाको कारणले भ्वाइस तथा डाटा सेवाको महशुलमा ब्यापक कटौतीका बावजुद सञ्चालन आय ३९ अर्ब दुई करोड कायम गरी कुल आयमा एक दशमलव ५२ प्रतिशत वृद्धि गर्न कम्पनी सफल भएको बताए ।

कम्पनीले समीक्षा वर्षमा नाफा १३ दशमलव ७३ प्रतिशतले वृद्धि गरी १७ अर्ब ४८ करोड पुर्याउन सफल भएको थियो । अध्यक्ष गुरुङले डाटा सेवाको माग बढदै गइरहेको वास्तविकतालाई मध्यनजर गरी निकट भविष्यमा नै देशैभरी चौथौ पुस्ताको मोबाइल सेवा (फोरजी) विस्तार गर्न आपूर्ति गर्ने क्रममा रहेको, फोरजी उपकरणलाई फाइभजीमा स्तरोन्नति गर्ने लक्ष्य रहेको बताए ।

ग्राहकहरूको घरसम्म अप्टिकल फाइबरमार्फत द्रूत गतिको ब्रोडब्याण्ड इन्टरनेट तथा भ्वाइस सेवा सञ्चालन गर्न सकिने र नेपालमा उपलब्ध इन्टरनेट सेवामध्ये सबैभन्दा उच्च गतिको इन्टरनेट सेवा फाइबर टू द होमको विस्तारलाई समीक्षा वर्षमा पनि निरन्तरता दिइने समेत उनले जानकारी दिए ।

साधारणसभाले पारित गरेबमोजिमको लाभांश माघ १ गतेदेखि एनएमबी बैंकमार्फत शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement